+

टोड्के–धौलागिरी : डाँडामा प्रकृति, गाउँमा संस्कृति

म्याग्दी । अग्ला पहाड । घना जङ्गल । शान्त वातावरण । मनोरम दृष्यावलोकनसँगै गाउँको मौलिक आतित्यता टोड्के–धौलागिरी मानोरमा पदमार्गका मुख्य आकर्षण हुन् । गण्डकी प्रदेशको म्याग्दी र मुस्ताङ जोड्ने गरी टोड्के–धौलागिरी सांस्कृतिक पानोरमा पदमार्ग सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।

म्याग्दीको रघुगङ्गा र मङ्गला गाउँपालिका तथा बेनी नगरपालिकाको सीमा क्षेत्रलाई समेटिएको पर्यटकीयस्थल टोड्केदेखि मालिका धुुरी–ठाडाखानी–कुुइनेखानी–चौरखानी–घ्यासीखर्क–चिमखोलाको सेतिनी भ्याली–कछुवा ओडार–धौलागिरि आधार शिविर–कालीबराह हुँदै मुुस्ताङको लेते निस्कने गरी परिकल्पना गरिएको टोड्के–धौलागिरि पानोरमा पदमार्गको अध्ययन भइसकेको छ । 

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र रघुगङ्गा गाउँपालिकासँगको सहकार्य र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले एक साता लामो स्थलगत पदयात्रा गरेर यस पदमार्गको खोज, अनुसन्धान तथा प्रवद्र्धन गरेको हो ।

टोड्के–धौलागिरी पानोरमा पदमार्गको प्रारम्भिक अध्ययन तथा खोज गरिएको र यस क्षेत्रमा पदमार्ग, होटल, टि हाउस, क्याम्पिङका लागि खानेपानीलगायतका पूर्वाधार बनाउन सके नियमितरुपमा पर्यटक भित्र्याउन सकिने सम्भावना भेटिएको टान गण्डकीका उपाध्यक्ष तथा अध्ययन टोलीका संयोजक कृष्णप्रसाद आचार्यले बताउनुभयो । 

‘यो पदमार्गको सम्भावना धेरै छ, गाउँको मौलिक संस्कृति र रहनसहनदेखि छोटो अवधिमा धौलागिरि हिमालको नजिकै पुग्न सकिन्छ, मुख्य कुरा आधारभूत पर्यटन पूर्वाधार बनाउनतर्फ अब जोड दिनुपर्छ’ आचार्यले भन्नुभयो । डाँडा, घना जङ्गल र शान्त वातावरणमा मनोरम हिमशृङ्खलाको अवलोकन गर्दै यात्रा गर्न पाउनु यस पदमार्गको मुख्य आकर्षण हुन् ।

पर्यटनका लागि आवश्यक प्रकृति, संस्कृति र ‘एडभेन्चर’ तीनवटै पक्ष यस पदमार्गको मुख्य आकर्षण हुनुले पनि यसलाई सञ्चालनमा ल्याउन सके पर्यटकको बसाई लम्बाउनेदेखि स्थानीयको आयआर्जन सुधारमा टेवा पुग्ने उपाध्यक्ष आचार्यको विश्वास छ । ‘डाँडाकाँडामा पुग्दा मनमोहक प्रकृति र गाउँमा पुग्दा मौलिक संस्कृति भेटिने यस्ता पदमार्ग कमै छन्, यसको प्रवद्र्धनको अगुवाइ टानले गर्छ, पूर्वाधार बनाउन सरकारको तत्परता चाहिन्छ’ उहाँले थप्नुभयो । 

गण्डकी प्रदेशका मुख्य पर्यटकीय पदमार्ग सडक सञ्जालले विस्थापित बन्न थालेपछि टानले नयाँ पर्यटकीय पदमार्गको खोजी र अध्ययन शुरु गरेको हो । टोड्के–धौलागिरि पानोरमा पदमार्गलाई लामो र छोटो दूरीमा आवश्यकताअनुसार यात्रा गर्न सकिने भएकाले पनि यो पदमार्गमा पर्यटन विकासको सम्भावना बढी छ । त्यसअघि टानकै नेतृत्वमा पहिचान गरिएको धौलागिरि ‘आइसफल’ पदमार्गमै जोड्ने गरी टोड्के–धौलागिरी पानोरमा पदमार्गलाई रेखा्ङ्कन गरिएको छ । 

सडक सञ्जालको पहुँचले पदमार्ग मासिनु र पर्यटकको पदयात्रा छोट्टिनुले पर्यटन क्षेत्र सङ्कटमा पर्दै गएको अवस्थामा टोड्केदेखि धौलागिरी आधार शिविर हुँदै मुस्ताङको लेते जोड्ने गरी पहिचान भएको यस पदमार्गले पर्यटन क्षेत्रमा नयाँ सम्भावनाको उजागर भएको टान गण्डकीका सचिव तीर्थराज सुवेदीले बताउनुभयो । 

‘मनोरम हिमाल र प्राकृतिक सुन्दरताको अवलोकन, मौलिक कला र संस्कृतिको मनोरञ्जन लिन पाउनु यस पदमार्गको प्रमुख आकर्षण रहेछन्, हामीले यस पदमार्गको सम्भावना अधिक देखेका छौँ, पर्यटन पूर्वाधार बनाउन स्थानीय सरकार र प्रदेश सरकारले ध्यान दिन जरुरी छ’ उहाँले भन्नुभयो । यस पदमार्गले समेटिएका बस्तीमा बसोबास रहेका मगर र छन्त्याल समुदायको मुख्र्यौली मादले मारुनी नाच, यानीमाया, सालैजो, थाली नाच, ग्रामीण जीवनशैली र रहनसहन पर्यटकको लागि थप आकर्षणको रुपमा रहेका छन् ।

पदमार्गले समेटिएका बस्ती ढुङ्गाले छाएर बनाएका परम्परागत घरले चिटिक्क मिलेर बसेको हुँदा यो क्षेत्र परम्परागत ग्रामीण जीवनशैलीको अध्ययन गर्ने थलोको रुपमा समेत विकास गर्न सकिने पर्यटन व्यवसायी विश्वराज अधिकारी बताउनुहुन्छ । विभिन्न वन्यजन्तु, वनस्पति, पन्छी, ताल, झरना, धार्मिकस्थल लगायत यस पदमार्गका थप आकर्षणको रुपमा छन् । टोड्केबाट शुरु हुने यो पदमार्ग घ्यासीखर्क पुगेपछि धौलागिरी सेञ्चुरी र धौलागिरि आइसफल पदमार्गसँग जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै