+

‘संसद् कानुन बनाउनेभन्दा अन्तै अल्मलियो’

बाजुरा । नेपाली कांग्रेसका सांसद डा सुनिल शर्माले मुलुकको सार्वभौम संसद् कानुन बनाउने काममा भन्दा पनि अन्यत्रै अल्मलिएको बताउनुभएको छ । 

नेपाल प्रेस युनियन, बाजुराले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संसद्को मुख्य काम मुलुकका लागि आवश्यक कानुन निर्माण गर्नु भए पनि कानुन निर्माणको सट्टा संसद् अरुनै मुद्दामा कता कता अल्मलिएको बताउनुभएको हो ।

सांसद डा शर्माले भन्नुभयो– ‘वर्तमान प्रतिनिधिसभाको १७ महिना अवधिमा संसद्मा नीति र योजनाका कुरा कति उठे र कानुन कति बने भन्ने प्रश्न गर्ने हो भने यसको गतिलो जवाफ दिने ठाउँ छैन । संसद्ले आफ्नो भूमिका र दायित्वको काम कति ग¥यो भनेर अनुसन्धान गर्ने हो भने मलाई लाग्छ संसद् यो अवधिको आफ्नो ९० प्रतिशत समय दलहरुबीचको आपसी झगडामै बिताएको छ ।’

संसद् अधिवेशन जारी रहेको अवस्थामा गम्भीररुपले आफ्नो दायित्वबमोजिमको काम नगर्ने अनि अधिवेशनको अन्त्य गरेर अध्यादेशबाट कानुन ल्याउनुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ छ । 

सांसद शर्माले ठूला पार्टीका ठूला नेताहरु चुनाव लड्न डराउने र समानुपातिक निर्वाचन प्रणालीबाट सांसद आएर शक्तिशाली मन्त्रालय खोज्ने प्रवृत्ति गलत रहेको बताउनुभयो । 

देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको र साना व्यवसायीहरुको झन ठूलो समस्या रहेकाले सरकारले व्यवसायीलाई काम गर्ने वातावरणका साथै आवश्यक सहुलियतका कार्यक्रम ल्याउनुपर्ने माग गर्नुभयो । 

छिटोछिटो सरकार परिवर्तन हुने गरेका कारण देशमा निर्माणका काम हुन नसकेका र यसका कारण अर्थतन्त्रमा पनि असर परेको उहाँले बताउनुभयो । मुलुकको अर्थतन्त्रमा सुधार ल्याई रोजगारीका अवसर सिर्जना गर्ने र यसबाट देशबाट युवा पलायनको अवस्थालाई रोक्नका लागि स्थायी सरकार आवश्यक रहेको उहाँको भनाइ छ । 

देश यसैगरी चल्ने र राजनीतिक स्थायित्व कायम गर्न नसकिने हो भने नागरिकमा निरासाको तह झन बढ्ने भन्दै उहाँले मुलुकका प्रमुख राजनीतिक शक्तिशरुलाई समयमै सोच्न पनि सुझाउनुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै