
ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन नसक्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको १४औँ अधिवेशन तथा वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले प्रेस स्वतन्त्रता राजनीतिक स्वतन्त्रतासँग जोडिएको उल्लेख गर्दै अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन भन्नुभयो । ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा समावेशीताका आधारमा सबैको भावनालाई आत्मसात् गर्दै जानुपर्छ । यसका लागि प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता महत्वपूर्ण छ’ उहाँले भन्नुभयो ।
मन्त्री शर्माले प्रविधिमा आएको परिवर्तनलाई स्वीकार गर्दै निष्पक्ष पत्रकारिताको अभ्यासलाई स्थापित गर्न सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । प्रविधिसँगै आएको परिवर्तनलाई आत्मसात् गर्दै पुराना कानुनलाई परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले प्रक्रियागत ढिलाइका बाबजुद पनि मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयक संसद्मा पेस गर्ने तयारी भइरहेको बताउनुभयो ।
नेपालको विज्ञापन बजारमा भएको अनियमितता, साइबर सुरक्षा र सामाजिक सञ्जालसम्बन्धी कानुन संसद्मा लैजाने तयारी भइरहेको मन्त्री शर्माले बताउनुभयो । नीतिगत विषय समाधान गरेपछि समस्याको दिगो समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । मन्त्री शर्माले संविधानमा भएको त्रुटिलाई सच्याएर व्यवस्था परिवर्तनबाट अवस्था परिवर्तन गराउनमा मिडियाको भूमिका महत्वपूर्ण हुने भन्दै संविधानको व्यवहारिक कार्यान्वयन गर्दै कानुनी कुरा स्थापित गर्न मिडियाको व्यापक अभियान आवश्यक रहेको बताउनुभयो ।
‘संवैधानिक रुपमा वंशको अधिकार छोरीलाई भनिए पनि व्यवहारमा लागू हुन सकेको छैन । अझै पनि जिल्ला प्रशासन कार्यालयबाट आमाको नामबाट नागरिकता लिन कठिनाइ भइरहेकाले यसका लागि मिडियाले कमजोरी उजागर गर्दै सहज बनाउन सहयोग गर्नुपर्छ’ मन्त्री शर्माले भन्नुभयो ।
अहिलेको व्यवस्था र आन्दोलनप्रतिको नकारात्मक धारणाको विकास भइरहेको उल्लेख गर्दै मन्त्री शर्माले सकारात्मक धारणाको विकास गर्दै प्रशासनिक सुधारमा कलम चलाउन सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । व्यवस्थामा सञ्चालकले गरेको गल्तीलाई व्यवस्था कै गल्तीकै रुपमा लिन हुँदैन । गल्ती गर्ने ढिलोचाँडो कानुनी दायरमा आउँछ । व्यवस्थालाई उपयोग गरेर भएको व्यक्तिको बदमासीको उजागर गरौँ । तर व्यवस्थालाई भारी बोकाएर खराब बनाउने काम नगरौँ’ मन्त्री शर्माले भन्नुभयो ।
लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडीले पत्रकार महासङ्घको सदस्यता शुद्धीकरणमा क्रियाशील पत्रकारको सदस्यता छुट्नु, विधान बमोजिम सदस्यको नामावली आएको ६ महिनापछि मात्रै अधिवेशन हुने व्यवस्था महासङ्घले लागू गर्न नसकेको आरोप लगाउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झा, ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने लगायतले पत्रकारितालाई व्यवस्थित गराउनु आवश्यक रहेको धारणा राख्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा