
बाँके । कामको खोजीमा भारतका विभिन्न शहर पुगेका नेपाली स्वदेशमै रोजगारीको पर्खाइमा रहेका छन् ।
६ महिनाअघि कामको खोजीमा भारतको सिमला पुग्नुभएका सुर्खेत सिम्ता गाउँपालिका–५ का महेन्द्र खत्री दशैँ र तिहार मनाउन बिहीबार घर फर्किनुभएको छ । नेपालगञ्जस्थित जमुनाह नाका हुँदै घर फर्किनुभएका खत्रीले नेपालमा कुनै रोजगारी नपाएपछि दशैँ र तिहारको खर्च जोहो गर्न भारत जानुपर्ने बाध्यता रहेको बताउनुभयो ।
‘नेपालमा काम पाइँदैन, चाडबाड मनाउनका लागि कमाउन भारत जानुपर्छ, त्यहाँ पनि सजिलो छैन’ खत्रीले भन्नुभयो– ‘सिमलामा पनि भनेजस्तो काम पाइँदैन तलब थोरै हुन्छ, अलिअलि लत्ताकपडा र दशैँ खर्च लिएर फर्किएको छु, आफ्नै देशमा काम पाए यहीँ पसिना बगाउने हो ।’ स्याउको बगैँचामा काम गरेर फर्किएको उहाँले बताउनुभयो ।
नेपालमा रोजगारी नपाएपछि घरपरिवारको खुशीका लागि काम खोज्दै भारतको सिमला पुगेको उहाँको भनाइ छ । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, औषधिमूलो समेत राम्रो नपाइने भएपछि लुम्बिनी र कर्णाली प्रदेशबाट महेन्द्र जस्तै हजारौँ नेपाली रोजगारीका लागि भारत जान बाध्य छन् ।
रोजगारीका लागि भारतका विभिन्न शहरमा पुगेका नेपाली दसैँ खर्च जोहो गरेर पर्व मनाउन यतिबेला घर फर्किने गरेका छन् । दशैँ मनाउन घर फर्कने नेपालीको सीमानाका जमुनाहमा लर्को लाग्ने गरेको छ । सल्यानको वनगाड कुपिण्डे नगरपालिकाका रमेश परियारले वर्षभरि परदेशमा काम गरेर दिन बितेपनि दशैँमा भने सधैँ घर फर्किने गरेको बताउनुभयो ।
धेरै पैसा कमाउन नसके पनि जसोतसो खर्च जोहो गरेको उहाँको भनाइ छ । उहाँसँगै भारतको सिमलामा मजदूरी काम गर्ने जाजरकोट र सल्यानका मात्रै २५ घरपरिवार दशैँ मनाउन बिहीबार घर फर्किएका छन् । पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठानलगायत जिल्लाबाट भारतमा रोजगारीका लागि पुग्ने गरेका छन् ।
रोजगारीका लागि भारतको विभिन्न सहरमा पुगेका नेपाली दसैँ नजकिएसँगै घर फर्किनेक्रम सुरु भएको छ । पछिल्लो १० दिनमा नेपालगञ्जस्थित जमुनाह नाका हुँदै ३० हजार नेपाली घर फर्किएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले बताउनुभयो ।
भारतका विभिन्न सहरमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको छ । दैनिक करिब तीन हजार बढी भारतमा काम गर्ने नेपाली जमुनाह नाका हुँदै दशैँ मनाउन घर फर्किने गरेको उहाँको भनाइ छ ।
‘अहिले भारत जानेभन्दा आउनेको भीडभाड बढी छ, सोह्रश्राद्ध शुरु भएयता भारतमा काम गर्ने नेपाली घर फर्किनेक्रम ह्वात्तै बढेको छ’ बुढाथोकीले भन्नुभयो– ‘बिहान ७ बजेदेखि ११ बजेसम्म जुमनाह नाकामा घर फर्किने नेपालीको भीड हुने गरेको छ ।’
दशैँ मनाउन भारतबाट आउने नेपालीको सहजताका लागि जमुनाह नाकामा जिल्ला ट्राफिक प्रहरीसँगको समन्वयमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
रिक्सा, इ–रिक्सा, बस, मिनीबस र होटेल व्यवसायीबाट स्वदेश फर्किने नेपालीलाई ठगिन नदिन नेपाल प्रहरीले सचेतना अभियान पनि चलाएको इलाका प्रहरी कार्यालय जमुनाह नाका इञ्चार्ज बुढाथोकीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय