+

जलाशयको पानीले उत्पादन वृद्धि

दाङ । घोराही उपमहानगरपालिकाले पानीको स्रोत संरक्षण गर्दै किसानको आम्दानी बढाउन कृत्रिम जलाशय निर्माण गरेको छ । नगरलाई सुक्खा हुनबाट बचाउन जलाशय निर्माण अभियान अहिले प्रभावकारी बनेको छ ।

‘एक वडा, एक जलाशय’ अभियानअन्तर्गत प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा हालसम्म २८ जलाशय निर्माण भइसकेका छन् । प्रदेश सरकारको ४५ लाख, स्थानीय सरकारको ५० लाख र उपभोक्ताको ५ लाख रुपैयाँमा जलाशय निर्माण गरिएको हो । 

घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा रहेको कृत्रिम जलाशयका कारण त्यस क्षेत्रमा पानीको समस्या हटेको किसान पूर्णबहादुर चौधरीले बताउनुभयो । जलाशयको पानीले सिँचाइ हुने भएपछि बाह्रै महिना तरकारीखेतीमार्फत आम्दानी पनि भइरहेको उहाँले बताउनुभयो । 

जलाशय निर्माण गरेपछि पानी सहज आपूर्ति भएको किसानको भनाई छ । ‘वडा नम्बर १७ र आसपासको वडामा सिँचाइका लागि पानी पुगेको छ । कर्जाही आसपासमा एक सय बिघाभन्दा धेरै जमिनमा यस जलाशयको पानीमार्फत सिँचाइ भई व्यावसायिक तरकारीखेती भइरहेको छ’ चौधरीले बताउनुभयो । 

घोराही उपमहानगरपालिकाले प्रदेश सरकारको आर्थिक सहयोगमा वडा नम्बर १ र २ को सीमाक्षेत्रमा पर्ने सुर्केडाँगीमा ९चेपे ताल०मा तीन वर्षअघि करिब साढे सात बिघा क्षेत्रफलमा निर्माण गरिएको कृत्रिम जलाशयपछि खेतीपातीमा सहज भएको किसान मीना चौधरीले सुनाउनुभयो । 

‘जलाशय निर्माणपछि सिँचाइको समस्या छैन । यसले व्यावसायिक तरकारीखेतीमा सहयोग पुगेको छ’ उहाँले भन्नुभयो– ‘मैलेमात्रै काउली, बन्दा, गोलभेँडा गरी मासिक  २० देखि २५ हजार रुपैयाँ आम्दानी गरिरहेकी छु । लौका, करेला, भिन्डी र काँक्राको खेती पनि राम्रो भइरहेको छ ।’

जलाशय संरक्षण समितिका अध्यक्ष एवं वडा नम्बर १ का अध्यक्ष राममणि पाण्डेले जलाशयमा माछापालनसँगै डुङ्गा समेत सञ्चालन गरिएको बताउनुभयो । अध्यक्ष पाण्डेका अनुसार कृत्रिम जलाशय प्रदेश सरकार र घोराही उपमहानगरको करिब  एक करोड ८० लाख रुपैयाँ लगानीमा निर्माण भएको हो । ‘जलाशय ठूलो छ, त्यही कारण सिँचाइसँगै माछापालन, डुङ्गा सञ्चालन गरेर स्थानीय युवालाई रोजगारी समेत दिएका छौँ’ पाण्डेले भन्नुभयो ।

सघन सिँचाइ आयोजनाले तीन, बृहत् सिँचाइ आयोजनाले एक, प्रदेश सरकारले तीन र उपमहानगरले २१ गरी पाँच वर्षमा २८ कृत्रिम जलाशय निर्माण भएका छन् । गर्मीमा पानीको समस्या धेरै नै थियो । तीब्र सहरीकरणले नगरभित्रका सहरोन्मुख गाउँका कुँवा, इनार, ट्युबवेल, जरूवाजस्ता पानीका स्रोत सुक्दै गएका छन् । त्यसैले पशुचौपाया, वन्यजन्तु, चराचुरुङ्गीको बासस्थान सुरक्षित गर्न र सिँचाइका लागि कृत्रिम जलाशय निर्माण गरिएको हो । 

नगरलाई सुक्खा हुनबाट बचाउन शुरु भएको जलाशय निर्माण अभियान अहिले प्रभावकारी बनेको नगरप्रमुख नरूलाल चौधरीले बताउनुभयो । उहाँले नगरमा पानीका स्रोत बचाउन पानी सङ्कलन केन्द्रमार्फत ‘रिचार्ज’ गरिएको उल्लेख गर्नुभयो । ‘नगरमा जनघनत्व बढ्दै जाँदा सहरी क्षेत्र बढ्यो । जसले गर्दा पानीका मुहान सुक्दै गए । पानीको अभावलाई कम गर्न र जनतालाई प्रत्यक्ष आम्दानीमा जोड्नका लागि कृत्रिम जलाशय निर्माण गरेका हौँ’ उहाँले भन्नुभयोे– ‘नयाँ निर्माण गरेका पोखरीमा वर्षामा पानी जम्मा गरिन्छ । जलाशय निर्माणले कृषिसँगै जमिन र पारिस्थितिक प्रणालीमा पनि सन्तुलन ल्याउने अपेक्षासहित हामीले काम गरेका हौँ’ उहाँले भन्नुभयो । 

जलाशय निर्माण भएका स्थानमा बाह्रै महिना खेती हुने गरेको त्यही ठाउँका किसान बताउँछन् । घोराही क्षेत्रका जलाशय पाँच कट्ठादेखि पाँच बिघासम्म फैलिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै