
भक्तपुर । आज हरिबोधनी एकादशी । काठमाडौँको बूढानीलकण्ठ र भक्तपुरको ऐतिहासिक एवं धार्मिक महत्वको प्रसिद्ध चाँगुनारायण मन्दिरमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ ।
चारनारायणमध्येको जेठो नायायण एवं एउटै मूर्तिमा चार नारायणको स्वरुपको रूपमा पुजिँदै आएको चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड लागेको मन्दिरका मूलपुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिनुभएको छ ।
आजका दिनमा चार नारायणको दर्शन गरेमा पुण्यप्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौँको शेषनारायण, इचङ्कुनारायण र ललितपुरको विशङ्खुनारायणको दर्शंन गर्ने गर्दछन् ।
आज चार नारायणको दर्शन गर्दा जेठो नारायणका रूपमा रहेको चाँगुनारायणको पहिला दर्शन गर्नसके उत्तम हुने र चार नारायणको दर्शन गर्न नसक्नेहरूले पनि चाँगुनारायणको मात्रै दर्शन गरे पनि चार नारायणको दर्शन गरेबराबरको पुण्यप्राप्त हुने मान्यता रहेकाले यस मन्दिरमा बिहानदेखि नै दर्शनार्थीको भीड लाग्ने गरेको पुजरी राजोपाध्यायले बताउनुभयो ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आजै जागा हुनुहुने भएकाले यस दिनलाई हरिबोधनी एकादशीका रूपमा विशेष पूजाअर्चना गरेर मनाइने पुजारी राजोपाध्यायको भनाइ छ ।
हरिशयनी एकादशीका दिन घरघरमा तुलसी रोपेको तुलसीको आज परम्पराअनुसार तुलसीको मठलाई सिङ्गारेर पूजा गरी माला लगाई तुलसीको दामोदरसँग विवाह गराइएको छ । आजको दिनमा व्रत बस्ने र चामलको परिकार खान नहुने परम्पराअनुसार पिडाँलु, सख्खरखण्ड, तरुणका परिकार खाने प्रचलन रहेको छ ।
नगरपालिकाले पहिलोपटक मेलाको व्यवस्थापन गरेको छ । मेलाको व्यवस्थापनका लागि चाँगनारायण नगरपालिकाले चारैवटा नाकामा स्वागतद्धार निर्माण गर्नुका साथै मन्दिरलाई सिङ्गारेर झिलीमिली बत्तीहरू हालेर मन्दिरलाई आकर्षक बनाएको नगरप्रमुख जीवन खत्रीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘मन्दिर प्रवेश गर्ने सिढीँहरु, मन्दिर परिसर र आसपासका क्षेत्र सफा गरेका छौँ, मन्दिर सिङ्गारिएर झकमक्क बनाएका छौँ, साँझ झलमल्ल बत्ती बालेर मन्दिर चारैतिरबाट उज्यालो बनाएका छौँ, मन्दिर प्रवेश गर्ने नाका र चाँगुनारायण प्रवेश गर्ने नाकामा स्वागतद्धार बनएका छौँ । मन्दिरमा सहज दर्शनका लागि स्वयंसेवक परिचालनदेखि स्वास्थ्य शिविरको समेत व्यवस्था गरेका छौँ ।’
नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले गएराति मन्दिरको अनुगमन गरी रातिदेखि नै मेला भर्नेका लागि सहज व्यवस्थापन मिलाएको बताउनुभयो । उहाँले मन्दिर आउने दर्शनार्थीलाई भक्तपुर नगरपालिकाको देकोचा र व्यासी, चाँगुनारायण नगरपालिकाको तेलकोट, दुवाकोट, काठमाडौँ मूलपानीलगायत पाँचवटा नाकाबाट मन्दिर आउन सक्नेगरी सडकको व्यवस्थापन गर्नुका साथै ट्राफिक व्यबस्थापनको तयारी गरिएको उहाँले बताउनुभयो ।
सार्वजनिक बिदा
चाँगुनारायण नगरपालिकाले चाँगुनारायण मन्दिरमा मेला लाग्ने अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नगरप्रमुख खत्रीले चाँगुनारायण नगरपालिकाको कार्यपालिका बैठकले निर्णय गर्दै आज नगरपालिकाको कार्यालय, सबै वडा कार्यालय, आकस्मिकबाहेकका सबै स्वास्थ्य संस्था, शैक्षिक संस्था, सरकारी, सार्वजनिक संस्थालाई बिदा दिने निर्णय गरेको बताउनुभयो ।
मन्दिरमा मेला भर्न र व्यवस्थापन गर्न आज बिदा दिएको उहाँले जानकारी दिनुभयो । सहज दर्शन र पूजा गर्ने व्यवस्था गर्न मन्दिरमा स्वयंसेवक एवं स्काउट र प्रहरी परिचालन गरिएको प्रमुख खत्रीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित