
कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार (सान) लगाउने कार्य गर्नुहुन्छ । चालिस किलोमिटर साइकल चढेर दैनिकजसो गाउँ, सहरबजार पुगेर यस्तो काम गर्नु उहाँको दिनचर्या नै हो ।
यही कामबाट आफ्नो घरखर्च सहज रूपमा चल्दै आएको उहाँले बताउनुभयो । साइकलको डण्डीमा जडान गरिएको सान (धार) लगाउने पत्थरमा चक्कु, खुकुरी, चुलेसी, कैँची, बञ्चरो, तरवारलाई घोटेर उहाँले धारिलो बनाउनुहुन्छ ।
तरकारी, मासु, काठ काट्ने फलामका औजारमा धार लगायवापत रानाले दैनिक करिब रु एक हजार जति आम्दानी हुने गरेको सुनाउनुभयो । ‘बिहानको नास्ता गरेर घरबाट निस्किन्छु । साँझ अबेर मात्रै घर फर्कने गरेको छु, दिउँसोको खाना बजार क्षेत्रमै खाने गर्छु’ उहाँले भन्नुभयो । रानाले कहिलेकाही धनगढीदेखि महेन्द्रनगर बजारसम्म पुगेर यस्तो कार्य गर्ने गरेको बताउनुभयो ।
खाना खर्च कटाएर दैनिक रु सात सय जति बचत हुने गरेको उहाँ बताउनुहुन्छ । सान लगाउनेकार्य रानाले २० वर्षकै उमेरदेखि गर्दै आउनुभएको हो । पहिले रानाले भारतमा यही काम गरेर घर खर्च चलाउने गरेको समेत बताउनुभयो । स्वदेश फर्केर विवाह गरेपछि यही कार्यलाई निरन्तरता दिएको र यसैबाट आउने आम्दानीबाट पाँच छोराछोरीको लालनपालन गरिरहेको रानाको भनाइ छ । ‘घरखर्च यसैबाट आएको कमाईले धानिदै आएको छ । मुक्तकमैया पुनःस्थापना कार्यक्रमअन्र्तगत पाइएको घरबासको जग्गा मात्रै छ । अन्न, लुगाफाटो, औषधोपचार यसबाटै आएको कमाइले गरिरहेको छु’ उहाँले भन्नुभयो– ‘पछिल्लो समय त छोराले ज्यालामजदुरी गरेर सघाइरहेका छन् । हामी सबैको आम्दानी घर खर्चमै सकिन्छ ।’
विसं २०५८ सालमा श्रीमतीको देहावसान भएपछि आमाको भूमिकासहित आर्फैले एकल अभिभावकत्व निर्वाह गर्नुपरेको रानाले बताउनुभयो । ‘कमाई गर्ने माध्यम थिएन, पर्याप्त अन्न फल्ने खेत पनि छैन, पहिलेदेखि नै सिकेको सीप भएकाले यसैलाई निरन्तरता दिँदै आएको छु उहाँ भन्नुहुन्छ– ‘अहिले छोरा पनि कमाउने भएकाले केही सहज भएको छ । बुढेसकाल लागे पनि पहिलेदेखि नै काम गरिरहेकाले ग्राहकले पनि रुचाउने गरेका छन् । हतियारमा धार लगाएपछि पैसा दिन कसैले पनि कन्जुस्याइँ गर्दैनन् । बरु बुढेसकालमा पनि मेहनत गरेर खाने बड्डा भनेर थपेरै दिन्छन ।’
रानाले चक्कु, हसिया, चुलेसीलगायतमा धार लगायवाफत २०, खुकुरी, बञ्चरोमा धार लगाएवापत र ५० र तरबारको एक सय रुपैयाँ ज्याला लिने गर्नुभएको छ । पहिला महिनाको ३० हजार रुपैयाँसम्म पनि कमाइ हुने गरे पनि साइकल टाढासम्म चलाउन नसक्ने भएकाले १५ हजारदेखि २० हजार रुपैयाँसम्म कमाई हुने गरेको उहाँले जानकारी दिनुभयो । ‘बसेरभन्दा गरेर खाँदाको आनन्द बेग्लै हुन्छ । छोरा बुहारीसँग हात फैलाएर माग्नु परेको छैन, बरु उनीहरूलाई सहयोग गर्छु’ रानाले खुशी हुँदै भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति