+

धुलो र हिलोले नरोकेको खेलाडीको उत्साह

बागलुङ । पछिल्लो दुई वर्ष सुस्ताएको बागलुङको खेलकूद गतिविधिले फेरि तीव्रता पाउन थालेको छ । पुस लागेपछि स्थानीय तहले समेत राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता आयोजना गर्दा स्थानीय तहमै खेलको रौनकता बढेको हो । 

खेलको गतिविधि बढे पनि पूर्वाधार अभावको समस्या भने ज्यूँका त्यूँ नै छ ।  पूर्वाधार अभावकाबीच कति स्थानीय तहले साँघुरो मैदानमा खेल खेलाए भने कतिले सडकमै विद्यार्थी दौडाए । खेल पूर्वाधारको अभाव स्थानीय तहमा मात्रै होइन जिल्लास्तरमा समेत खड्किएको विषय हो । 

स्थानीय तहबाट छनोट भएर जिल्लास्तरीय प्रतियोगितामा आएका खेलाडी बाङ्गेचौर खेल मैदानमा उत्साहपूर्ण सहभागी जनाउँदै आएका छन् । तर उनीहरुले स्थानीय र जिल्लास्तरीय प्रतियोगितामा पूर्वाधारका हिसाबले खासै अन्तर पाउन सकेका छैनन् । 

माघ लागेसँगै बाङ्गेचौर खेल मैदानमा जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता, बागलुङ युनिटी सेभेन ए साइड प्रतियोगिता, अन्तर विद्यालय फुटबल प्रतियोगिता सम्पन्न भइसकेका छन् भने हाल बाङ्गेचौर खेल मैदानमा प्रेस चौतारी कप चलिरहेको छ । जिल्लाकै ठूलो खेल मैदानका रुपमा रहेको बाङ्गेचौरमा भने पूर्वाधारको अभावमा खेलाडीहरु धुलोे र हिलोमै खेल्न बाध्य छन् । 

जिल्लाको दुर्गम गाउँमा हिलो र धुलोे मैदानमा खेलेका विद्यालयस्तरका खेलाडीले जिल्लास्तरीय खेलकुद प्रतियोगितामा पनि पूर्वाधार अभाव भोग्न बाध्य छन् । खेलाडी भने धुलो र हिलोमै पनि उत्साहपूर्ण रुपमा सहभागिता जनाउँदै आएका छन् । 

आदर्श विद्यामिन्दर विद्यालयका फुटवल खेलाडी सोहम सुनार ठूलो पूर्वाधार नभए पनि कम्तीमा हिलो र धुलोमा खेल्न नपरे हुन्थ्यो भन्नुहुन्छ । ‘हामीले हरियाली दूबो रोपेकै मैदान चाहिन्छ भनेका छैनौँ, तर जिल्लास्तरीय खेलकुद प्रतियोगिता अलिक स्तरीय होस् भन्ने चाहेका मात्रै छौँ’ उहाँले भन्नुभयो । 

उहाँले बाङ्गेचौर खेलमैदानमा धुलोेले खेलाडी नै नचिनिने बताउनुभयो । ‘धुलोेले प्रष्टसँग देख्न सकिन्न, दमकलले धुलोे मारेपछि केही बेर सहज हुन्छ त्यसपछि अवस्था उस्तै हुन्छ’ सुनारले भन्नुभयो “कम्तीमा धुलो नउड्ने मैदानमा खेल्न पाएहुन्थ्यो र’

धुलोेमा खेलेका खेलाडीमा श्वाप्रश्वासको समस्या देखिने गरेको छ । फुटवल खेलाडी सङ्गम सेट्टी धुलोका कारण स्वास्थ्यमा समस्या हुने गरेको बताउनुभयो । बाङ्गेचौर खेलमैदानमा पछिल्लो दुई महिनायता  नियमित खेलका गतिविधि भइरहेका छन् । तर धुलोेका कारण खेलाडी र दर्शकले सास्ती भोग्दै आएका छन् । खेलमैदानमा खानेपानी, शौचालय र पोसाक परिवर्तन गर्ने कोठा समेत छैन ।

जिल्ला फुटबल सङ्घ बागलुङका कोषाध्यक्ष सूर्य लामिछानेले खेल पूर्वाधार अभावकाबीच खेलकुदका गतिविधिले तीव्रता पाएको बताउनुभयो । उहाँले खेल क्षेत्रबाट बागलुङले राष्ट्रिय तथा अन्तर्रािष्ट्रय खेलाडी जन्माए पनि पूर्वाधार भने अभाव रहेको बताउनुभयो । बाङ्गेचौर खेलमैदानलाई आधारभूत रङ्गशाला बनाउन बजेट आए पनि जग्गा व्यवस्थापनको समस्याका कारण बजेट फिर्ता भएको बताउनुभयो । उहाँले खेल पूर्वाधारमा स्थानीय तहले समेत लगानी बढाउनुपर्ने बताउनुभयो । 

‘फुटबल सङ्घले अस्थायी प्याराफिट बनाएको छ, मञ्चको व्यवस्था मिलाएको छ, तर मुख्य कुरा मैदान व्यवस्थापन गर्न नसकिएकै हो, हिउँदमा धुलाम्मे भएको मैदान बर्खामा घाँसले भरिन्छ’ लामिछाने भन्नुभयोÞ ‘धौलागिरी क्षेत्रलाई समेटेर यहाँ रङ्गशाला बनाउन सकेमा खेलाडीलाई राहत हुन्थ्यो, धुलोेमा लडिबुडी गर्दै खेलाडी मैदानमा जुँधिरहेका हुन्छौँ ।’ 

बाङ्गेचौर खेल मैदानलाई रङ्गशाला बनाउन काम थालिए पनि रुख कटान नहुँदा निर्माण भइसकेका पूर्वाधार अलपत्र छन् । नियमितजसो भइरहने प्रतियोगिताले खेल क्षेत्रमा उत्साह थपे पनि पूर्वाधारमा राज्यले लगानी नगरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काको भनाई छ । ‘मुख्य कुरा खेलमैदान हो, मैदानलाई कम्तीमा हरियाली बनाउन सकेमा ठूलो राहत हुन्छ’ खड्काले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै