+

सदनमा दरिलो भूमिका खेल्न माओवादी सांसदहरुलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ ।

माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बिहान बसेको बैठकमा अध्यक्ष दाहालले पार्टीको नीति एवं सरकारले गरेका राम्रा कामबारे संसद्मा दरिलोरूपमा प्रस्तुत गर्न  नर्देशन दिनुभएको हो ।

‘सरकारका काम र पार्टीको नीतिअनुसार राम्रो तयारी गरी दर्बिलोसँग संसदमा प्रस्तुत हुनुहोस्’ प्रधानमन्त्रीले भन्नुभयो– सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अधिकतम प्रयास गरिएको छ । सरकारले राम्रो काम गरिरहेको छ । यी विषयमा सदनमा आफ्ना कुरा राख्नुहोस ।’

प्रधानमन्त्रीले आगामी आर्थिक वर्षमा परिणाम निस्किने गरी बजेट ल्याउने तयारी गरिएको जानकारी दिँदै ३ करोडभन्दा साना योजना केन्द्रमा नराखी तल्लो तहमा पठाइने उल्लेख गर्नुभयो । 

उहाँले गठबन्धनको साझा दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । ‘सङ्घीय लोकतन्त्र गणतन्त्र हामीहरुको सक्रियताले प्राप्त भएको व्यवस्था हो । यसको रक्षा गर्दै अगाडि बढ्नुको विकल्प छैन’ उहाँले भन्नुभयो । प्रधानमन्त्रले वर्तमान व्यवस्था विरोधी गर्नेहरुको विरूद्ध र व्यवस्थाको पक्षमा वैचारिक रूपले प्रस्तुत हुन समेत निर्देशन दिनुभयो । 

प्रधानमन्त्रीले सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण नयाँ ढङ्गले गर्न लागिरहेको बताउनुभयो । उहाँले सांसद र जनताले समेत बहस गर्ने र उनीहरूको कुरा पनि समावेश हुनेगरी नीति तथा कार्यक्रम र बजेट बनाइने उल्लेख गर्नुभयो । 

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक यही अधिवेशनबाट सहमतिमा पास गर्ने प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो– ‘सकेसम्म सहमतिबाट टिआरसी विधेयक टुङ्ग्याउँदा सबैको हितमा हुन्छ । सोही प्रक्रियामा जानुपर्छ ।’

बैठकमा सांसदहरुले चालु अधिवेशनमै सङ्क्रमणकालीन विषय टुङ्ग्याइनुपर्नेमा जोड दिनुभएको थियो । सांसदहरुले आगामी आर्थिक वर्षको बजेट रोजगारी सिर्जना र कृषि क्षेत्रमा केन्द्रित गर्न सुझाव दिनुभएको थियो । बैठकमा सांसद जनार्दन शर्मा, महेन्द्रबहादुर शाही, सुरेश आले मगर लगायतले धारणा राख्नुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै