+

गृह मन्त्रालय र केयूबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालय (केयू) को मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा दीपक कुँवरले समझदारीपत्रमा आज हस्ताक्षर गर्नुभएको हो । 


त्यस अवसरमा गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालयको प्रयासमा आत्महत्याका घटानालाई नियन्त्रण र न्यूनीकरणमा सहयोग पुग्ने धारणा राख्नुभयो । गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालयको प्रयासमा एक वर्षमा आत्महत्याका घटना ठूलो सङ्ख्यामा घट्ने गृहमन्त्री लेखकले विश्वास व्यक्त गर्नुभयो ।

‘आत्महत्याको विषय गम्भीर छ । प्रत्येक दिनको रेकर्ड हेर्दा म आत्तिन्छु, डराउँछु । पछिल्लो २४ घण्टामा मात्र ३७ जनाले आत्महत्या प्रयास गरेका छन् । जसमध्ये ११ जनाको मुत्यु भएको छ । बाँच्न सफल २६ जनाले जुनसुकै बेला पनि आत्महत्या गर्ने खतरा हुन्छ’ उहाँले भन्नुभयो । 

आत्महत्याको कारण, कारक र निदानको उपायको खोजीका लागि काठमाडौँ विश्वविद्यालयले अध्ययन र अनुसन्धान गर्ने उहाँको भनाइ छ । ‘नेपाल प्रहरीले पनि आत्महत्या न्यूनीकरण कार्ययोजना २०८१ जारी गरेको छ । आत्महत्या न्यूनीकरण गर्नेमा हामीले काम राखेकै छौँ । तर यत्तिले पुगेन । थप अगाडि बढ्नुपर्यो । त्यसका लागि काठमाडौँ विश्वविद्यालयलेसँग मिलेर काम गर्दा उपलब्धि प्राप्त गर्छौं’  गृहमन्त्री लेखकले भन्नुभयो– ‘आत्महत्या गर्ने सम्भावना भएका मानिस र आत्महत्या उद्योग गरे पनि मृत्यु नभएका मान्छेको पहिचान गरेर प्रहरीले काठमाडौँ विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागलाई जानकारी गराउँछ ।’

उहाँका अनुसार मानसिक स्वास्थ्य विभागले टेलिमेडिसिनमार्फत त्यस्ता मान्छेलाई मनोपरामर्श दिनेछ । आत्महत्या नियन्त्रण र न्यूनीकरणसम्बन्धी मानसिक स्वास्थ्य विभागले नेपाल प्रहरीलाई पनि आधारभूत तालिम दिने गृहमन्त्री लेखकले बताउनुभयो । केही समयपछि आत्महत्यासम्बन्धी एउटा ‘एप’ विकास गरेर सबै कुरालाई एपमा  समावेश गर्ने योजना रहेको पनि उहाँको भनाइ छ । 

आत्महत्या न्यूनीकरणबारे तीन महिनामा आवधिक मूल्याङ्कन गर्न गृहमन्त्री लेखकले निर्देशन दिनुभयो । ‘तीन महिनामा नेपाल प्रहरीले आत्महत्याको प्रयास गरेका कति मान्छेलाई मानसिक स्वास्थ्य विभागलाई जानकारी गरायो । कति जनालाई मानसिक स्वास्थ्य विभागले मनोपरामर्श दियो । हामीले कति मान्छेलाई जोगाउन सक्यौँ भनेर आवधिक रुपमा मूल्याङ्कन गर्नुपर्छ’  उहाँले भन्नुभयो ।

विश्वविद्यालयका मानसिक स्वास्थ्य विभागका प्रमुख कुँवरले गृह मन्त्रालयसँग भएको सम्झौताले आत्महत्या न्यूनीकरणका लागि काठमाडौँ बाहिर पनि काम गर्ने अवस्था बनेको बताउनुभयो । ‘टेलिमेडिसियनमार्फत दूरदराजसम्म पनि पुग्न सकिन्छ । गृह मन्त्रालयसँग मिलेर काम गर्दा राम्रो परिणाम दिन सकिन्छ’  उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट