+

‘राससलाई प्रभावकारी बनाउन राज्यले ध्यान दिनुपर्छ’

पर्सा । प्रतिनिधिसभाका सदस्य एवम् पूर्वमन्त्री प्रदीप यादवले मुलुकको एकमात्र समाचार समिति राष्ट्रिय समाचार समितिको सेवालाई प्रभावकारी बनाउन राज्यले ध्यान दिनुपर्ने बताउनुभएको छ । 

रासस वीरगञ्जद्वारा शुक्रबार आयोजित  ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा यादवले रासस मुलुकको प्रतिष्ठा र हुलाक टिकटजस्तै भएकाले यसलाई सबल, आत्मनिर्भर र सेवालाई प्रभावकारी बनाउन राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

‘छिमेकी मुलुक भारतमा पनि समाचार एजेन्सी छन् । त्यहाँको सरकारले ती समाचार एजेन्सीलाई अत्यन्त महत्व दिएर सोहीअनुसार विशेष सेवा सुविधा दिएका छन्’ प्रतिनिधिसभाका सदस्य यादवले भन्नुभयो– मुलुकको एक मात्र समाचार एजेन्सी राससप्रति राज्यको उचित ध्यान पुग्न सकेको छैन । राससलाई जनताको सञ्चारमाध्यमका रुपमा विकास गर्नु जरुरी छ ।’

आवाजविहीन र दूरदराजका जनताको आवाजलाई राससले समेट्नुपर्ने सुझाव दिनुहुँदै उहाँले राससले काठमाडौँ वा नेता कार्यकर्ताको कुरा मात्र नभई दुर्गम जिल्लाका कुनाकाप्चामा रहेका जनताका कथा र पीडा समेत सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । 

प्रतिनिधिसभाका सदस्य यादवले किसान सिँचाइ, बीउबिजन र मलखाद्य नपाएर छटपटाइरहे पनि राष्ट्रियस्तरका सञ्चारमाध्यमले ती किसानको समस्यालाई उचित स्थान नदिएकोप्रति गुनासो गर्नुभयो । उहाँले मलखाद्य उद्योग सञ्चालनका विषयमा छलफल भए पनि मुलुकमा उद्योग सञ्चालनको कुनै सम्भावना नरहेको जिकिर गर्नुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव दीपेन्द्र चोहानले आधिकारिक, विश्वसनीय, सन्तुलित समाचार सम्प्रेषणमा राससले खेलेको भूमिका प्रशंसनिय रहेको उल्लेख गर्नुभयो । राससले समाचार सामग्रीको गुणस्तरीयताका लागि समयसापेक्ष प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उहाँको भनाई छ । 

प्रविधिको विकाससँगै राससले पनि आफ्ना सेवा थप्दै जानु सकारात्मक भएको चर्चा गर्नुहुँदै चोहानले भ्रष्टाचार, बेथितिका विरुद्ध निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका महासचिव श्याम बञ्जाडाले पत्रकारिता पेशा संवेदनशील भएकाले जिम्मेवारीपूर्वक पत्रकारले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुहुँदै सञ्चार क्षेत्र सङ्कटपूर्ण अवस्थामा रहेकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घ पर्साका सभापति अनुप तिवारीले मुलुकमा आएको परिवर्तनसँगै राससमा केही सुधारको प्रयास भए पनि राससका समाचार सामग्रीमा ह्रास आइरहेकाले त्यसमा पनि सुधार गर्नुपर्ने बताउनुभयो ।

रासस वीरगञ्ज पर्साका प्रमुख राजु विश्वकर्माको अध्यक्षतामा आयोजित अन्तरक्रियामा कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष मनोजकुमार दास, नेपाल पत्रकार महासङ्घ पर्साका पूर्वसभापति अशोककुमार तिवारी, समाजवादी प्रेस सङ्गठनका केन्द्रीय महासचिव रामकुमार एलन, प्रेस सेन्टर पर्साका अध्यक्ष दीपक गौतम, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी लगायतले सञ्चार क्षेत्रमा राससले पु¥याएको योगदानबारे चर्चा गर्नुभएको थियो ।

राससका पर्सास्थित स्थानीय समाचारदाता माधुरी महतोद्वारा सञ्चालित कार्यक्रममा स्थानीय समाचारदाता विजयकुमार चोहनाले स्वागत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट