
दार्चुला । राष्ट्रिय गौरवको आयोजना महाकाली करिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न सङ्घीय सरकारका २ मन्त्री दार्चुला आइपुग्नुभएको छ ।
नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल दार्चुला आइपुग्नुभएको हो ।
प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडू, नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलसहितको टोली जिल्ला आइपुगेको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो । उक्त टोली नेपाली सेनाको हेलिकप्टरमार्फत व्यास गाउँपालिका–१ छाङ्गरु पुग्नुभएको छ ।
टोलीले छाङ्गरुमा स्थानीयसँग छलफल गरेका छन् । राष्ट्रिय गौरवका सडकमा प्रगति नभएको भन्दै प्रधानमन्त्रीले चासो लिएपछि सडक निरीक्षणमा मन्त्रीद्वयसहितको टोली यहाँ आउनुभएको जनाइएको छ । छाङ्गरुबाट उहाँहरु सुनेसरास्थित नेपाली सेनाको गणमा बसेर ब्रिफिङ लिने कार्यक्रम तय भएको प्रजिअ जोशीले बताउनुभयो ।
त्रिदेशीय सडकका रुपमा रहेको दार्चुला–तिङ्कर सडक सामरिक महत्व बोकेको सडक हो । तर हरेक वर्ष थोरै बजेट विनियोजन हुँदा लक्ष्यअनुसार सडकको प्रगति हुन नसकेको गुनासो स्थानीयले गरेका छन् ।
विसं ०७७ माघ २८ देखि सडक निर्माण शुरु भएको हो । यस सडकको तुसारपानी–तिङ्करको ट्र्याक खोल्नुपर्ने ७९ किमीमध्ये हालसम्म सेनाले १३।५९ किमी मात्र ट्र्याक खुलाइएको छ । यस आयोजनाका लागि चालु आर्थिक वर्षमा सरकारले रु नौ करोड बजेट विनियोजन गरेको छ । त्यो रकमले १।८ किमी नयाँ ट्र्याक खोल्ने र १।२ किमी सडक स्तरोन्नति गर्ने लक्ष्य सेनाको छ ।
यो सडक कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्करसम्म चार सय २५ किमी छ । यसमा सडक विभागले बनाउन नसकेको अप्ठ्यारो खण्डको काम सेनालाई दिइएको हो । सेनाले आर्थिक वर्ष ०८८र८९ भित्र उक्त खण्डको ट्र्याक खोल्ने काम सकिसक्नुपर्नेछ ।
यो सडक नबन्दा सर्वसाधारण सदरमुकाम दार्चुलाबाट छाङ्गरु, तिङ्कर, कालापानी लगायत ठाउँ जान भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । हालैमात्र तिङ्करका स्थानीय भारतीय बाटो हुँदै खलङ्गा बसाइँ सरेका छन् । नेपालतर्फको घोरेटो बाटो हिँड्नलाई जोखिमपूर्ण छ ।
पशुचौपाय ल्याउन र मान्छे हिँड्न नेपालबाट सम्भव नभएपछि भारतीय बाटो हुँदै खलङ्गा झर्नुपर्ने बाध्यता रहेको व्यास गाउँपालिका–१ का वडाअध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो ।
छाङ्गरुका स्थानीयले मन्त्रीहरुसँग नेपालतर्फ पहिले गोरटो बाटो निर्माण गर्न माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु