+

विद्युत् प्राधिकरणलाई ६ महिनामै १५ अर्ब ३६ करोड नाफा

काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिनामै १५ अर्ब ३६ करोड रुपैयाँ भन्दा बढी नाफा गरेको छ । 

सार्वजनिक संस्थानमध्ये सबल र सक्षम बन्दै गएको प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड ६ लाख रुपैयाँ नाफा गरेको हो । प्राधिकरणले ६ महिनामा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल ६७ अर्ब २८ करोड ७७ लाख आम्दानी गरेको छ ।  त्यस मध्ये विद्युत् खरिद, प्रशासनिक, आयोजना लगायतमा जम्मा  ५१ अर्ब ९२ करोड ७१ लाख खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ ।

प्राधिकरणले समीक्षा अवधिमा १५ अर्ब ३६ करोड ६ लाख  रुपैयाँ नाफा (करकट्टी गर्नुअघि) आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७९/८० को सोही अवाधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख  रुपैयाँ थियो । गत आवको पहिलो छ  महिनाको तुलनामा प्राधिकरणको नाफा चालु आवको यही अवधिमा  चार अर्ब ४४ करोड ४६ लाख रुपैयाँले बढी हो । गत आवको नाफा १२ अर्ब ३३ करोड थियो । आव २०७२÷७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षबाट निरन्तर नाफामा छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले  विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा वृद्धि भएको भन्दै खर्च नियन्त्रण लगायतले गर्दा चालु आवको पहिलो ६ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताउनुभयो । 

‘बजेट सीमितताका कारण सरकारबाट लगानीका लागि पर्याप्त रकम पाउन सकिरहेका छैनौँ । यस्तो जटिल अवस्थामा संस्थाले कमाएको नाफाबाट विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरण, विद्युतीकरणतर्फका आयोजनामा हरेक वर्ष अर्बौ रुपैयाँ लगानी गरिरहेका छौँ’ कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । 

विद्युत्मा आत्मनिर्भर बन्न, आन्तरिक रुपमा खपत बढाउन र उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् उपलब्ध गराउन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनामा आगामी वर्षमा १२ खर्ब रुपैयाँ भन्दा बढीको लगानी आवश्यक पर्ने भन्दै नगद प्रवाहका लागि संस्थाको नाफाले नपुग्ने प्राधिकरणको बुझाइ छ । 

प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत् बिक्रीबाट ४५ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ सङ्कलन गरेको छ । यस अवधिमा देशभित्रका ऊर्जा उत्पादकबाट र भारतबाट आयात गरी  ३० अर्ब ४८ करोड ५८ लाख रुपैयाँको विद्युत् खरिद गरिएको छ । प्राधिकरणका सहायक तथा सम्वद्ध कम्पनीबाट  २८ अर्ब ४९ करोड ९६ लाख र भारतबाट  एक अर्ब ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको हो । 

समीक्षा अवधिमा सरकारमार्फत विनियोजन गरिएको वैदेशिकतर्फ ९ अर्ब ३ करोड ८४ लाख रुपैयाँ खर्च भएको छ । १३ अर्बको विद्युत् निर्यात, दुई अर्बको आयात गरिएको जनाइएको छ । विद्युत् प्राधिकरणको चालु आवको पहिलो ६  महिनामा  १३ अर्ब ३८ करोड ५६ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । यही अवधिमा  एक अर्ब ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको छ । 

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगमलाई बिक्री गरिरहेको छ । एनभिएनले त्यो विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । 

समीक्षा अवधिमा एक अर्ब ४७ करोड ६४ लाख युनिट विद्युत् निर्यात गरिएको छ । सुख्खायाम शुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घटेर जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेपछि अहिले देशभित्रको आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात भइरहेको छ । समीक्षा अवधिमा २२ करोड पाँच लाख युनिट विद्युत् आयात गरिएको छ । वर्षायाम शुरुभएसँग फेरि विद्युत् निर्यात हुने कार्यकारी निर्देशक घिसिङको भनाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट