
भोजपुर । सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग भोजपुरसहित ३ वटा जिल्लाका स्थानीय तह जुटेका छन् । ‘मुन्दुम भ्रमण वर्ष सन् २०२५’ घोषणा गरेर यो पदमार्गको विकास तथा विस्तारमा स्थानीय तह जुटेका हुन् ।
भ्रमण वर्षमा पदमार्गमा आन्तरिक र बाह्य गरी एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । भ्रमण वर्षलाई सफल बनाउनको लागि यो पदमार्गले समेटेका भोजपुर, खोटाङ र सोलुखुम्बुका स्थानीय तह आवश्यक गृहकार्यमा जुटेका छन् ।
पूर्वीक्षेत्रको एक मात्र सहज र सरल पदमार्गको रुपमा लिइने यो पदमार्गको विकासमा तीन वटा जिल्लाका स्थानीय तह एकजुट बनेर अघिबढेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । मुन्दुम भ्रमण वर्ष सन् २०२५ मा एक लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको उहाँको भनाइ छ ।
“मुन्दुम पदमार्गको थप विकास तथा विस्तारको लागि मुन्दुम भ्रमण वर्ष २०२५ मनाउने तयारीमा जुटेका छौँ” अध्यक्ष बस्नेतले भन्नुभयो, “यसको लागि भोजपुर, खोटाङ र सोलुखुम्बुका पालिका एकजुट भएर अघि बढेका छौँ । यो भ्रमण वर्षमा एक लाख पर्यटक भित्र्याउने हाम्रो लक्ष्य छ ।”
भ्रमण वर्षलाई लक्षित गरेर पर्यटन प्रवर्द्धनको लागि मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ–४ नागीमा माघ १ गतेदेखि ५ गतेसम्म ‘साँस्कृतिक, पर्यटन तथा कृषि मेला’को आयोजना गरिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । कार्यक्रममार्फत मुन्दुम पदमार्गको प्रवर्द्धन र दिगो विकासका लागि यस क्षेत्रमा पर्ने पालिकाको साझा अवधारणापत्र सार्वजनिकसँगै संयुक्तरुपमा हस्ताक्षर गरिने उहाँको भनाइ छ ।
“मुन्दुम पदमार्गको विकासको लागि मेलाकोसमेत आयोजना गरिएको छ” अध्यक्ष बस्नेतले भन्नुभयो,” सो अवसरमा पदमार्गको विकासका लागि पालिकाको तर्फबाट अवधारणापत्र सार्वजनिक गरिने छ । मेलामा पर्यटकलाई लक्षित गरेर स्थानीय उत्पादनको प्रर्दशनी गरिनेछ ।”
भ्रमण वर्षलाई लक्षित गरेर यो पदमार्गले समेटेका स्थानीयसँग पटकपटक समन्वयत्मक बैठक गरिएको उहाँको भनाइ छ । संयुक्त बैठकबाट भ्रमण वर्षलाई सफल बनाउन आफ्नो तहबाट खेल्नुपर्ने भूमिका तथा गर्नुपर्ने कामको विषयमा निर्णय गरेर अघि बढेको अध्यक्ष बस्नेतले बताउनुभयो ।
यो पदमार्गको बृहत्तर विकासका लागि भोजपुरको टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, रामप्रसादराई गाउँपालिका, आमचोक गाउँपालिका, खोटाङको केपिलाशगढी गाउँपालिका, साकेला गाउँपालिका, दिक्तेल रुपकोट मझुवागढी नगरपालिका र सोलुको महाकुलुङ गाउँपालिका संयुक्त जुटेका हुन् ।
मुख्य सरोकारवाला सात वटा स्थानीय तहबीच भोजपुरको चखेवामा मङ्सिर ५ गते संयुक्त बैठक गरेर भ्रणम वर्षको तयारी थालिएको गाउँपालिकाले जनाएको छ । यो पदमार्गको थप विकास तथा विस्तारको लागि स्विस सरकार, केन्द्र सरकार, प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा यो वर्ष १ करोड ८५ लाख रुपैयाँ बराबरको काम गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिनुभयो ।
भ्रमण वर्षलाई केन्द्रीत गरेर पदमार्गको विस्तार, भौतिक संरचनाको निर्माणसँगै खानेपानी, शौचालय, विश्राम स्थल लगायतको निर्माण थालिएको उहाँको भनाइ छ । ‘यो पदमार्गको थप विकास तथा विस्तारको लागि बजेट प्राप्त भएको अवस्था छ’ प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो– ‘भ्रमण वर्षलाई लक्षित गरेर कामको थालनी गरेका छौँ । यो बजेटबाट आवश्यक संरचना निर्माण हुनेछन् ।’
भ्रमण वर्षमा आउने पर्यटकलाई लक्षित गरेर २३ जनालाई पदप्रर्दशकको आधारभूत तालिम दिइएको टेम्केमैयुङ–३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो । पर्यटकलाई ढुक्क भएर सहज र सुरक्षित यात्रा गर्न सक्ने वातावरण निर्माण गरिएको उहाँको भनाइ छ ।
यो पदमार्गको यात्राको क्रममा चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण लगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला एक साथ हेर्न सकिने पर्यटन व्यवसायीको भनाइ छ ।
पदमार्गको आसपासमा निर्माण भएका किराँतको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूला–ठूला घाँसे मैदान, स्थानीय गोठवालाले पालेका चौरी, भेडीगोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पार्ने गरेको छ ।
अग्ला हिमश्रृङखला, पहाडका अग्ला डाँडा, तराइका समथर फाँटको मनोरमदृश्य अवलोकन गर्दै पदयात्रा गर्न सकिने भएकाले मुन्दुम पदमार्गमा पर्यटकको सङ्ख्या बढेको छ ।
यो पदमार्गमा बढी मात्रामा भदौ, असोज, कात्तिक र मङ्सिर महिनामा पर्यटक आउने स्थानीयबासीको भनाइ छ । प्राकृतिक सुन्दरताले मनमोहक दृश्यावलोकन गर्न साथै हावापानीको हिसाबले हिमालमा जस्तो ठण्डा र तराई जस्तो गर्मी नहुने सन्तुलित हावापानी रहेकोले यो क्षेत्र पर्यटकको रोजाइँमा पर्ने गरेको छ ।
यो पदमार्गमा भोजपुरको सबैभन्दा अग्लो चार हजार एक सय ५३ मिटर उचाइँमा रहेको सिलिचुङ चुचुरोसम्म पुग्न सकिन्छ । यो पदमार्गको नाम किराँत संस्कृतिबाट राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु