+

सुपर सिक्समा आज नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै

काठमाडौँ । आईसीसी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर सिक्सको खेलमा आज (बुधबार) नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणमा अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जितसहित सुपर सिक्समा पुगेको नेपालले सुरपर सिक्समा आज बंगलादेशसंग खेल्न लागेको हो । 

नेपाल र बंगलादेश बीचको खेल दक्षिण अफ्रिकाको बफेलो पार्कमा आज दिउसो नेपाली समय अनुसार १ः४५ बजे शुरु हुनेछ । यस्तै, नेपालले शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । यद्यपि नेपालका लागि सुपर सिक्स चरण पार गरेर सेमिफाइन पुग्न भने निकै कठिन छ । 

सुपर सिक्स खेल्ने सबै १२ टोलीको टुङ्गो लागिसक्दा समूह चरणको नतिजा अघिल्लो चरणको यात्राका लागि महत्वपूर्ण हुनेछ । राम्रो नतिजासहित समूह चरण पार गरेका टोलीहरु नै सेमिफाइनलका लागि मुख्य दाबेदार देखिएका छन् । सुपर सिक्सको समूह एकमा भारत, बंगलादेश, न्युजिल्यान्ड, पाकिस्तान, नेपाल र आयरल्यान्ड छन् । अर्को समुहमा अस्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बाब्वे छन् । दुवै समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् ।

दोस्रो चरणमा दुई खेल खेल्न लागेको नेपाललाई सेमिफाइनल भने कठिन छ । समूह चरणमा नेपालले पराजित गरेको अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएपछि नेपाल अंकविहीन छ । आईसीसीको नियमअनुसार समूह चरणमा आफूले पराजित गरेको टोली सुपर सिक्समा पुगे मात्र उसले प्राप्त गरेको अंक अघिल्लो चरणमा गणना हुन्छ । नेपालसँग पराजित अफगानिस्तान अघि बढ्न नसकेपछि नेपाललाई घाटा लागेको हो । नेपालले सुपर सिक्सका दुवै खेल जिते पनि सेमिफाइनल पुग्न अन्य टोलीको नतिजामा भर पर्नु पर्नेछ । न्युजिल्यान्ड र बंगलादेशसँग २-२ अंक छ ।

सेमिफाइनल सम्भावना न्युन भए पनि नेपाल सुपर सिक्समा छिमेकी राष्ट्र बंगलादेश र भारतलाई पराजित गर्ने लक्ष्यमा हुनेछ ।

सुपर सिक्समा नेपालको पहिलो प्रतिद्वन्द्वी बंगलादेश बलियो टिम हो । आठ वर्षअघि बंगलादेशसँगको भेटमा नेपाल ९ विकेटले पराजित भएको थियो । बंगलादेश सन् २०२० को उमेर समूहमा बंगलादेश विश्वविजेता हो । भर्खरै मात्र एसिया कप जितेर बंगलादेशका खेलाडी आत्मविश्वासले भरिएका छन् । उसको टिममा आठौं नम्बरसम्म पनि उत्कृष्ट ब्याटिङ क्षमता भएका खेलाडी छन् । मध्यक्रमका मोहम्मद जेम्स, अशिकुर रहमान र अरिफुल स्लाम बंगलादेशका सबैभन्दा विश्वासिला ब्याटर सावित हुँदै आएका छन् ।

नेपाल, सुपर सिक्समा पुगिसकेपछि कप्तान देव खनालले ब्याटिङमा देखिएका केही कमजोरीलाई सुधारेर जुनसुकै टिमलाई हराउन सक्ने विश्वास व्यक्त गरेका थिए । जारी प्रतियोगितामा नेपालका फास्ट र स्पिन बलरहरुको प्रदर्शन पनि दर्शनीय छ । शीर्ष क्रमका ब्याटरले कन्सिस्टेन्ट प्रदर्शन गर्न सकेका छैनन् । उनीहरुले राम्रो प्रदर्शन गर्न सके तथा गुल्सन झा फर्ममा फर्किए नेपाली युवाहरुले सन् २००२ विश्वकपको नतिजा दोहोर्‍याउन सक्नेछन् । त्यतिबेला नेपालले बंगलादेशलाई २३ रनले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै