+

नेपाललाई पर्यटकीय ‘हब’ बनाउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

पोखरा । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।  

चौहत्तऔँ अन्नपूर्ण दिवसका अवसरमा परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयद्वारा विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिको स्वागतार्थ पोखरामा आइतबार आयोजित रात्रिभोजमा उहाँले  यस्तो बताउनुभएको हो । 

आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको जनाउँदै उहाँले सरकार नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धनमा लागेको बताउनुभयो । ‘नयाँ गन्तव्यस्थल र पदमार्गको पहिचानसँगै पर्यटकीय सर्किट विकास गर्न सरकारले योजना बनाइरहेको छ’ उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो– ‘प्रकृति, संस्कृति, परम्परा, भौगोलिक विविधता आदि हाम्रा पर्यटकीय धरोहर हुन् ।’ उहाँले राजदूत र कूटनीतिक नियोगका प्रतिनिधिलाई आफ्नो समुदाय र देशमा नेपालको पर्यटनबारे प्रचारप्रसार गरिदिन आग्रह गर्नुभयो । 

‘अतिथि देवो भवः’को आदर्श वाक्य उद्धृत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपालीहरु आतित्थ संस्कारका दृष्टिले विश्वभर चिनिएको बताउनुभयो । सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी, विश्वकै अग्लो शिखर सगरमाथालगायत अनेकौँ प्राकृतिक तथा सांस्कृतिक सम्पदा हेर्न विश्वभरका पर्यटक नेपाल आउने गरेको उहाँले बताउनुभयो । 

उपप्रधानमन्त्री श्रेष्ठले पर्यटकीय राजधानी पोखरा साहसिक पर्यटन गतिविधिमा पनि उत्तिकै महत्वपूर्ण गन्तव्यका रुपमा विकास भइरहेको बताउनुभयो । उहाँले ध्यान, योग र आध्यात्मिक पर्यटनका माध्यमबाट पनि पोखराको थप विकास गर्न सकिने बताउनुभयो । अन्नपूर्ण दिवसका अवसरमा आइतबार नै विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिले कास्कीको धम्पुसदेखि अस्तामसम्म पदयात्रा गरेका थिए । 

विश्वमै पहिलोपटक आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहणको सम्झनामा पदयात्राको आयोजना गरिएको थियो । सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई लाशनालले आठ हजार ४१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए । सोही दिनको सम्झनामा वर्षेनी अन्नपूर्ण दिवस मनाउने गरिन्छ । पर्यटकीय राजधानी पोखरामा विविध कार्यक्रमसहित आज ७४औँ अन्नपूर्ण दिवस मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट