
काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले शहरी क्षेत्र र तराई–मधेशमा विषेश अभियान सञ्चालन गर्ने भएको छ ।
आइतबारदेखि जारी पार्टीको केन्द्रीय समितिको बैठकले विशेष गरी तराई–मधेशका जिल्लामा जनपरिचालन, सङ्गठन निर्माण एवं विस्तारलाई केन्द्रमा राखेर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । साङ्गठनिक संरचना कमजोर भएको भन्दै माओवादी केन्द्रले अभियान सञ्चालन गर्न लागिएको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभएको छ । सहरी क्षेत्रमा समेत पार्टीलाई थप विस्तार गर्ने उद्देश्य राखेर अभियान सञ्चालन गरिनेछ । माओवादी केन्द्रले मङ्गलबारदेखि विधान अधिवेशनको आयोजना गरेको छ । अधिवेशन सकिए पछि तराई–मधेश र सहरी क्षेत्रमा विशेष अभियान सञ्चालन गरिने छ ।
ओवादी केन्द्रले उत्तर दक्षिण र पूर्व–पश्चिम अभियानसमेत सञ्चालन गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकमा धारणा राख्ने नेताहरुले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’ले पार्टीलाई थप सबल बनाउन मद्दत पुगेको बताएका थिए । माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनःनिर्माणका साथै शहीद परिवार, बेपत्ता योद्धाका परिवार र घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो । सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो । गत भदौ १६ गतेदेखि शुरु भएको त्यो अभियान गत पुस १७ गतेसम्म चलेको थियो ।
माओवादी केन्द्रको केन्द्रीय समिति ४ सय ९ सदस्यीय छ । पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एक सय ९० जना छन् । सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेश समितिका पदाधिकारीलाई पनि बैठकमा आमन्त्रण गरिएको छ । माओवादी केन्द्रले फागुन १, २ र ३ गते राजधानीमा विधान सम्मेलन गर्दैछ । पार्टीका उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । समितिले प्रस्ताव गरेको विधानमाथि माओवादी केन्द्रको स्थायी समिति बैठकमा छलफल भइसकेको छ ।
माओवादी केन्द्रले सङ्घीयता, गणतन्त्र एवं समावेशी, समानुपातिक प्रतिनिधित्व लगायत परिवर्तनका मुद्धालाई थप संस्थागत गर्न अभियान चलाउने भएको छ । त्यसका लागि जनवर्गीय सङ्गठन र मुक्ति मोर्चाको सम्मेलन गर्ने भएको छ । जनवर्गीय सङ्गठन एवं मोर्चाको सम्मेलन गरेर पुनः गठन गर्ने निर्णय भएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । प्रवासमा रहेका नेपालीका लागि प्रशिक्षण र सङ्गठित गर्ने निर्णय गरिएको छ ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक क्षेत्रमा ठूलो परिवर्तन जरुरी रहेकाले त्यही अनुसार सरकारले काम गरिरहेको बताउनुभएको थियो । उहाँले नीति तथा कार्यक्रम र बजेटमा समेत क्रमभङ्गता गरिने उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले सामाजिक न्यायसहितको सुशासन र समृद्धि नै समाजवादको भ्रुण भएकाले सरकार सोही दिशामा केन्द्रीत रहेको स्पष्ट पार्नुभयो । सरकारले सुशासन र समृद्धिको पक्षमा इमान्दार भएर प्रयत्न गरेको उहाँको भनाइ थियो । भ्रष्टाचार नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चालेको उल्लेख गर्दै अध्यक्ष दाहालले अनियमितता अन्त्य नभएसम्म समाजवादको आधार तयार नहुने स्पष्ट पार्नुभयो ।
अभियानमा नखटिनेलाई कारबाही
माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष अभियान’ मा नखटिने पार्टीका नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ । अभियानमा नखटिने कार्यक्षेत्रमा नखट्ने कार्यकर्तालाई स्पष्टिकरण सोध्ने र कारबाहीको दायरामा ल्याउने पार्टीले निर्णय गरेको छ ।
प्रवक्ता सापकोटाका अनुसार शतप्रतिशत खटिने कार्यकर्तालाई प्रशंसापत्र वितरण गरिने छ । ७५ देखि ८० प्रतिशतसम्म खटिने कार्यकर्तालाई धन्यवादपत्र दिइनेछ । ५० देखि ५५ प्रतिशतसम्म खटिने कार्यकर्तालाई थप परिचालित हुन निर्देशन दिइने छ । पन्ध्र प्रतिशतभन्दा कम खटिनेलाई स्पष्टीकरण लिने, निलम्बन गरिनेलगायत कारबाही प्रक्रिया अगाडि बढाउने पार्टीले निर्णय गरेको छ । यस्तै, विशेष विधान सम्मेलन सम्पन्न भएपछि विशेष महाधिवेशनको तयारीमा जुट्ने माओवादी केन्द्रले निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ
- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? : प्रधानमन्त्री
- सप्तरीमा बस दुर्घटना, २ जनाको मृत्यु
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा