
काठमाडौँ । प्राध्यापक एवं प्राज्ञिकहरूले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामूहिकरूपमा धन्यवाद व्यक्त गर्नुभएको छ ।
आज बिहान प्रधानमन्त्रीसँग बालुवाटारमा भेटघाट गर्दै प्राध्यापक एवं प्राज्ञिकहरूले खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति गरेसँगै विश्वविद्यालयको प्राज्ञिक छविमा सकारात्मक सन्देश गएको उल्लेख गर्नुभयो । भेटमा प्रधानमन्त्री दाहालले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र सुधारमा गम्भीर भएको जानकारी दिँदै मेरिटोक्रेसीको अवधारणा थप दृढताका साथ बाँकी ठाउँमा पनि अवलम्बन गरिने बताउनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विश्वविद्यालय सुधार्ने हो भने मेरिटोक्रेसीको कुनै बिकल्प छैन, यसबारे गम्भीररूपमा सोच्दै आएको थिएँ । तर, कहाँबाट शुरू गर्ने, कसरी शुरू गर्ने भन्ने थियो । मैले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा खुला प्रतिस्पर्धाको घोषणा गरेको थिएँ । त्यसपछि यसको पक्षमा वातावरण बनाउन म लगातार लागिरहेँ र सफल पनि भयौँ । यसले प्राज्ञिक क्षेत्रलाई सकारात्मक दिशा दिएको छ ।”
देशमा सुशासन, विकास र समृद्धिको नयाँ जग बसाल्न सबै क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा जरूरी रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । उहाँले भन्नुभयो, “पार्टीमा आबद्ध हुने स्वतन्त्रता सबैलाई छ । तर, अब कुन पार्टी भनेर नहेरौँ । जो सक्षम छ, इमान्दार छ, जो निष्ठाका साथ काम गर्छ, त्यो नै आफ्नो हो । राम्रो हेरौँ, मेरिट हेरौँ । यसले मात्रै देशमा नयाँ परिस्थिति बन्छ । यसमा म पूर्ण प्रतिवद्ध छु ।”
भेटमा प्राज्ञिकहरूको तर्फबाट केदारभक्त माथेमाले प्रधानमन्त्री दाहालको सोच र अडानका कारण विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति हुनु आफैँमा महत्वपूर्ण कुरा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको सोच र अडानबाट खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त भएको छ । यो आफैँमा राम्रो नजिर हो । यसले नयाँ लिगेसीको प्रारम्भ हुन्छ । यसले उच्च शिक्षाको गुणस्तरमा ठूलो सुधार ल्याउने हाम्रो विश्वास छ । यसका सकारात्मक परिणाम आउँदै जानेछन् । हामी खुसी छौँ । तपाईलाई हार्दिक धन्यवाद छ ।”
छलफलमा माथेमाले सबै राजनीतिक दलले एक ठाउँ बसेर भागबण्डाको संस्कारको अन्त्य र खुला प्रतिस्पर्धाका निम्ति प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउनुभयो । सार्वजनिक रूपमा हस्तक्षेप नगर्ने सङ्कल्प घोषणा गर्न दललाई अनुरोध गर्दै उहाँले शैक्षिक–प्राज्ञिक संस्थाको स्वायत्ततालाई अक्षुण्ण राख्न कुनै पनि प्रकारका अस्वस्थ, अनावश्यक हस्तक्षेप नगर्ने सङ्कल्प एवं प्रतिबद्धता राजनीतिक दलको तर्फबाट आउनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्रीलाई धन्यवाद दिँदै राजनीतिक दलहरूलाई हस्तक्षेप नगर्ने नीतिमा प्रतिबद्धता व्यक्त गर्न अनुरोध गर्नेमा डा गौरीशङ्करलाल दास, डा गोविन्द पोखरेल, डा सन्दुक रूइत, डा अर्जुन कार्की, डा जेपी अग्रवाल, डा नरेशमान बज्राचार्य, डा असीम ढकाल, डा भगवान कोइराला, डा विष्णु उप्रेती, डा धर्मकान्त बास्कोटा, डा देवेन्द्रराज पाण्डे, डा लवदेव अवस्थी, डा मदन उपाध्याय, डा महेश मास्के, केदारभक्त माथेमा लगायत ६६ प्राज्ञिक हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु