
काभ्रे । बर्खायाम शुरु हुनुपूर्व जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका सबै पालिकालाई पूर्वतयारीमा जुट्न आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी समेत रहनुभएका जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक रुद्रादेवी शर्माको अध्यक्षतामा बुधबार धुलिखेलमा बसेको बैठकले आर्थिक वर्ष २०८०र८१ को साउनदेखि चैत २६ गतेसम्मको समीक्षा गर्दै आगामी दिनमा विपद् पूर्वतयारीमा जुट्नका लागि विपद्को प्रकृति र सम्भावित स्थान, जोखिमको अवस्थाको पूर्वानुमान विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।
बैठकले स्थानीय विपद् व्यवस्थापन समितिको बैठक नियमितरुपमा बस्दै मनसुन तथा विपद्बाट प्रभावित हुनसक्ने स्थान पहिचान गरी सङ्कटको अवस्थामा रहेका समुदाय एवं बस्तीको पहिचान, जोमिम न्यूनीकरणका उपाय अवलम्बन गर्ने निर्णय गरेको छ ।
वन डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले स्थानीय तहसँग समन्वय गरी प्रभावकारी कार्ययोजनामार्फत कार्यान्वयन गर्ने, विपद् प्रतिकार्यका लागि आवश्यक पर्ने सामग्रीको सम्बन्धित सबै निकायले तयारी अवस्थामा राख्ने, एम्बुलेन्स, दमकल, मर्मतसम्भार गरी तयारी अवस्थामा राख्ने र विपद्को समयमा अन्तरस्थानीय तह समन्वय गरी परिचालनको व्यवस्था मिलाउने, स्थानीय विपद् व्यवस्थापन कोषबाट खर्च भएको रकमको विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउनेलगायत विषयलाई प्रमुखताका साथ अगाडि बढाउने निर्णय भएको छ ।
स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालन भएका पालिकामा सक्रियरुपमा सञ्चालन गर्न र स्थापना नभएका पालिकामा केन्द्र स्थापना गरी जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गर्न स्थानीय तहमा अनुरोध गर्ने, विपद्का समयमा तत्काल सेवा दिनसक्ने गरी स्वास्थ्य संस्था, औषधि र जनशक्तिलाई तयारी अवस्थामा राख्ने, विकास आयोजना सञ्चालन गर्दा र निर्माण सामग्री उत्पादन गर्दा विपद् जोखिम न्यूनीकरणका उपाय अवलम्बन गरी प्रचलित कानुन र मापदण्डको पूर्णपालना गरी सम्बद्ध निकायले प्राथमिकताका साथ कार्यान्वयन गर्ने र विपद् व्यवस्थापनसम्बन्धी काम गर्ने सङ्घसंस्थाले जिल्लास्थित र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरी गरेको कार्यको प्रगति विवरण पेश गर्ने, सोको समन्वय गैरसरकारी संस्था महासङ्घबाट गर्ने लगायत विषयमा बैठकले निर्णय गरेको छ ।
बैठकमा बागमती प्रदेशसभा सदस्य मञ्चनचन्द्र बादे श्रेष्ठले स्थानीय तहहरुले विपद् व्यवस्थापनका लागि गर्दै आएको सराहनीय कार्यलाई अझै प्रभावकारी ढङ्गले अगाडि बढाउन आग्रह गर्दै विकासको काम गर्दै जाने क्रममा विपद्को अवस्था पनि बढ्दै गएकाले सचेत भएर पूर्वतयारीमा जुट्न आवश्यक रहेकामा जोड दिनुभयो ।
उहाँले बनेपा, पनौती र धुलिखेल नगरको एकीकृत योजना बनाएर दमकलको व्यवस्थापन गर्नुपर्ने, पुण्यमाता खोला आसपास पनौती र धुलिखेल नगरपालिकामा परेका भूभागअन्तर्गतका खोलामा साना कल्भर्ट हाल्नुपर्ने बताउनुभयो । केही ठाउँमा हालेको पुलसमेत होचो बनाएर खोलाको बाटो नै सानो हुँदा अवागमनमा समस्या भएको भन्दै दीर्घकालीनरुपमा समाधान गर्नका लागि नालादेखि पनौतीसम्म व्यवस्थित बनाउन योजना बनाइरहेको श्रेष्ठले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी शर्माले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१’ ले तयार पारी जिल्लामा पठाएको ढाँचाहनुसार विपद्को प्रकृति, सम्भावित स्थान र जोखिमको अवस्थाको पूर्वानुमान विवरण सबै स्थानीय तहबाट उपलब्ध गराउन आग्रह गनुर्भयो ।
बैठकमा सहभागीले स्थानीय पालिकाले गर्दै आएको जोखिम व्यवस्थान कार्य, आगामी कार्ययोजना र विपद्मा परेकालाई वितरण गर्दै आएको राहत लगायतका विषयमा धारणा राख्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय