
काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले चीन भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन सफल भएको बताउनुभएको छ ।
चीनको दश दिने भ्रमण सकेर हालै स्वदेश फिर्ता हुनुभएका महासचिव गुरुङले आज संवाद डबलीद्वारा आयोजित अन्तरसंवाद कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निम्तामा गरेको भ्रमणमा चीन नेपालको शान्ति, समृद्धि र राजनीतिक स्थायित्वका लागि सधँै तत्पर रहेको उल्लेख गर्नुभयो ।
‘चिनियाँ उच्च अधिकारीसँगको भेटले हामी उत्साहित छौँ, चीन सधैँ नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताका लागि सहयोग गर्न तयार छ’ उहाँले भन्नुभयो– ‘चीनले नेपालमा स्थिर सरकार हेर्न चाहेको छ । कम्युनिस्ट पार्टीहरुबीच सहकार्य होस् भन्ने चाहना राखेको छ ।’
महासचिव गुरुङ नेतृत्वको ३० सदस्यीय टोलीले चीनमा रहँदा चिनियाँ कम्युनिस्ट पार्टी र सरकारका उच्च अधिकारीसँग भेटवार्ता गरेको थियो । भ्रमणले चिनियाँ कम्युनिस्ट पार्टी र माओवादी केन्द्रबीचको सम्बन्धलाई जनस्तरसम्म पु-याउन सहयोग पुग्ने महासचिव गुरुङको विश्वास छ ।
फरक प्रसङ्गमा महासचिव गुरुङले वर्तमान सरकार संसद्को पुरै कार्यकालसम्म टिक्ने बताउनुभयो । ‘संसद्को बाँकी समयसम्म यही समिकरण जान्छ’ उहाँले भन्नुभयो । नेपालको निर्वाचन प्रणालीका कारण एउटा दलले बहुमत प्राप्त गर्न नसक्ने अवस्थाले सत्ता समिकरण परिवर्तन भइरहने अवस्था सिर्जना भएको उहाँको भनाइ छ । महासचिव गुरुङले भर्खरै भएको तेस्रो लगानी सम्मेलन सफल भएको बताउनुभयो । देश विकासका लागि मुख्य कुरा आन्तरिक पुँजी भए पनि बाह्य पुँजी भित्र्याएर अगाडि बढ्नुपर्ने उहाँको सुझाव छ ।
‘देश विकासका लागि आन्तरिक पुँजी मुख्य कुरा हो । तर हाम्रो आवश्यकता र प्राथमिकताका आधारमा बाह्य पुँजी भित्र्याएर रोजगारी सिर्जनासँगै देशलाई समृद्ध बनाउन सकिन्छ । त्यही अनुसार सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गरेको हो’ महासचिव गुरुङले भन्नुभयो ।
कार्यक्रममा भ्रमण टोलीका सदस्य एवं माओवादी केन्द्रका नेता डा दीपेन्द्र रोकायाले नेपालको विकासका लागि चीनबाट शिक्षा लिन सकिने बताउनुभयो । भ्रमणको अनुभव सुनाउँदै उहाँले चीनले जस्तै तीब्र गतिमा विकास गरी नेपाललाई पनि समृद्ध बनाउन सकिने सम्भावना रहेको बताउनुभयो । औद्योगिक रुपमा सम्पूर्ण देशलाई अगाडि बढाउन नसक्दासम्म देश अगाडि नबढ्ने उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै