+

तयारी बिना आयोजना छनोट गर्न हुन्नः मन्त्री ज्वाला

काठमाडौँ ।  भौतिक पूर्वाधार तथा यातायामन्त्री प्रकाश ज्वालाले आवश्यक तयारी बिना आयोजना छनोट गर्न नहुने बताउनुभएको छ ।  राष्ट्रिय गौरवका आयोजना आवश्यक तयारी बिना छनोट गर्ने प्रवृत्तिका कारण समस्या आउने गरेको उहाँको भनाई छ ।

मन्त्री ज्वालाले  राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बिहीबारको बैठकमा राष्ट्रिय गौरव हुन खालको आयोजना हो वा होइन आवश्यक अध्ययन र बजेटको सुनिश्चितता नगरी आयोजना घोषणा हुने भएकाले कार्यान्वयनमा समस्या देखिएको उल्लेख गर्नुभएको हो  । ‘गौरवका आयोजना हचुवाका भरमा छनोट भएका छन्’ उहाँले भन्नुभयो– ‘राष्ट्रिय गौरवको हैसियत नभएका आयोजना पनि राष्ट्रिय गौरवमा राख्ने प्रवृत्ति छ । कतिपय  कोषहरु र सामान्यखालका आयोजना पनि राष्ट्रिय गौरवका आयोजनामा राखिने गरेको छ ।’

यसपटक प्रधानमन्त्रीको निर्देशनबमोजिम राष्ट्रिय योजनाआयोगका उपाध्यक्ष, मुख्यसचिवसहितको टिम बनाएर राष्ट्रिय गौरवका आयोजनाको पुनःमूल्याङ्कन गर्ने र मापदण्ड तोक्नेगरी आयोजना वर्गीकरणको मापदण्ड पनि पास गरिसकेको उहाँले जानकारी दिनुभयो । मापदण्डअनुसार संघ, प्रदेश र स्थानीय तहले कुन तहका आयोजना कार्यान्वयन गर्नुपर्ने भन्ने मापदण्ड तोकिएको छ । मापदण्डमा ५० अर्ब रुपैयाँ माथिका आयोजनालाई राष्ट्रिय गौरवका आयोजना १० अर्ब बढी लागत पर्ने आयोजनालाई रुपान्तरणकारी आयोजनाको रूपमा परिभाषित गरिएको छ ।

‘घटाउनुपर्ने आयोजनालाई घटाउने, केही थप्नु पनि पर्छ उदाहरणका रूपमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानजस्ता आयोजनालाई प्राथमिकता दिनुपर्छ’ मन्त्री ज्वालाले भन्नुभयो । भौतिक मन्त्रालय मातहतका चारवटा राष्ट्रिय गौरवका आयोजना छन् । हुलाकी लोकमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोर र रेल्वे तथा मेट्रो विकास आयोजना छन् । मुलुकमा हाल २७ वटा आयोजना राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत छन् ।

दक्ष जनशक्तिको अभाव, जनशक्ति आपूर्तिमा समस्या, प्रशानिक व्यक्तित्व र आयोजना प्रमुख फेरिँदा पनि आयोजनामा असर पर्ने गरेको, बजेटको सुनिश्चितता नभई ठेक्का लगाइदिने प्रवृत्तिले खर्बौँको दायित्व सिर्जना भएको मन्त्री ज्वालाले उल्लेख गर्नुभयो । उहाँले सार्वजनिक खरिद ऐनलाई संशोधन गर्न ऐनको मस्यौदा बनाई चाँडै मन्त्रिपरिषद्मा पेस गरिने बताउनुभयो । साथै उहाँले विकास निर्माणसँग जोडिका ऐन, कानुनलाई सहज, सरल र समयसापेक्ष बनाउन जरुरी रहेको बताउनुभयो ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले मन्त्रालय राष्ट्रिय गौरवका आयोजनाको काम प्रभावकारीरूपमा अघि बढेको बताउनुभयो । उहाँले पूर्व–पश्चिम रेलमार्गलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिए पनि प्राथमिकता दिएर बजेट विनियोजन नभएको उल्लेख गर्दै आयोजना बनाउने हो भने बजेट व्यवस्था गर्न जरुरी भएको उल्लेख गर्नुभयो ।

बैठकमा सांसदहरूले राष्ट्रिय गौरवका आयोजनालाई प्रभावकारी रूपमा अगाडि बढाउन र निर्माणाधीन आयोजना चाँडो सम्पन्न गर्न, उत्तर–दक्षिण करिडोर चाँडो निर्माण गर्न मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँहरुले सडक विस्तारसँगै बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षासम्बन्धी मापदण्डलाई कडाइका साथ पालना गर्न सरोकारवाला निकायलाई आग्रह गर्नुभयो ।

समितिका सभापति दिलकुमारी थापा रावल ९पार्वती०ले राष्ट्रिय गौरवका आयोजनाको अपेक्षित कार्यप्रगति हुन नसकेको, नीतिगत र संरचनागत सुधार गरेर आयोजना छनोटको स्पष्ट मापदण्ड बनाएरमात्रै राष्ट्रिय गौरवका आयोजना घोषणा गरिनुपर्ने बताउनुभयो ।

समितिले २४ वटा राष्ट्रिय गौरवका आयोजनाको अध्ययन गरेर चुनौती र प्रगतिको प्रतिवेदन तयार गरेर सबै मन्त्रालयलाई  पठाएको उहाँले जानकारी दिनुभयो । समितिले भौतिक मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे मन्त्री, सचिव र मातहत निकायका प्रमुखलाई बोलाएर छलफल गरेको हो ।  कुमार दसौदी, गोपीबहादुर सार्की अक्षामी, रामचन्द्र राई र राजेन्द्रलक्ष्मी गैरेले पनि धारणा राख्नुभयो ।

सडक सुरक्षा ऐन बन्दै
सरकारले बढ्दो सडक हुने दुर्घटना न्यूनीकरण गर्न र सडक सुरक्षाका लागि मापदण्ड बनाउने भएको छ ।  प्रयोजनका लागि सडक सुरक्षा विधेयकको मस्यौदा तयार भई हिउँदे अधिवेशनमा पेश गर्ने योजना भौतिक पूर्वाधारमन्त्री ज्वालाले जानकारी दिनुभयो । 

उहाँले कानुन निर्माणसँगै सवारीसाधन मापदण्डको कडाइकासाथ पालना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । मन्त्री ज्वालाले सडक सुरक्षा कायम गर्न र सवारी दुर्घटना न्यूनीकरणका लागि मन्त्रालय गम्भीर रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै