
काठमाडौँ । असोज १ गते विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरेका भक्तजनले काठमाडौँ उपत्यकाका नदीको मुहानस्थित पवित्र तीर्थस्थलमा प्रतिमा सेलाउन थालेका छन् ।
कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन असोज १ गते कालीगढले विश्वकर्माको पूजा आजा गरी विश्वकर्मा दिवस मनाएका थिए । त्यसको भोलिपल्ट बुधबार बेलुकीदेखि नदीको मुहान क्षेत्रका तीर्थस्थलको पवित्र जलमा लगी बाबा विश्वकर्माको प्रतिमा सेलाउन थालिएको हो ।
असोज १ गते विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीर राखी विधिपूर्वक पूजा आराधना गरिएको थियो । बालुवाबाट बनाइएको मूर्ति नदीको मुहान क्षेत्रका पवित्र तीर्थस्थलमा सेलाइन्छ । तस्वीरलाई भने नियमितरुपमा पूजा आराधना गर्ने विधि छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती नदीको मुहानस्थल सुन्दरीजल, रुद्रमती र विष्णुमती नदीको मुहानस्थल बूढानीलकण्ठ एवं मनोहरा नदीको मुहानस्थल साँखु क्षेत्रमा सेलाउन थालिएको हो । विश्वकर्माको प्रतिमालाई विभिन्न नदीको मुहानस्थित पवित्र तीर्थस्थल वा अन्य शुद्ध जल भएको स्थलमा लगी सेलाउने गरिन्छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रबीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ ।
प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रबीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै तयार पार्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउनुहुन्छ ।
यही सम्झनामा नेपालका कालीगढले असोज १ गते भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन् । यसरी पूजा गरिएको प्रतिमालाई पूजा सकिएको २४ घण्टापछि सेलाउने क्रम शुरु गरिन्छ । तीन दिनसम्म विश्वकर्माको प्रतिमा सेलाएर सक्ने विधि रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति