
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मुसेट्टीस्थित सडक छेउमै सरस्वती आधारभूत विद्यालय छ । सडकको माथिल्लतिर पहिरो खसेर भताभुङ्ग छ ।
सडकमा खसेको पहिरो हालै पन्छ्याएर आवातजावत गर्न मिल्नेछ । गत भदौँ अन्तिम साता अविरल वर्षासँगै खसेको पहिरोले विद्यालयको भवनमा क्षति पुर्याएको थियो ।
पहिरोले क्षति पुर्याएको डेढ महिना पूरा भइसक्दा पनि अहिलेसम्म पहिरोले क्षति पुर्याएको भवन मर्मत हुन सकेको छैन । भवनको विषयमा नगरपालिका, शिक्षा विकास तथा समन्वय समिति, जिल्ला प्रशासनलगायत सरोकारवाला निकायलाई जानकारी गराएको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक दिवाकर जोशीले बताउनुभयो ।
‘सबैतिर जानकारी गराएका छौँ, तर मर्मत तथा नयाँ भवन निर्माणका लागि अहिलेसम्म केही भएको छैन, कतैबाट कोही निरीक्षणका लागि आउनुभएको छैन’ उहाँले भन्नुभयो– ‘पहिरोले भवन बस्नै नमिल्ने भएको छ ।’
विद्यालयका दुई भवनमध्ये तीनकोठे भवनमा पहिरोले क्षति पुर्याएको थियो । भवनको ठाउँठाउँमा चिरा परेकाले विद्यार्थी बसाउनै नमिल्ने छ । अर्को दुईकोठे भवनको एउटा कोठामा कार्यालय छ । अर्को कोठामा ‘प्लाइउड’ लगाएर दुई कोठा बनाइएको छ ।
कक्षा ५ सम्म अध्ययन हुने सरस्वती आधारभूत विद्यालयमा एउटै कोठामा २ कक्षाका विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक जोशीले बताउनुभयो । ‘घाम लागेका बेला केही घण्टा बाहिर चौरमा राखेर पढाउँछौँ, कार्यालय बाहेक एउटा कोठालाई विभाजन गरेर दुई कोठा बनाएका छौँ’ उहाँले भन्नुभयो– ‘ती दुई कोठामा दुई÷दुई कक्षा विद्यार्थीको बसाइ व्यवस्थापन गरेका छौँ, केही विद्यार्थीलाई कार्यालयमै पनि राखेका छौँ ।’
भवन पहिरोले चर्किएपछि विद्यार्थीलाई बसाइमा साह्रै समस्या भएको उहाँको भनाइ छ । एउटा कोठालाई विभाजित गरेर दुई बनाउँदा पनि आवाज यताउता हुनाले पढाइमा समस्या हुने गरेको प्रधानाध्यापक जोशीको गुनासो छ । २ कक्षाका विद्यार्थीलाई एउटै कक्षामा राखेर फरक फरक विषय अध्यापन गराउन पनि गाह्रो हुने गरेको शिक्षकहरुको भनाइ छ । सरस्वती आधारभूत विद्यालयमा ४० विद्यार्थी अध्ययनरत छन् ।
‘पहिरोले भवन चर्केकाले तीन कोठा बस्नै नमिल्नेछन्, जोखिम भएकाले त्यहाँ विद्यार्थीलाई राख्दैनौँ’ प्रधानाध्यापक जोशीले भन्नुभयो– ‘दशैँ बिदाअघि एउटै कक्षामा दुई कक्षा राखेर पठनपाठन गरेका थियौँ, अब फेरि विद्यालय खुल्ने समय भयो, भवन छैन, अगाडिको जसरी नै विद्यार्थीलाई बसाल्नुपर्ने हो ।’
विसं २०६३ मा स्थापना भएको विद्यालयमा स्थायी दरबन्दीका दुई, बालविकासका एक र निजी स्रोतका एक गरेर चार शिक्षक कार्यरत छन् । निजी स्रोतका शिक्षकलाई गत वर्षको पुसदेखि तलब पनि खुवाउन नसकिएको प्रधानाध्यापक जोशीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित