
ललितपुर। आइतबारदेखि सुरु भएको दादुरा-रुबेलाविरुद्धको खोप अभियानमा ललितपुरका एक लाख ५६ हजार सात सय ६२ बालबालिकालाई लगाइने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका खोप अधिकृत पार्थमणि न्यौपानेले दिनुभएको जानकारी अनुसार ललितपुरका छ स्थानीय तहका छ सय २२ खोप केन्द्रबाट एक लाख ५६ हजार सात सय ६२ बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाउने गरी तयारी भएको छ ।
“यही फागुन १३ गतेदेखि २३ गतेसम्म जिल्लाभर खोप अभियान जारी रहन्छ । कोन्ज्योसोम र महाकाल गाउँपालिकामा १५ गतेदेखि मात्र सुरु हुन्छ । यो अभियानका लागि एक सय ५९ जना स्वास्थ्यकर्मी र आठ सय २२ स्वयंसेवक खटिएका छन्”, अधिकृत न्यौपानेले भन्नुभयो ।
महानगरमा मात्रै ९२ हजार तीन सय बालबालिका
दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा ललितपुर महानगरमा मात्रै खोप लगाउने बालबालिकाको सङ्ख्या ९२ हजार तीन सय रहेका छन् । यो सङ्ख्या जिल्लाका सबै खोप लगाउने बालबालिकाको सङ्ख्याको आधारमा ५८ दशमलव ८८ प्रतिशत हो ।
खोप अभियानअन्तर्गत महानगरभित्रका दुई सय १२ खोप केन्द्रबाट नौ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा-रुबेलाविरुद्ध खोप लगाउने तयारी भएको महानगरका जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले जानकारी गराउनुभयो । यही फागुन १३ देखि २३ गतेसम्म विद्यालयमा खोप केन्द्र राखिएको उहाँले बताउनुभयो ।
“फागुन २३ गतेसम्म महानगरको २९ वटै वडाका स्वास्थ्य संस्थामा खोप दिने व्यवस्था मिलाएका छौँ । फागुन १३ गतेदेखि महानगरका वडा नं २५, २६, २७, २८ र २९ का विद्यालयमा खोप दिइएको छ”, महर्जनले भन्नुभयो ।
फागुन १४ गते वडा नंं २२, २३, २४ का विद्यालयमा, फागुन १५ गते वडा नं १८, १९ र २० र २१ का विद्यालयमा, फागुन १६ गते वडा नं १४, १६ र १७ वडाका विद्यालयमा दादुरा-रुबेलाविरुद्धको खोप दिने तयारी भएको छ । फागुन १७ गते वडा नं १५ का, फागुन १८ गते वडा नं ८, ९, १०, ११, १२, १३ का र फागुन २० गते वडा नं ५, ६ र ७ मा रहेका विद्यालयबाट खोप दिइने जनस्वास्थ्य शाखा प्रमुख महर्जनले जानकारी दिनुभयो ।
उहाँका अनुसार फागुन २१ गते वडा नं ४, फागुन २२ गते वडा नंं १, २ र ३ मा रहेका विद्यालयमा खोप दिने व्यवस्था मिलाइएको छ । फागुन २३ गते वडा नंं १ देखि २९ सम्मका छुटेका बालबालिकालाई वडाका स्वास्थ्य संस्थामा खोप दिइनेछ ।
सरकारले सन् २०२३ सम्म दादुरा-रुबेलालाई शून्यमा झार्ने राष्ट्रिय लक्ष्य राखेको थियो । उक्त लक्ष्य पूरा हुन नसकेपछि दोस्रोपटक सन् २०२६ सम्म शून्यमा झार्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गरिरहेको स्वास्थ्य कार्यालय ललितपुरका खोप अधिकृत न्यौपानेले बताउनुभयो ।
अभियानबाटै पूर्ण खोप सुनिश्चितता, बाल मृत्युदरमा उल्लेख्य कमी, खोप ऐन र नियमावली जारी, रुबेला तथा सीआरएस नियन्त्रण, बालबालिकामा हेपाटाइटिस बी नियन्त्रण, नियमति खोपमा रोटा भाइरस तथा सरसफाइ प्रवर्द्धन तथा नियमित खोपमा टाइफाइडको सुरुवात भएको अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग