
मनहरी । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले द्वन्द्वको प्रकृति परिवर्तन भए पनि द्वन्द्वपीडितका समस्या उस्तै रहेको बताउनुभएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशले आज हेटौँडामा आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका सन्दर्भमा प्रदेशस्तरीय अन्तरक्रिया’ मा उहाँले द्वन्द्वपीडित महिला, बालबालिका लामो समयदेखि पीडामाथि पीडा खेप्दै आएकाले यो समस्या समाधानमा प्रदेश सरकारले चासो राखेको बताउनुभयो ।
मन्त्री लामिछानेले द्वन्द्वपीडितको समस्या समाधानमा अन्तरतहको सरकारबीच समन्वयको कमी भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘दुई दशकदेखिको यो समस्या ज्युँका त्युँ छ, यसलाई समाधान गर्न प्रदेश सरकार द्वन्द्वपीडितको लागि सशक्तीकरण र सबलीकरणमा काम गर्न तयार छ । सम्बन्धित मन्त्रालयसँग समन्वय गरी अब बन्ने कार्यक्रममा महिला, शान्ति र सुरक्षासम्बन्धी विषयलाई प्राथमिकता दिन हाम्रो मन्त्रालय प्रतिबद्ध छ ।’
कार्यक्रममा बागमती प्रदेश सरकारका प्रमुख सचिव डा हरिप्रसाद लम्सालले दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका सन्दर्भमा प्रदेश सरकारले नीतिगत निर्णय गरेर पीडितको पक्षमा काम गर्ने बताउनुभयो ।
कार्यक्रममा द्वन्द्वपीडित महिलाले आफूहरूलाई द्वन्द्वपीडितको परिचयपत्रको व्यवस्था गरिदिन आग्रह गरेका छन् । द्वन्द्वपीडितहरूको समस्यामा सरकार संवेदनशील नहुँदा जीविकोपार्जनदेखि शिक्षा, स्वास्थ्यजस्ता पक्ष जटिल बनेको उहाँहरूको गुनासो थियो । द्वन्द्वपीडित महिलाले पीडितहरूको समस्या तत्काल सम्बोधन गरी मासिक भत्ता, परिचयपत्र, आरक्षण कोटा, बिमा, सीपमूलक तालिमको माग गरेका छन् ।
आदर्श नारी विकास केन्द्र, द स्टोरी किचेनको सहकार्यमा आयोजित कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग प्रमुख पवन भट्टले दोस्रो राष्ट्रियकार्य योजनाको उद्देश्य, औचित्यबारे जिम्मेवार निकाय र सरोकारवालालाई ध्यानाकर्षण गराउनु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति