
सुर्खेत । कोहलपुर–सुर्खेत १३२ केभी विद्युत्को निर्माणधीन प्रशारण लाइनमा निर्माण्मा देखिएका समस्याबारे कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आयोजना प्रमुख लगायतसँग छलफल गर्नुभएको छ । आज भएको छलफलमा मुख्यमन्त्री कँडेलले प्रसारण लाइन निर्माणमा देखिएका समस्या र समाधानका लागि भइरहेका पहलबारे चासो व्यक्त गर्नुभएको थियो ।
छलफलमा आयोजना प्रमुख रविकुमार चौधरीले सुर्खेतको सुब्बाकुना, बाँकेको गाभर र निकुन्ज क्षेत्रभित्र भएका समस्यबारे मुख्यमन्त्री कँडेललाई जानकारी गराउनुभएको थियो । सङ्घ सरकारको मताहातमा रहेको सो प्रसारण लाइन निर्माणमा देखिएका समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेत र जिल्ला प्रशासन कार्यालय बाँकेसँग समन्वय आवश्यक रहेको प्रमुख चौधरीको भनाइ थियो ।
अहिले ३२ केभी प्रशारण लाइनको पुरानो लाइनबाट कर्णालीमा विद्युत् सेवा सञ्चालनमा भइरहेको छ । पटक–पटक म्याद थपेर सो प्रसारण लाइनको काम भइरहेको छ । निकुन्जभित्र रुख कटानदेखि कटान गरिएका रुख बराबरको जमिन निकुन्जलाई उपलब्ध गराउने सम्मका काम भइरहेका छन् । ३२ केभी प्रसारण लाइनलाई विस्थापित गरी कर्णालीमा भरपर्दो विद्युत् सेवा दिन कोहलपुर–सुर्खेतमा सुरु गरिएको प्रसारण लाइनको निर्माण अझै ढिलो भएपछि मुख्यमन्त्रीले चासो देखाउनु भएको हो ।
प्रसारण लाइन निर्माणको जिम्मा लिएको भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टले २०७६ असार २२ गते ठेक्का लिई काम शुरु गरेको थियो । तर लामो समयसम्म प्रसारण लाइनको काम पूरा नगर्दा कर्णालीमा विद्युत्को समस्या हुँदै आएको छ । सम्झौता भएको मितिले दुई वर्षभित्र निर्माण कम्पनीले विद्युत् प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्टको खरिदलगायत सम्पूर्ण काम गरिसक्नुपर्ने भए पनि अझै काम सम्पन्न हुनसकेको छैन ।
कम्पनीले विभिन्न कारण देखाउँदै २०७८ भदौदेखि काम शुरु गरेकाले ढिला भएको हो । निर्माण कम्पनीले कतै पनि अवरोध नभए आगामी दसैँसम्म काम पूरा हुने बताएको छ । प्रसारण लाइन निर्माणका लागि ६३ बिघा जमिन खरिद गरेर बर्दिया राष्ट्रिय निकुञ्जलाई दिइसकेकाले अब त्यस क्षेत्रमा पर्ने १३ हजार रुख कटान हुने आयोजनाले जनाएको छ । त्यसमध्ये सुर्खेतमा ६ हजार ८ सय ८०, बर्दियामा ३ हजार ३ सय २०, बाँकेमा दुई हजार ९ सय १९ वटा रुख कटान गर्नुपर्ने छ ।
आयोजनाको ईआईए प्रतिवेदनमा ७० दशमलव ५४६ प्रतिशत क्षेत्रफल वनको, १५ दशमलव १३५ खेतीयोग्य जमिन, दुई दशमलव २६५ बाँझो जमिन र ११ दशमलव ०६५ अन्य भाग रहेको छ । आयोजना निर्माणका लागि एङ्गल टावर २६ वटा रहनेछन् भने आयोजनामा कूल टावरको सङ्ख्या एक सय ४५ रहनेछन् । आयोजना निर्माणका लागि एक अर्ब रुपैयाँ भन्दा बढी लागत अनुमान गरिएको छ ।
सुर्खेत वीरेन्द्रनगरको धुलियाविट सबस्टेशन निर्माणको काम पनि चलिरहेको छ भने २५ किलोमिटरभन्दा बढी तार तान्ने काम पनि सकिएको आयोजना प्रमुख चौधरीले बताउनुभयो । प्रसारण लाइन बिस्तारको काम पूरा भएपछि कर्णालीमा विद्युत् आपूर्तिमा भइरहेको ८० प्रतिशत समस्या समाधान हुने बताइएको छ ।
भेरी करिडोरभित्र निर्माण हुन लागेका विभिन्न आयोजनाबाट उत्पादन भएका विद्युत्समेत यहीबाटै मुख्य लाइनमा जडान हुनेछन् । नलगाड जलविद्युत् आयोजना चारसय १७, जगदुल्ला जलविद्युत् आयोजना एक सय ६, ताक्सुगाड जलविद्युत् आयोजना सात मेगावाटलगायत आयोजनाबाट उत्पादन भएको प्रसारण लाइनमा जोडिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’