
चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र अह्वान गरेको छ । धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको रङ्गशाला महानगरपालिकाले आफैँ निर्माण गर्ने गरी आज बोलपत्र आह्वान गरेको हो ।
महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार रु एक अर्ब २७ करोड ४८ लाख ८५ हजार लागतमा रङ्गशाला निर्माण गर्न बोलपत्र आह्वान गरिएको हो । यसअघि वनाइएका संरचनाको समेत उपयोग गर्नेगरी निर्माण गर्न बोलपत्र आह्वान गरिएको उहाँले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिका-१५ रामपुरमा निर्माणाधीन रङ्गशाला करिब तीन वर्षदेखि अलपत्र अवस्थामा थियो । रङ्गशालामा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुईवटा टावर निर्माण हुनेछ ।
बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको साझेदारीमा रङ्गशाला निर्माण गर्न लागिएको हो । सत्तरी प्रतिशत बागमती प्रदेश सरकार र ३० प्रतिशत महानगरपालिकाले लगानी गर्नेगरी निर्माण गर्न लागिएको हो । महानगरपालिकाले गर्ने साझेदारीमा सङ्घीय सरकारले समेत सहयोग गर्ने जनाइएको छ ।
महानगरपालिकाका प्रमुख रेनु दाहालले ‘भ्रमण वर्ष २०२४’ को एउटा आकर्षक गन्तव्य रङ्गशाला भएकाले सकारात्मक सन्देशका लागि भ्रमण वर्ष उद्घाटनअगावै बोलपत्र आह्वान गरिएको जानकारी दिनुभयो ।
“यो हाम्रो सङ्कल्प थियो । आज पूरा भएको छ”, उहाँले भन्नुभयो, “लामो समयको अथक मेहनत, प्रयास र तत्परताले रङ्गशाला निर्माण सुनिश्चित भएको छ । यसले नेपाली खेलकुद जगत्का लागि उत्साह थपिएको छ ।” उहाँले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता यही मैदानमा खेलाउने गरी तयारी गरिएको बताउनुभयो ।
गत कात्तिक २३ गते नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, मोरङको विराटनगर र काठमाडौँको मूलपानीलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो ।
रङ्गशाला निर्माणका लागि छनोट भएको कम्पनीले दुई वर्ष छ महिनाभित्र रङ्गशाला बनाइसक्नु पर्नेछ । रङ्गशालाको सबै काम पूरा गर्न रु तीन अर्बभन्दा बढी खर्च लाग्ने छ । पहिलो चरणको काम पूरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने महानगरपालिकाले जनाएको छ । पहिलो चरणको काम सम्पन्न भएसँगै खेल खेलाउन मिल्ने छ ।
महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले त्रिभुवन विश्वविद्यालयसँग ३० वर्षका लागि जग्गा भाडामा लिएर रङ्गशाला निर्माण अघि बढाइएको बताउनुभयो । यो समय सकिएपछि थप गर्न मिल्नेगरी कृषि तथा वन विज्ञान विश्वविद्यालयको सहमतिमा जग्गा लिइएको उहाँको भनाइ छ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० बिघा छ कठ्ठा जग्गामा रङ्गशाला निर्माण थालिएको थियो ।
विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउण्डेसनबीच निर्माणका लागि सम्झौता भएको थियो । अधिकारीले फाउण्डेसनले काम गर्न नसकेर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेसँगै सङ्घ र प्रदेशसँग समन्वय गरेर रङ्गशाला निर्माण गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरको यो महत्त्वपूर्ण आयोजना हो । अब बन्ने सुनिश्चित भयो ।”
फाउण्डेसनले निर्माणका क्रममा तिर्नुपर्ने बाँकी भुक्तानी निर्माणका क्रममा लगाइएको महायज्ञमा घोषणा गरिएको बाँकी रकम उठाएर भुक्तानी गर्ने सहमति भएको छ । यसका लागि समिति निर्माण गरेर काम गर्ने तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग