+

बिस्फोटमा ज्यान गुमाएका बालबालिकाका परिवारलाई पाँच/पाँच लाख दिइने

काठमाडौँ । बिस्फोटमा ज्यान गुमाएका पाँचथरका दुई बालबालिकाका परिवारलाई पाँच/पाँच लाख रुपैयाँ दिइने भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा दुई बालबालिकाको निधन भएकोप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई  पाँच/पाँच लाख रुपैयाँ राहत दिइने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले मृतकका परिवारजनलाई सरकारले त्यो रकम बराबरको राहत दिन लागेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले घाइतेको उपचारको जिम्मा सरकारले लिने पनि सदनलाई जानकारी गराउनुभयो । 

‘पाँचथरमा दुई बालबालिकाको दुःखद् मृत्यु भयो । अहिले त्यत्ति भनौँ, कसरी निधन भयो भन्ने विषय पछि कुरा गरौँला’ उहाँले भन्नुभयो– ‘बिस्फोटबाट भन्न मिल्ने हो कि नमिल्ने हो, यहाँ अन्यौल भइरहेको छ तर पनि विस्फोटबाट दुई बालबालिकाको दुःखद मृत्यु भयो, मृतकका परिवारलाई सरकारले पाँच–पाँच लाख राहत दिने र घाइतेको उपचार सरकारले गर्ने सभामुखमार्फत सदनलाई जानकारी गराउन चाहन्छु ।’

भदौ १३ गते पाँचथरको फलेलुङ गाउँपालिका–५ प्रङबुङस्थित एउटा घरको आँगनमा विस्फोटक पदार्थ पड्किँदा दुईजना बालबालिकाको मृत्यु भएको थियो । ज्ञानबहादुर राईको परिवार बस्दै आएको घरको आँगनमा भएको विस्फोटमा ज्ञानबहादुरका छिमेकी दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र दुई वर्षीया छोरी प्रिन्सा साँवाको मृत्यु भएको थियो । 

प्रधानमन्त्री ओलीले देशभरि विभिन्न स्थानमा केही समययता प्राकृतिक विपत्तिका घटना भइरहेका तथा ती घटनामा जीवन गुमाउने, अङ्गभङग हुने, जनजनको क्षति हुने अवस्थाप्रति दुःख व्यक्त गर्दै दिवङ्गतप्रति श्रद्धासुमन अर्पण गर्नुभयो । 

साथै उहाँले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुहुँदै घाइतेहरुको उपचारको जिम्मा सरकारले लिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै