+

‘संविधानको परिकल्पना र प्रेस स्वतन्त्रताको अभ्यासलाई कसैले सीमित गर्न सक्दैन’

काठमाडौँ ।  नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले संविधानको परिकल्पना र प्रेस स्वतन्त्रताको अभ्यासको दायरालाई कसैले पनि सीमित गर्न नसक्ने बताउनुभएको छ । 

आज यहाँ आयोजित नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाको १०औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनमा उहाँले संविधानको भावना र चलिआएको अभ्यास नकार्दै प्रेस स्वतन्त्रतालाई खुम्च्याउन नमिल्ने जिकिर गर्नुभयो ।

‘संविधानले समाचार प्रकाशनमा पूर्वप्रतिबन्ध नलगाइने प्रस्ट व्यवस्था गरेको छ । पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था संविधानको प्रस्तावनामा छ  । हामीले अभ्यास गरिरहेको यो अभ्यासमाथि कहीँ कतैबाट खतराको घण्टी बज्नु उचित होइन’ अध्यक्ष पोखरेलले भन्नुभयो । 

सञ्चारमाध्यमले गरेको गल्तीमा टेकेर पछिल्ला समय समग्र मिडियामाथि प्रतिबन्ध लगाउने वा मिडियालाई खेद्ने र प्रेस स्वतन्त्रतालाई नियन्त्रणमा राख्ने मनसाय प्रकट हुन थालेको उल्लेख गर्दै उहाँले समाचारका विषयवस्तुको सत्यता पुष्टि गर्ने दायित्व सम्बन्धित सञ्चारमाध्यमकै भएको पनि स्पष्ट पार्नुभयो । 

संविधान र मुलुकको स्वतन्त्र प्रेसले गरिरहेको अभ्यासभन्दा ठूलो र त्यसले निर्माण गरेको फराकिलो आधारलाई खुम्च्याउनका लागि कसैको निर्देशन वा आदेश पर्याप्त हुन नसक्ने उहाँको स्पष्टोक्ति थियो ।
 
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले प्रेस स्वतन्त्रताको सुई सरकारतर्फ मात्र नतेर्सने भएकाले यससँग सरोकार राख्ने सबै निकायले गम्भीर भएर सोच्नुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘प्रेस स्वतन्त्रता तथा व्यावसायिक स्वतन्त्रताको पक्षमा महासङ्घ खरोरुपमा उत्रनुपर्छ’ महासङ्घका पूर्वअध्यक्ष झाले भन्नुभयो– ‘प्रत्येक कालखण्डमा श्रमजीवीको मुद्दा उठ्दै आइरहेको छ, त्यस्ता विषयलाई सम्बोधन गर्न महासंघ अगाडि आउनुपर्छ ।’
 
पछिल्ला समय प्रेस स्वतन्त्रताको मुद्दा पेचिलो बन्दै गइरहेको उल्लेख गर्दै अध्यक्ष झाले संविधानमा लेखेर मात्रै प्रेस स्वतन्त्रा सुनिश्चित नहुने बताउनुभयो । उहाँले पत्रकार महासङ्घलाई साझा चरित्र र स्वरुप भएको संस्थाका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो ।
 
राससको समाचार कक्षलाई पूर्णसमावेशी बनाइएको उल्लेख गर्दै अध्यक्ष झाले समाचारका विषयवस्तुलाई पनि समावेशी बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । पत्रकार तथा कर्मचारीको क्षमता अभिवृद्धि र वृत्तिविकासका लागि व्यवस्थापन क्रियाशील रहेको जनाउँदै उहाँले राससको समाचार कक्षको स्वतन्त्रतालाई पनि उच्च प्राथमिकता दिइएको बताउनुभयो ।
 
राससका महाप्रबन्धक सिद्धराज राईले सहमतिबाट नेतृत्व टुङ्ग्याउन आग्रह गर्दै प्रतिष्ठान शाखाबाट रचनात्मक सहयोगको अपेक्षा गरिएको बताउनुभयो । उहाँले पत्रकारको वृत्तिविकासमा व्यवस्थापन क्रियाशील रहेको जानकारी गराउनुभयो । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले पत्रकारितामा देखिएको विश्वव्यापी चुनौतीको सामना गर्दै पत्रकारितामा सूचना प्रविधिको प्रयोगलगायत विषयमा सञ्चारकर्मी सचेत हुनुपर्ने बताउनुभयो ।
 
महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष पवित्रा गुरागाईंले प्रतिष्ठान श्रमजीवीको पक्षमा सदैव क्रियाशील रहेको बताउनुभयो । कार्यक्रममा प्रेस चौतारी नेपाल रासस शाखाका सल्लाहकार प्रकाश सिलवाल, प्रेस सेन्टर राससका प्रतिनिधि अशोक घिमिरे र प्रेस युनियन रासस शाखाका अध्यक्ष पूर्णप्रसाद मिश्रलगायतले पत्रकार महासङ्घ प्रेस स्वतन्त्रता, पेशागत हकहित तथा श्रमजीवीको मुद्दामा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै