
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन गर्न माग गरिएको छ । मंगलबारको बैठकमा पर्यटकीय राजधानीका रुपमा घोषित पोखरास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालन गरी पर्यटन वृद्धि गर्न माग गरिएको हो ।
बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद विद्या भट्टराईले विभिन्न मुलुकका विभिन्न शहरमा पोखराबाट सिधा हवाइ सेवा सञ्चालन गराइ पोखरालाई अन्तर्राष्ट्रिय गन्तव्य बनाउन आग्रह गर्नुभयो । सांसद भट्टराईले पोखरामा चार सयको सङ्ख्यामा रहेका होटलको इजाजत नवीकरण गर्न वातावरण संरक्षण ऐन संशोधन हुन आवश्यक रहेको र काठमाडौँबाट पोखरा जाने सडकअन्तर्गत तनहुँ खण्ड लामो समयदेखि विचाराधीन रहनुले असुविधा भएको गुनासो गर्नुभयो ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद सुशीला सिर्पाली ठकुरीले जलवायु परिवर्तनसँगै आगलागीलगायत प्राकृतिक विपदका कारण किसानका बालीनाली नष्ट भएकाले किसानलाई क्षतिपूर्ति र राहत दिन माग गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोबिता गौतमले कारागारहरुमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले मन्त्रीहरुसमेत जोडिएका सहकारीको रकम ठगीका घटनामा संसदीय छानविन समिति गठन नगरिएको र कृषि क्षेत्रमा लगानी नबढाइएकामा चिन्ता व्यक्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विना जैसवाल वीरगञ्जको सिर्सिया खोलामा विभिन्न उद्योग र होटेलबाट वातावरण प्रदूषण गरेकाले वातावरण संरक्षण गर्न माग गर्नुभयो । एमालेका सांसद रेखा यादवले दलित बालिबालिकालाई आवासीय विद्यालय सञ्चालन गर्न माग गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सांसद राजेन्द्रप्रसाद पाण्डेले निजामती कर्मचारीलाई निरुत्साहित हुने गरी प्रशिक्षार्थी (उत्प्रेरक) का रुपमा परिचालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि बनाएको विषयमा प्रश्न गर्नुभयो ।
जनमत पार्टीका सांसद अब्दुल खाँनले इद उल फित्रका दिन त्रिभुवन विश्वविद्यालयले परीक्षा राखेकामा असन्तुष्टि व्यक्त गर्नुभयो । तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद रामप्रकाश चौधरीले राजनीतिप्रति वितृष्णा फैलिएकाले जनतामा आशा जगाउने काम हुनुपर्ने माग गर्नुभयो । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले छिमेकी मुलुकसँगकोसीमा विवादका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले रौतहटको मौलापुरमा बाढीले भत्किएका बाँध पुनः निर्माण हुनुपर्ने माग गर्नुभयो ।
सांसद डा अमरेशकुमार सिंहले भ्रष्टाचारका मुद्धामा ठूला नेतालाई बचाउने प्रवृत्तिले कर्मचारीहरुले काम वा निर्णय गर्ने क्षमता कमजोर भएको बताउनुभयो । नेपाली कांग्रेसका सांसद रामनाथ अधिकारी धादिङको रुवी भ्यालीको सडक ३० वर्षदेखि बन्न नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । एमालेका सांसद अमृतादेवी अग्रहरिले मुलुकबाट युवा श्रम शक्ति र प्रतिभा पलायन भइरहेको अवस्था यसलाई रोक्न ठोस पहल गर्न आग्रह गर्नुभयो । कांग्रेसका सांसद लीलादेवी बोखिम लिम्बूले ताप्लेजुङको महानन्दे दोभान सडक कालोपत्र हुन बजेट अभाव भएकामा ध्यानाकर्षण गराउनुभयो ।
एमालेका सांसद शान्ति श्रेष्ठले सीमान्तकृत, संरक्षणबिहीन र यौनिक अल्सङ्ख्यक बालबालिकाको शिक्षा र अधिकारको पहँुचवृद्धिका लागि लगानी गर्न आग्रह गर्नुभयो । एमालेका सांसद किरणकुमार साहले आठ महिनामा चार लाख युवा पलायन भएको तथ्याङ्क बाहिरिएकाले माटो सुहाउँदो शिक्षाको व्यवस्था गरी युवालाई स्वदेशमै रोजगारी दिन माग गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल