+

सङ्घीय मामिलाका काम ओझेल परेः मन्त्री जोशी

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सामान्य प्रशासनको तुलनामा सङ्घीय मामिलाका काम ओझेलमा परिरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले मन्त्रालयको मुख्य जिम्मेवारी सङ्घीय मामिला र कर्मचारी व्यवस्थापन रहेकामा सङ्घीय मामिलाको काम ओझेलमा परेको महसुुस भएको बताउनुभयो । मन्त्री जोशीले भन्नुभयो, “मन्त्रालयले केन्द्रीय, प्रदेश र स्थानीय सरकारबिच सुशासनको व्यवस्थापन गर्नुपर्छ तर त्यहाँ कानुनको अभावमा अहिले समन्वयको चुनौति छ । त्यसैले प्रदेश र स्थानीय सरकारका कामकारबाहीलाई प्रभावकारी र व्यवस्थित गर्न अप्ठ्यारो महसुस भइरहेको छ ।” 

उहाँले अहिले धेरैजसो समय सङ्घीयताभन्दा सामान्य प्रशासनका लागि खर्च गर्न परिरहेको र मन्त्रालयको पूँजीगत खर्च अत्यन्त न्यून रहेकोबारे पनि बैठकलाई जानकारी गराउनुुभयो । मन्त्रालय मातहत तराई–मधेश समृद्धि कार्यक्रम र नवप्रवद्र्धन कार्यक्रम सञ्चालनमा रहेका भएपनि ती कार्यक्रमका लागि विनियोजित बजेट हालसम्म निकासा नभएको सो अवसरमा जानकारी दिइयो । मन्त्री जोशीले बजेट निकासी व्यवस्थापनमा समितिबाट सहयोगको अपेक्षा रहेको बताउनुभयो । नेपाल सरकारका केन्द्रीय कार्यालय, प्रदेश कार्यालय सचिव र पालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा र पदस्थापनको जिम्मेवारी मन्त्रालयले गर्दै आएको छ ।

त्यस्तै, सुशासनप्रवर्द्धन र भ्रष्टाचार न्यूनिकरणका क्षेत्रमा देखिएका समस्या, कमजोरी र असन्तुष्टि अन्त्य गर्न सबै पक्ष मिलेर काम गर्नुपर्ने आवश्यकतासमेत मन्त्री जोशीले औँल्याउनुभयो । “केन्द्रीय सरकारले नीति, विधि र मापदण्ड बनाउने हो, जनतालाई सेवादिने भनेको पालिका र प्रदेश सरकारले हो । त्यसर्थ पालिकाको अवस्थालाई सुधार्न सबै मिलेर गम्भीरढङ्गले काम गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो । देशभरमा सुशासन कायम गर्न र कर्मचारी प्रशासनमा देखिएका समस्या सम्बोधनका लागि सङ्घीय निजामती सेवा ऐनसम्बन्धी विधेयकलाई यथाशीघ्र निष्कर्षमा पुर्याउन आवश्यक रहेको पनि उहाँको भनाइ थियो । 

यसअघि बैठकमा सदस्यहरूले सङ्घीयता कार्यान्वयनसँग जोडिएको निजामतीलगायतका चार महत्वपूर्ण विधेयकको छिनोफानो गर्न अब विलम्ब गर्न नहुने सुझाव दिनुभयो । समिति सदस्य हृदयराम थानीले समितिले चाल्ने कदम सुझबुझपूर्ण र परिपक्क हुनपर्ने तथा औचित्य पुष्टि हुने काम मात्र गर्न सुझाव दिनुभयो । बैठकमा सभापति रामहरि खतिवडाले कतिपय विधेयकलाई निष्कर्षमा पुर्याउनुअघि राजनीतिक सहमतिको खाँचो औँल्याउनुभयो । संवैधानिक परिषद, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र निर्माण सामाग्रीसम्बन्धी विधेयकबारे राजनीतिक दलका प्रमुख सचेतक, विषयविज्ञसँगको परामर्शपछि अघि बढाइने उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै