
काठमाडौँ । नेपाल नर्सिङ सङ्घको २० औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि तीन समूहले उम्मेदवारी घोषणा गरेका छन् । संयुक्त प्रगतिशील समूह, संयुक्त पेसागत समूह र स्वतन्त्र समूहले आ–आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
प्रगतिशील समूहबाट चन्द्रकला शर्मा, पेसागतबाट गङ्गाकुमारी थापा र स्वतन्त्रबाट वसन्ती थापाले उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा रहनुभएको छ । सङ्घको आगामी मङ्सिर २८ गते १४ सदस्यीय कार्यसमिति र तीन सदस्यीय नर्सिङ परिषद्को निर्वाचन हुँदैछ । निर्वाचनमा देशभरिका २० स्थानमा १५ हजार पाँच सय ४९ जना मतदाताले सहभागिता जनाउने नर्सिङ सङ्घले जनाएको छ ।
प्रगतिशील समूहकी अध्यक्ष पदका उम्मेदवार शर्माले आफ्नो समूहसँग सङ्घलाई व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन गर्ने योजनासहितको लक्ष्य रहेको बताउनुभयो । उहाँले नर्सिङ पेसामा रहेका समस्या समाधान गरी श्रमको उच्च सम्मान गर्ने, कामअनुसारको पारिश्रमिक उपलब्ध गराउनेमा प्रगतिशील समूह प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
शर्माले सुत्केरी भएको दुई वर्षसम्म र ५० वर्ष नाघेका नर्सलाई रात्रिकालीन ‘ड्युटी’ गर्न नलगाउने नीतिगत व्यवस्थाका लागि पहल गर्ने, नर्स तथा महिला कार्यरत रहेका सबै संस्थामा स्तनपान कक्ष र शिशु स्याहार केन्द्र बनाउनेलगायत २८ बुँदे प्रतिबद्धता घोषणा गर्नुभयो ।
प्रगतिशील समूहबाट वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा, उपाध्यक्षमा बबिता घिमिरे, महासचिवमा देवकाकुमारी आचार्य, सचिवमा बेली पौडेल, कोषाध्यक्षमा तुलसादेवी अधिकारी रहनुभएको छ । सदस्यमा मेनका पोखरेल, हरिप्रसाद कोजु, कला बस्याल गुरुङ, कोपिला विश्वकर्मा, पासपति अग्रवाल, सवेनाज वेगम, जानुका मोक्तान, शान्तिकुमारी विश्वकर्मा रहनुभएको छ । नर्सिङ परिषद् सदस्यमा राधादेवी आचार्य, सुमिता पाठक र राजदेवी अधिकारी रहनुभएको छ ।
पेसागत समूहकी अध्यक्ष पदकी उम्मेदवार थापाले विदेश पलायनको अवस्थालाई रोक्ने तथा स्वास्थ्य ऐनमा भएका विभेद्कारी व्यवस्थालाई सुधार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्रमा दक्ष जनशक्तिलाई पनि न्यून पारिश्रमिकमा काम लगाइएको पाइएको भन्दै श्रमको सम्मान हुने किसिमले पारिश्रमिक उपलब्ध गराउन आफूले पहल गर्ने बताउनुभयो ।
पेसागत समूहबाट वरिष्ठ उपाध्यक्षमा कल्पना श्रेष्ठ जोशी, उपाध्यक्षमा मनिषा कोइराला, महासचिव मीनाकुमारी कार्की, सचिवमा जया मिश्रा, कोषाध्यक्षमा रमादेवी पहाडी रहनुभएको छ । सदस्यमा सानुकुमारी विष्ट, रुपादेवी थापा, रति पक्वाङ्ग, निशा विक, अञ्जु ठाकुर, जाफ्रे आलम अन्सारी, सफला बुढाथोकी र सीताकुमारी प्याकुरेल र परिषद् सदस्यमा ज्ञानु महर्जन, मित्रा देवकोटा र सरला केसी रहनुभएको छ ।
स्वतन्त्र समूहकी अध्यक्ष पदकी उम्मेदवार थापाले पेसागत क्षमता तथा दक्षता बढाउँदै सेवाको गुणस्तर विकासमा आफूले ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै