
म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘स्टिम’ (पानीको बाफबाट दिइने तातो) र ‘साउना’ (सुक्खा तातो बाफ) सञ्चालन गरेको छ । जोमसोम बजार नजिक घरपझोङ–३ स्याङखोलामा २८ लाख रुपैयाँ लगानीमा प्राकृतिक उपचारका लागि स्टिम र साउना सञ्चालन गरेको हो ।
पानीको बाफयुक्त बन्द कोठाभित्र बसेर शरीरका खराब वस्तु (विकारण तत्व) फाल्न र शरीरलाई आनन्द प्रदान गर्न गरिने स्टिम बाथ, साउना र जाकुजीलाई आयुर्वेदिक उपचार पद्धति मानिन्छ । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले चिसो मौसम र हावापानीले बिरामी भइरहने नागरिकको प्राकृतिक उपचारका लागि ‘स्टिम’ र ‘साउना’ शुरु गरिएको जानकारी दिनुभयो ।
‘चिसोका कारण धेरै नागरिक बिरामी पर्ने गरेकाले शरीरलाई न्यानो, सरसफाइयुक्त राख्न र रोगबाट बचाउन स्टिम सहित छिट्टै साउना र जाकुजी पनि सञ्चालनको तयारी गरेका छौँ’ उहाँले भन्नुभयो– ‘गाउँपालिकाको सबै वडालाई केन्द्र पर्ने स्याङखोलामा सञ्चालन गरिएको साउनाबाट मुस्ताङमा आउने पर्यटक र तिर्थयात्रीहरुले पनि सेवा लिन सक्नेछन् ।’
स्टिम बाथ, साउना र जाकुजी सेवा सञ्चालनका लागि गत आर्थिक वर्षमा १३ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ विनियोजन गरेको छ । निर्माणको अन्तिम चरणमा पुगेको भवनको एउटा कोठामा स्टिम बाथको उपकरण खरिद गरेर परीक्षण सेवा शुरु गरिएको अध्यक्ष लालचनले जानकारी दिनुभएको छ ।
घरपझोङ–३ का वडाध्यक्ष फलेन्द्रप्रसाद थकाली र सदस्य विरप्रसाद थकालीको रेखदेखमा परिक्षण सेवा सञ्चालन भइरहेको छ । गत साउनामा ६० वर्ष उमेर पुगेका २८ महिला र २२ जना पुरुषले सेवा लिइरहेका वडाध्यक्ष थकालीले जानकारी दिनुभयो । भवन निर्माण सकिएपछि जाकुजी र साउनालाई व्यवस्थित रुपमा नियमित सञ्चालन गरिने योजना रहेको उहाँले बताउनुभयो ।
महिलाका लागि दिउँसो २ देखि ४ बजेसम्म र पुरुषका लागि दिउँसो ४ः३० देखि ७ बजेसम्म साउनामा उपचार गर्ने समय तालिका बनाइएको थियो । एक पटक उपचार गरेको एक सय रुपैयाँ सेवा शुल्क तोकिएको छ ।
के हो स्टिम, साउना र जाकुजी ?
‘स्टिम’ भनेको पानीको बाफबाट दिइने तातो हो भने ‘साउना’ सुक्खा तातो बाफ हो । यी दुवै विधिअन्तर्गत तापक्रम मिलाइएको कोठामा बस्दा शरीरबाट पसिना निस्कन थाल्छ । कुनै शारीरिक कसरत वा श्रम नगरी धेरै पसिना बग्छ । यसरी पसिना बग्दा शरीर स्वस्थ राख्न मद्दत पुग्ने घरपझोङ गाउँपालिकाकी स्वास्थ्य शाखाकी अनमी प्रकृति गुरूङले बताउनुभयो ।
चिकित्सकको सल्लाह अनुसार स्टिम र साउना गराउन सकिने भन्दै उहाँले यसले शरीरमा रगत सञ्चालनमा फाइदा गर्ने उल्लेख गर्नुभयो । ‘तातोले नसा खुलाउने काम गर्छ र मुटुरोगीका लागि फाइदा पुग्छ । शरीरमा भएका विकार हटाउँछ र छालाका प्वाल खोलेर फुर्तिलो बनाउँछ । शरीरमा टाँसिएको धुलोधुवाँका कण स्टिम र साउना लिँदा आउने तातोले पसिनाका माध्यमबाट बाहिर निकालिदिन्छ’ उहाँले भन्नुभयो ।
जाकुजी तातो पानीमा १० देखि १५ मिनेट बस्ने विधि रहेको बताउँदै यी सबै प्राकृतिक उपचार विधि भए पनि चिकित्सकको सल्लाह लिँदा बढी प्रभावकारी हुने अनमी गुरूङले बताउनुभयो । ‘यसमा तातोपानीको फोहराले शरीर रक्तसञ्चार गराउनाका साथै आनन्द बनाउँछ । शरीरमा भएका विकारलाई हटाउँन, तनावबाट मुक्ति दिलाउँछ, छालामा जमेको फोहर निकालेर सफा बनाउन स्टिम र साउनाले मद्दत गर्दछ’ उहाँले भन्नुभयो ।
स्टिम र साउनाले मोटोपना घटाउन, स्वस्थ रगत सञ्चालनमा मद्दत गर्छ । जोर्नीहरु कडा भएर हिँड्ड्ल गर्न गाह्रो हुनेलाई स्टिम र साउनाले जोर्नी खुकुलो बनाउने गर्दछ । नियमित जिम जान वा व्यायाम गर्न नसक्ने वा नभ्याउने मानिसका लागि शरीर स्वस्थ राख्न स्टिम र साउना प्रभावकारी विकल्प हो । चिसो ठाउँ र जाडो मौसममा स्टिम र साउना बाथ लिनेहरु धेरै हुन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति