
अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारले छाडा पशु चौपायाको समस्या समाधान गर्न दीर्घकालीन योजनालाई प्राथमिकतामा राखेको छ ।
एकीकृत गरेर गौशालामा पशुचौपाया पाल्ने, नश्ल सुधार गरेर उत्पादन क्षमता बढाउने, जैविक मल उत्पादन र प्रयोगलाई प्राथमिकतामा राख्ने गरी कार्यक्रम तर्जुमा गरिने भएको मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनुभयो । उहाँले छाडा पशुचौपायाको समस्या समाधान गर्न समुदायस्तरमा एकीकृत गौशाला निर्माण गरेर नश्ल सुधार गर्ने र उत्पादन क्षमता बढाउनेसम्मका योजना अघि सारिने जानकारी दिनुभयो ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ मधवुनमा रहेको भागीरथी गौ–संरक्षण विकास केन्द्रको आज अनुगमन गर्दै मुख्यमन्त्री आचार्यले छाडा पशुचौपायाको दीर्घकालीन समस्या समाधान गर्ने गरी प्रदेश सरकारले नीति तर्जुमा गर्ने बताउनुभएको हो ।
‘उत्पादन दिन छाडेपछि पशुचौपायालाई छाडा छाड्ने समस्या बढ्दो छ, यसरी छाडिएका पशुचौपायाका कारण समुदायमा किसान र स्थानीयलाई हैरानी हुनेलगायत खाद्यान्न, तरकारीबालीमा हानिनोक्सानी गर्ने, सडक दुर्घटना भएको अवस्था पनि छ’ उहाँले भन्नुभयो– ‘समुदायको परिचालन र सक्रियाताबाट छाडा पशुचौपायाको नियन्त्रण गर्न सकिन्छ भन्ने उदाहरण यो गौशालाले दिएको छ ।’
गौशालामा पालिएका पशुचौपायाबाट दूध उत्पादन बढाउन सकिने, गाईको गोबर, पिसाब सङ्कलन गरेर प्राकृतिक मल बनाउन सकिने भएकाले यसखाले परियोजना सञ्चालन गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।
‘यहाँहरुले थाल्ने नवीनतम् काममा प्रदेश सरकारले साथ दिन्छ, अहिले यहाँहरुले उठाएको सिँचाइ र खानेपानीको समस्या समाधान गर्न आगामी वर्षको बजेट निर्माण गर्दा ध्यान दिन्छौँ उहाँले भन्नुभयो– ‘समुदायको सक्रियताबाट नै रचनात्मक कामहरु गर्न सकिन्छ, प्रदेश सरकारले समुदाय परिचालनमा जोड दिएको छ ।’
लुम्बिनी प्रदेशका तराईका जिल्लामा छाडा पशुचौपायाको समस्या बढ्दो छ । हरेक जिल्लामा गौशाला निर्माण गरिएका छन् । ती गौशालाको संरक्षण र विकास गर्दै छाडा पशु चौपायालाई पनि उत्पादनसँग जोड्ने गरी प्रदेश सरकारले कार्यक्रम बनाउने तयारी गरेको हो ।
गौशालामा पालिएका गाईलाई पानी खुवाउन र भएको जमिनमा सिँचाइ गर्न असुविधा भएको भन्दै बजेट विनियोजन गर्न भागीरथी गौ–संरक्षण विकास केन्द्रका अध्यक्ष चक्रबहादुर भण्डारीले अनुरोध गर्नुभएको थियो । हाल गौशालामा करिब एक सय ५० गाई, गोरु, बाच्छाबाच्छी पालिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति