+

माओवादी आन्दोलन जारी छ : अग्नि सापकोटा

काभ्रे ।   पूर्वसभामुख अग्निप्रसाद सापकोटाले माओवादी आन्दोलनको यात्रा जारी रहेको बताउनुभएको छ । 

नेकपा माओवादी केन्द्र काभ्रेपलाञ्चोक जिल्ला कमिटीको आइतबार नवौँ पूर्ण बैठकमा उहाँले माओवादी पार्टीमात्रै नभएर विचारसहितको आन्दोलन भएकाले निराश नभएर निरन्तर पार्टी र आन्दोलनमा लाग्न आग्रह गर्नुभयो ।

सबै कुराको निर्धारण विचार र सिद्धान्तले गर्ने भएकाले पार्टी जति बिगिँ्रदै गए पनि आन्दोलनको यात्रा नरोकिने उहाँको भनाइ छ । ‘विचार र सिद्धान्तलाई सामान्य र कमजोर नठान्न सबैलाई विनम्र आग्रह छ, राम्रो नीति, योजना, कार्यदिशा र सिद्धान्त भयो भने अगाडि बढ्न कुनै अप्ठ्यारो छैन, त्यो तागत माओवादी पार्टीभित्र छ’ उहाँले भन्नुभयो ।  

राजनीतिलाई कमजोर रूपमा नलिन र सामान्य ढङ्गले नसोच्न आग्रह गर्नै उहाँले सबै चिजको निर्धारण त्यसैले गर्ने भएकाले राजनीतिलाई अझ गहिराइमा पुगेर बुझ्न सबै नेता, कार्यकर्तालाई निर्देशनसमेत दिनुभएको छ । जनताले अझै पनि माओवादी पार्टीप्रति नै बढी विश्वास गरेको भए पनि २०५७ सालदेखि माओवादी पार्टीभित्र विचारको संश्लेशण गर्ने परिपाटी छोड्दै गएकाले पार्टी पछि पर्दै गएको उहाँको भनाइ छ । 
 
‘हामीले माथि मात्रै हेर्ने, विश्वास गर्ने र त्यसैमा रमाउने मात्रै गरिरह्यौँ’ उहाँले भन्नुभयो– ‘त्यसबाट मुक्त हुँदै पार्टीको जग भनेको नै आधारभूत वर्ग किसान, मजदूर, पिछडिएको वर्ग र समुदायलाई बुझ्ने कामलाई गम्भीरतापूर्वक लिन आवश्यक छ ।’

पार्टीलाई अझ गति पैदा गराउन राजीतिक खोज, अनुसन्धान र विश्लेषणलाई महत्वका साथ लिएर नयाँ योजना बनाएर अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले आम नेता, कार्यकर्ताले पनि आफूलाई रुपान्तरण गर्दै बदल्न आफैँलाई चिन्नका लागि सोच्नसमेत आग्रह गर्नुभएको छ । 

अबको चार महिनाभित्रमा पार्टीको जनवर्गीय सङ्गठन र मोर्चाको सम्मेलन, भेला र प्रशिक्षण राखेर सङ्गठनलाई सक्रिय र चलायमान बनाउन लाग्न सबै कमिटीलाई उहाँले आग्रह गर्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य सूर्यमान दोङ (लालध्वज) ले पार्टी सङ्घ, प्रदेश र स्थानीय सबै तहमा सरकारमा रहेका कारण पार्टीभित्र देखिएको समस्या समाधान गर्न आधार प्रशस्त रहेको बताउनुभयो । कतिपय नेताले चित्त नबुझेर दिने गरेको राजीनामा मात्रै समस्याको समाधान नभएको टिप्पणी गर्दै नेतृत्व लिन र त्यही खालको परिणाम दिनेगरी काम गर्न तयार रहन आग्रह गर्नुभएको छ । पार्टी समस्याको निकास दिन र समानताको प्रतीकका रूपमा उभिएको भन्दै उहाँले नेता भएर साधारण जनताको सोच र चिन्तनमा बहकिने जस्तो व्यवहार नदेखाउन आग्रह गर्नुभयो ।

पार्टीको केन्द्रीय सदस्य एवं काभ्रेपलाञ्चोक जिल्ला कमिटी इन्चार्ज तेजबहादुर मिजारले पार्टीले ल्याएको जबस मोर्चालाई सङ्गठित र क्रियाशील बनाउने अभियानलाई मूर्तरुप दिन अभियानमा लामवद्ध हुन तयार रहेको बताउनुभयो ।

पार्टीका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले पार्टी सङ्गठनभित्र सबै ठाउँमा समस्या देखापरेको भन्दै समाधानका लागि अगाडि बढ्न सबै जिल्लाका नेतृत्व र सिङ्गो पार्टी तयार रहन आग्रह गर्नुभयो । ‘नयाँ समस्या जति आयो, त्यति नै समाधान गर्न पार्टी नेतृत्व अगाडि बढ्नुपर्ने हुन्छ’ उहाँले भन्नुभयो– ‘त्यसखालका गतिविधि अवरुद्ध हुँदै आएको छ, त्यसका लागि वडा, पालिका र जिल्ला कमिटीले हिम्मत गर्न सक्नुपर्छ ।’

पार्टी जिल्ला कमिटी संयोजक भोला अर्यालयको अध्यक्षतामा भएको बैठकमा सहभागी नेता र पालिका कमिटीका अध्यक्षले पार्टीलाई सक्रिय बनाउनुपर्ने, सबै जनवर्गीय सङ्गठन र मोर्चाको भेला, बैठक, प्रशिक्षणको आयोजना गरी सक्रिय पार्टी सङ्गठन निर्माण गर्न जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट