
भैरहवा । रुपन्देही क्रिकेट सङ्घले चालु आर्थिक वर्षमा ७ जना खेलाडीलाई मासिक सुविधा दिने निर्णय गरेको छ ।
खेलाडी कल्याणकारी कोषअन्तर्गत आर्थिक वर्ष २०८१/८२ का लागि मासिक ५ हजार रुपैयाँ दिने गरी सात जना खेलाडी छनोट गरिएको सङ्घका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार क्रिकेट खेलमा निरन्तर लागेका खेलाडीलाई पलायन हुनबाट रोक्नु कल्याणकारी कोषको मुख्य उद्देश्य हो । मासिक सुविधा पाउने खेलाडीमा सिनियरतर्फ दुई जना, यू–१९ तर्फ दुई र महिला क्रिकेट खेलाडीतर्फ तीन जना हुनुहुन्छ ।
‘खेलाडीको संरक्षण गर्ने भनेर कल्याणकारी कोष खडा गरेका थियौँ’ अध्यक्ष थापाले भन्नुभयो– ‘कोषमा उपलब्ध रकमबाट खेलाडी संरक्षण रकम प्रदान गर्दै आइरहेका छौं ।’ सङ्घका अनुसार चालु आर्थिक वर्षमा सिनियरतर्फ कृष्ण कार्की र अजय चौहानले मासिक पाँच हजार रुपैयाँ सुविधा पाउनुभएको हो ।
यस्तै, यू– १९ तर्फ सन्तोष यादव र रमेश कुर्मीले यो सुविधा प्राप्त गर्दा महिलातर्फ कृति अधिकारी, सन्ध्या चापागाईं र एञ्जिला पाठकले मासिक सुविधा पाउनुभएको छ ।
थापाका अनुसार खेलाडी कल्याणकारी कोषका लागि रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अरुण शाही र वडा नम्बर २ का वडाध्यक्ष जनार्दन यादवले आफूले पाउने पारिश्रमिक वापत कल्याणकारी कोषमा रकम उपलब्ध गराउँदै आउनुभएको छ ।
‘हामीले दुईजना वडाध्यक्षले उपलब्ध गराएको रकम र रुपन्देही क्रिकेट एकेडेमीबाट हुने आम्दानीबाट खेलाडीलाई मासिक सुविधा दिइरहेका छौँ’ थापाले भन्नुभयो– ‘सहयोगी दाता थपिँदै जानुभएको छ । यसमा थप रकम जुटाउन पनि हामी लागिपरेका छौँ ।’
अध्यक्ष थापाका अनुसार कल्याणकारी कोषको रकम वृद्धि गर्न सकेमा कम्तिमा सिनियर, यू–१९ र महिला टिमका सबै सदस्यलाई मासिक सुविधा दिन सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति