
ललितपुर । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानको मर्मअनुसार सङ्घीयता कार्यान्वयन गर्न तीनवटै तहका सरकारबीच सहयोग, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ ।
सङ्घीय संसद् सचिवालय र गैरसरकारी संस्था फेड्रलिजम एण्ड लोकलाइजेशन सेन्टरद्वारा ‘सङ्घीयता, राष्ट्रियसभा र आगामी कार्यभार’ विषयमा आज यहाँ आयोजित छलफलमा उहाँले सङ्घीयतालाई सुदृढ बनाउन आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो– ‘राष्ट्रियसभालाई प्राप्त जिम्मेवारी सक्रियाताका साथ पूरा गर्ने, कमजोरी सच्च्याउँदै उपलब्धिको रक्षा हुनेछ ।’ उहाँले जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन प्रणालीलाई सुदृढ तुल्याउन संसद् र तीन तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले लोकतन्त्र र सङ्घीयतालाई सबल बनाउन संविधानले दिएका जिम्मेवारी सबैले समयमै पूरा गर्न आवश्यक छ भन्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सङ्घीयता कार्यान्वयनमा देखिएका कमीकमजोरी सुधार गरी सुशासन गर्ने, राष्ट्रिय एकतालाई सुदृढ तुल्याउने र जनसहभागितामा आधारित समावेशी विकासलाई कार्यान्वयनमा सबैको साझा धारणा आवश्यक भएको बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) का नेता वेदुराम भुसालले राष्ट्रियसभाले सङ्घीयता सबलीकरणका लागि विधिको शासन पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायले सङ्घीयता कार्यान्वयन गर्न आवश्यक कानुन शीघ्र निर्माण गर्नुपर्ने बताउनुभयो । सेन्टरका अध्यक्ष खिमलाल देवकोटाले सङ्घीयता कार्यान्वयनसम्बन्धी संस्थाका निर्णय कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रियसभाका पूर्वसदस्य प्रकाश पन्थले जनप्रतिनिधिको पनि प्रतिनिधिमूलक थलोका रुपमा रहेको राष्ट्रियसभा र प्रदेशसभा सङ्घीयताको मेरुदण्ड हो भन्नुभयो । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले कुनै पनि शासन प्रणाली आफँैमा असल वा खराब नभई त्यसको नेतृत्व गर्ने व्यक्तिको कार्यशैलीमा त्यो निर्भर रहने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति