+

प्रधानमन्त्री ओलीद्वारा ‍राजीनामा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट ‍राजीनामा दिनुभएको छ । जेन जी युवा पुस्ताले गरेको आन्दोलन चर्किएर समाल्नै नसक्ने स्थिति बनेपछि प्रधानमन्त्री ओलीले मंगलबार पदबाट ‍राजीनामा दिनुभएको हो । 


सचिवालयले ओलीद्वारा राष्ट्रपतिलाई पठाएको राजीनामा उहाँको सचिवालयले सार्वजनिक गरेको छ। संवत् २०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२०) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधानको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुने गरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु- प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई लेखेको राजीनामा पत्रमा भनिएको छ। 
स्वतःस्फूर्त रूपमा भएको युवा पुस्ताको आन्दोलनमा व्यापक बल प्रयोग हुँदा हालसम्म २१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

२०८१ साल असार ३१ गते चौथो पटक मुलुकको  प्रधानमन्त्री बन्नु भएका ओलीको यसपटकको बर्हिगमन भने अत्यन्तै दुखद् रह्यो । जेन जी प्रदर्शनमा भएको अत्यधिक बल प्रयोग र एकैदिनमा ठूलो सङ्ख्यामा मानिसको ज्यान गएपछि प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य हुनुभएको हो । सत्ता साझेदार कांग्रेस र जसपाका कैयौँ मन्त्रीहरूले सरकारबाट राजीनामा दिए लगत्तै प्रधानमन्त्री ओलीले राजीनामा हुनुभएको हो । 

जेन जी प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामा र नागरिक सरकारको माग गरेका थिए । ओली पहिलो पटक असोज २०७२ देखि साउन २०७३ सम्म प्रधानमन्त्री हुनु भएको थियो । त्यसपछि दोस्रो पटक फागुन २०७४ देखि वैशाख २०७८ सम्म दोस्रो पटक, वैशाख २०७८ देखि असार २०७८ सम्म तेस्रो पटक र  असार २०८१ देखि भदौ २०८२ सम्म चौथो पटक प्रधानमन्त्री पदमा रहनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै