
कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का नन्दा गिरीको डेढ बिघा जमिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । उहाँको राधापुरस्थित उक्त जमिनलाई अर्कोतर्फबाट चौधर नदीले घेरेको छ ।
बेलडाँडी–५ झिलमिलास्थित बसोबासका लागि उहाँको घर छ । चौधर नदी गिरीको घर र खेतीयोग्य जमिन रहेको राधापुरको बीच भएर बग्ने गर्छ । झिलमिलामा बसोबासका लागि घर भएपनि जङ्गली जनावरका कारण उहाँको बासस्थान भने राधापुर नै बन्ने गरेको छ । खेती जोगाउन राधापुरमा मचान बनाएर रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । “निकुञ्जबाट जनावर आएर बाली जोगाउनै हम्मेहम्मे पर्छ”, उहाँले भन्नुभयो, “खेतमै मचान बनाएका छौँ । राति पनि त्यहीँ मचानमा बसेर जनावर धपाउँछौँ ।”
गिरीको मात्रै मचानमा बास होइन, यहाँका करिब ५५ किसान परिवारको अवस्था यस्तै छ । करिब ७२ बिगाह जमिन रहेको राधापुरमा जनावर धपाउन बास बस्नका लागि बनाइएका मचान खेतभर छन् । यहाँका किसानले जनावर धपाउन खेतमा प्लाष्टिक झुण्ड्याउनेदेखि मान्छेका आकारकोे जस्तै देखिने बुख्याचासमेत राखेका छन् ।
“काठको लामा खाबा ठड्याएर टुप्पोमा बस्नका लागि कोठाजस्तै बनाइएको हुन्छ । त्यहीँबाट काठ बाँधेको लामो डोरी जस्तापातासँग जोड्छौँ । जनावर आएमा डोरी हल्लाउँदा काठ टिनमा ठोक्किएर आवाज आउँछ”, नन्दाले भन्नुभयो, “यसले केही हदसम्म जनावर भाग्छन् ।” राधापुरमा उखु, तिल, तोरीलगायत खेती हुने गरेको छ । डेढ बिघा जमिनमा उखु खेती गर्दै आउनुभएका उहाँ जनावरबाट जोगाउन सके वार्षिक रु चार लाखसम्मको कारोबार हुने गरेको बताउहुन्छ ।
निकुञ्जबाट आउने बँदेल, चित्तल, हात्तीलगायत जनावरका कारण खेती जोगाउन सकस पर्ने गरेको बेलडाँडी –५ का गोविन्द रानाले बताउनुभयो । “यहाँको जमिनमा खेती राम्रै उब्जाउ हुन्छ । तर के गर्ने जोगाउन सकिँदैन”, उहाँले भन्नुभयो, “रातभर सुत्न पाउँदैनौँ । विद्युतको सुविधा पनि छैन । मचानमा बसेर राति टर्चको सहायताले जनावर धपाउनुपर्छ ।”
राधापुरमा बस्नका लागि खेतभर व्यक्तिपिच्छे मचान घर छन् । वर्षौंदेखि जङ्गली जनावरको पीडा झेल्दै आए पनि सरकारले आफूहरुको समस्या समाधान नगरेको यहाँका किसानको गुनासो छ । “राति मचानकै बास बसेर जनावर कुरेर बस्छौँ । जनावरबाट बाली जोगाउन सके सहजै जीविकोपार्जनका साथै राम्रै आम्दानी गर्न सकिन्थ्यो”, बेलडाँडी–५ कै श्यामलाल रानाले भन्नुभयो, “तर सरकारले हाम्रो पीडा कहिल्यै सुनेन ।”उहाँले राधापुरमा डेढ बिघा जमिनमा उखु खेती गर्दै आउनुभएको छ । राष्ट्रिय निकुञ्जमा तारबार गरे खेतमा जनावर आउनबाट जोगिन सक्ने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग