
बझाङ । भूकम्पले थिलोथिलो पारेको बझाङ जिल्ला पुनःनिर्माणको पर्खाइमा छ । गत असोज १६ मा गएको ६.५ रेक्टर स्केलको भूकम्पले यस जिल्लाका अधिकांश भौतिक संरचनामा क्षति भएको थियो ।
भूकम्पले सदरमुकामसहित अन्य पालिकाका, विद्यालय, सरकारी भवन र निजी घर क्षति पुर्याएको विवरण सार्वजनिक भएको थियो । जाजरकोट पछि दोस्रो क्षति व्यहोर्नु परेको बझाङमा सरकार तथा विभिन्न दातृसंस्थाको प्राविधिक र आर्थिक सहयोगमा पीडितको घाउमा मलमपट्टी लगाउने कार्यको थालनी भएको छ ।
पहिलो चरणमा घर बाहिर रहेका पीडितलाई अस्थायी बसोबासका लागि टहरा निर्माण गरी उनीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्लाको दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।
भूकम्प अहिले पनि जानेक्रम जारी छ । हालसम्म आउँदा भूकम्पका सयौँ धक्का बझाङवासीले महसुस गरिसकेका छन् । गत सातामात्रै जिल्लाको पाराकाट्ने ठाउँलाई केन्द्रबिन्दु बनाई गएको चार रेक्टर स्केलको भूकम्पले थप त्रसित बनाएको स्थानीय बताउँछन् ।
अहिले अस्थायी टहराको सहयोगमा बझाङ तग्रिरहेको छ । भूकम्पपीडित हाल अस्थायी टहरामा बसिरहेका छन् । ती टहरा भूकम्प प्रतिरोधात्मक रहेका स्थानीय शिवराज उपाध्यायले बताउनुभयो । उहाँका अनुसार टहरा निर्माणमा सरकारी र गैरसरकारी संस्था लागिरहेका छन् । घर जीर्ण भएपछि अस्थायी टहरामा बस्न बाध्य भएको उहाँको भनाइ छ ।
“छिमेकीसँगै टहरामा बसिरहेका छौँ । धक्का प्रायजसो सधैँ महसुस भइरहेको छ । भत्केको घरमा डरत्रासमा बस्नुभन्दा अस्थायी टहरा नै अहिलेका लागि उपयुक्त विकल्प भएको छ”, उपाध्यायले भन्नुभयो ।
सरकारले तीन हजार, युनएनडिपी एक सय ३०, रेडक्रसले चार सय अस्थायी टहरा निर्माण गर्नेक्रममा रहेको जनाइएको छ । त्यसमध्ये हालसम्म एघार सय ७८ निर्माण भई समुदायका पीडितलाई हस्तान्तरण भइसकेका छन् भने बाँकी निर्माणाधीन छन् । बझाङ जस्तापाता र काठको भरमा तङ्ग्रीन खोजिरहेको छ ।
हालसम्म एमपिडिएस डडेल्धुराले सेभ द चिल्ड्रेन सहयोगमा एक सय ३० अस्थायी आवास, दुई विद्यालयमा अस्थायी सिकाइ केन्द्र, पाँच विद्यालयमा शौचालय तथा खानेपानी मर्मत गरिरहेको परियोजना संयोजक त्रिभुवन बास्तोलाले बताउनुभयो । यसका साथै भूकम्पमापीडित गर्भवती तथा सुत्केरीलाई आवश्यकताका आधारमा आकस्मिक परामर्श तथा सहयोग पनि गरिएको उहाँले जानकारी दिनुभयो । अन्य संस्थाले पनि स्थानीय तह र जनप्रतिनिधिसँग समन्वय गरी सहयोग गरिरहेका छन् ।
जयपृथ्वी नगरपालिकामा मात्रै एमपिडिएस डडेल्धुरा, जिल्लास्थित प्रगतिशील युवा समाज, साइपाल विकास समाज, दलित सहयोग समाज, आइडिएस नेपाल, निड्स, युनिसेफ, केयर नेपाललगायत संस्थाले सहयोग गरिरहेका जनाइएको छ ।
गत असोज १६ मा गएको भूकम्पले सदरमुकाम क्षेत्र चैनपुर नजिकमा रहेका तीन विद्यालय पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । केही दिन विद्यालय बन्द गरी १५ दिनपश्चात् चौरमा राखेर पठनपाठ सुरु गरिएको बालविकास माविका प्रधानाध्यापक केशबहादुर खातीले जानकारी दिनुभयो । विद्यालयमा तीन वटा भवनमा ३० कोठा पूर्णरुपमा क्षति हँुदा विद्यार्थीलाई चौरमा राखेर पठनपाठन थालिएको उहाँले बताउनुभयो ।
“सुरुमा बालबालिका विद्यालय नै आउन मान्दैन थिए । विद्यालय भवन नै भत्किँदा उनीहरुमा त्रासको वातावरण छाएको थियो”, प्रधानाध्यापक खातीले, “अभिभावक पनि कुनबेला के हुने हो भन्ने पिरोलाका कारण बालबालिकालाई विद्यालय पठाउन मान्दैनथे । अहिले अस्थायी भवन बन्दा नियमित पढाइ सुरु भइरहेको छ ।” उहाँका अनुसार कक्षा १२ सम्मको पढाइ हुने उक्त विद्यालयमा १५७ छात्रासहित २८४ विद्यार्थी अध्यनरत छन् ।
जिल्ला सदरमुकाम चैनपुर बजारबाट एक किलोमिटर मात्रै टाढा रहेकाले विद्यालयमा स्थानीय वडाका धेरै विद्यार्थी पढ्न आउने गरेका वडा नं ४ का वडाध्यक्ष ईश्वरबहादुर खातीले बताउनुभयो ।
सिमलतोला, बस्ती, गोलाई, गडखेत गाउँका ४० बालबालिका बालविकास कक्षामा अध्ययन गर्न यस विद्यालयमा आउने गरेको बालविकासका शिक्षक केशरी जोशीले जानकारी दिनुभयो ।
बालविकास जस्तै बालमन्दिर आधारभूत, लुयटा आवि डिलवगर पूर्णरुपमा क्षति भएका थिए भने बाँकी रहेका विद्यालयमा पनि भूकम्पले क्षति पु¥याएको स्थानीय जनप्रतिनिधि बताउँछन् । समुदाय र घरपरिवारमा गएर भूकम्पसम्बन्धी सचेतामूलक अभियान थालनी गरेपछि नियमित कार्यमा पर्खेका जयपृथ्वी नगरपालिका–४ का वडाध्यक्ष ईश्वर खातीले बताउनुभयो ।
जिल्लाका करिब १० हजार बढी घरमा क्षति भएको तथ्याङ्क सार्वजनिक भएको थियो । त्यसमा दुई हजार ४४५ निजी घर पूर्णरुपमा क्षति भएका थिए भने छ हजार ८४ घर आंशिक क्षति पुर्याएको थियो । योसँगै सरकारी भवन एक सय २३ पूर्णरुपमा र एक सय ५२ आंशिकरुपमा क्षति भएको थियो ।
भूकम्पले एक जनाको ज्यान जानसका साथै दर्जनौँ मानिस घाइते भएका स्थानीय समाजसेवी विष्णु एयडीले बताउनुभयो । स्थानीय विस्तारै भूकम्पको त्रासबाट मुक्त हुन खोजिरहेका उहाँको भनाइ छ । मनोसमाजिक विमर्शताको तालिमसँगै भूकम्पसम्बन्धी जनचेतना फैलाउनु काम गरेपछि वातावरण सहज हुह्दै गएको उहाँले बताउनुभयो ।
भूकम्प गएको पाँच महिना बित्दा पनि विद्यार्थीले राम्रोसँग पढ्न पाएका छैनन् भने अन्य सर्वसाधारण सुत्नका लागि अस्थायी टहरा प्रयोग गरिरहेका छन् । पुनःनिर्माणको पखाईमा रहेको बझाङमा अहिले सरकारी र गैरसरकारी तवरबाट पीडितको घाउमा मलमपट्टी लगाउने कार्य भइरहेको स्थानीय जनप्रतिनिधि बताउँछन् । भूकम्पबाट सबैभन्दा बढी क्षति जिल्ला सदरमुकाममा रहेको जयपृथ्वी नगरपालिकाले व्यहोनु परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग