
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र युरोपियन कमिसनका उपनिर्देशक मिरियाम फेरानबीच भेटवार्ता भएको छ ।
मन्त्री भण्डारी र युरोपियन कमिसनका उपनिर्देशकबीच आज सोल्टी होटलमा भेटवार्ता भएको हो । उहाँहरुबीच विविध विषयमा कुराकानी भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ । भेटवार्तामा मन्त्री भण्डारीले नेपालको आर्थिक–सामाजिक विकासका लागि युरोपियन युनियनले प्रदान गर्दै आएको निरन्तर सहयोग र सहायताको उच्च प्रशंसा गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘नेपाल र युरोपियन युनियनबीच सन् १९७४ देखि घनिष्ठ सम्बन्ध रहिआएको छ, युरोपियन युनियनसँगको साथ र सहकार्यलाई नेपाल सरकारले उच्च प्राथमिकता दिने गरेको छ ।’
मन्त्री भण्डारीले लोकतन्त्र, स्वतन्त्रता र बहुपक्षीयताको आवश्यकता एवं औचित्यका विषयमा नेपाल र युरोपियन युनियनको साझा धारणा रहेको बताउनुभयो । उहाँले साझा लक्ष्यका रुपमा रहेका दिगो विकासका लक्ष्य प्राप्त गर्न र विश्वव्यापी महामारी एवं जलवायु परिवर्तन जस्ता विभिन्न सङ्कटलाई सम्बोधन गर्न बहुक्षेत्रीय सहायताको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
‘नेपाल अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा सन् २०२६ सम्ममा स्तरोन्नती हुने जमर्को गरिरहेको छ, यस ऐतिहासिक रुपान्तरणलाई दिगो बनाउन नेपाल सरकारलाई विभिन्न विकास साझेदारका साथै युरोपियन युनियनबाट प्राविधिक र आर्थिक सहयोग आवश्यकता रहेको छ’ उहाँले भन्नुभयो ।
नेपाल र युरोपियन युनियनले सहयोग तथा पारस्परिक सम्मानमा आधारित सम्बन्ध र सहकार्य गर्दै आएको उहाँको भनाइ छ । मन्त्री भण्डारीले भन्नुभयो– ‘यस दीर्घकालीन साझेदारीको क्रममा युरोपियन युनियन नेपाली वस्तु तथा सेवा निर्यातका लागि एक प्रमुख गन्तव्यका रूपमा विकसित भएको छ, हाम्रा निर्यातयोग्य वस्तुलाई सहज बजार पहुँच सुनिश्चित हुने व्यवस्था गराउन हामी अनुरोध गर्न चाहन्छौँ, व्यापार क्षमता अभिवृद्धि र मूल्य शृङ्खला विकासमा युरोपियन युनियनको महत्वपूर्ण योगदानले नेपालको आर्थिक उन्नतिलाई बढावा दिन महत्वपूर्ण भूमिका खेलेको छ ।’
मन्त्री भण्डारीले आगामी दिनमा नेपाल र युरोपियन युनियनबीचको सम्बन्ध अझै प्रगाढ हुँदै जाने उल्लेख गर्नुभयो । उहाँले सहकार्यलाई अझै गहिरो बनाउँदै पारस्पारिक सम्बन्धलाई अगाडि बढाउने बताउनुभयो । ‘हामी कोरोनापछिको आर्थिक पुनरूत्थान र विकासशील राष्ट्रको स्तरोन्नतीको प्रयासमा रहेको हुनाले विभिन्न विकास निर्माणमा थप लगानीको आवश्यकता छ’ उहाँले भन्नुभयो ।
त्यस क्रममा उपनिर्देशक फेरानले नेपाली वस्तुको बजार विस्तारमा सघाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले उद्योगमन्त्री भण्डारीलाई नेपाली वस्तु युरोपियन मुलुकमा निर्यातको वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘हामी नेपाली वस्तुको युरोपमा व्यापार विस्तार होस् भन्ने चाहन्छौँ, त्यसका लागि हामीबाट गर्नुपर्ने पहलमा कमी हुने छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु