
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जनप्रतिनिधिले गर्ने कामलाई संवैधानिक हिसाबले व्यवस्थित गर्ने जिम्मेवारी संसद् सेवाका कर्मचारीको भएको उल्लेख गर्नुभएको छ ।
मन्त्री चौरसियाले अठारौँ सङ्घीय संसद् सेवा दिवसका अवसरमा आज आयोजित समारोहमा गर्दै निजामती सेवा ऐन संशोधनका क्रममा संसद् सेवाका कर्मचारीको भावनालाई सम्बोधन गरिने बताउनुभयो ।
संविधान कार्यान्वयनमा आवश्यक ऐन कानुनलाई अद्यावधिक गर्न सरकार केन्द्रित भएको जानकारी दिँदै मन्त्री चौरसियाले कानुन निर्माणमा संसद् र सचिवालयको कर्मचारीको भूमिका थप बढेर गएको उल्लेख गर्नुभयो ।
उपसभामुख इन्दिरा रानाले जनप्रतिनिधि र संसद् सचिवालयका कर्मचारीबीच अन्योन्याश्रित सम्बन्ध रहेको चर्चा गर्दै दुई पक्षको एकताबद्ध प्रयासबाट मात्रै उल्लेख्य परिणाम हासिल गर्न सकिने बताउनुभयो । राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरेले संसद् सेवालाई प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारी एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
मुख्यसचिव एकनारायण अर्यालले संसद् सेवाका कर्मचारीको मनोबल उच्च राख्न, संसदीय गतिविधिमा बढी जिम्मेवार बनाउन र क्षमता अभिवृद्धिमा सरकार गम्भीर रहेको जनाउँदै निजामती सेवा विधेयकमा संसद्का कर्मचारीको वृत्तिविकासलाई उचित ढङ्गबाट सम्बोधन गरिने विश्वास दिलाउनुभयो ।
मुख्यसचिव अर्यालले कानुन निर्माण, सरकारलाई जनताप्रति उत्तरदायी बनाउँदै असल शासन कायम गर्न र सरकारलाई खबरदारी गर्न संसद्को महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेलवासेले कर्मचारी मैत्री र संसद् सेवालाई प्रभावकारी बनाउने योजना ल्याउन आग्रह गर्दै डेढ दशकदेखि संशोधन हुन नसकेका कानुन र छरिएर रहेका ऐनलाई एकीकृत गरी सेवामैत्री कानुन बनाउन सुझाव दिनुभयो ।
संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेले संसद् सेवा दिवसका अवसरमा सप्ताहव्यापी रूपमा विविध कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । यसवर्ष संसद् सेवा दिवसको मुख्य नारा ‘लगनशीलता र कर्तव्यनिष्ठताः संसद् सेवाको प्रतिष्ठा’ तय गरिएको थियो । कार्यक्रममा सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालले संयुक्त रूपमा सचिवालयले प्रकाशन गरेको स्मारिका विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा उपसचिव ओमबहादुर कार्कीलाई सर्वोत्कृष्ट, कम्प्युटर प्रोगामर करणबहादुर भाट उत्कृष्ट तथा सवारी चालक शङ्कर भण्डारी र माली बिन्दा भट्टराईलाई संसद् सेवा पुरस्कार प्रदान गरिएको थियो ।
समारोहमा संसद् सेवामा २५ वर्ष निरन्तर सेवा गर्नुभएका उपसचिवद्वय उदयकुमार भण्डारी र दशरथ धमला, प्राविधिक अधिकृत केशवराज भट्टराई, शाखा अधिकृत नारायणबहादुर कार्की, ओभरसियर निलम शाह र हलुका सवारी चालक (पाँचौैँ) सानुकाजी महर्जनलाई दीर्घसेवा पदक र प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा सेवा दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा उत्कृष्ट भएकालाई सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति