
काठमाडौँ । विश्व प्रख्यात पर्यटन मेला ‘वल्र्ड ट्राभल मार्केट–२०२४’ (डब्लुटीएम) मा नेपालले सहभागिता जनाउँदै विश्व पर्यटन उद्योगको ध्यानाकर्षण गरेको छ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले लन्डनमा आयोजित डब्लुटीएममा सहभागिता जनाएको हो ।
कात्तिक २० देखि २२ गतेसम्म आयोजना भएको वल्र्ड ट्राभल मार्केटमा नेपालले साहसिक यात्रा, सांस्कृतिक विविधता र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यका रूपमा आफ्नो उपस्थिति जनाउँदै नेपालको पर्यटन प्रवर्द्धनका लागि समन्वय गर्न विश्वपर्यटन उद्योगको ध्यानाकर्षण गरेको हो ।
बोर्डले आफ्नो ४० वर्षको सहभागिता वर्षको उत्सव मनाउँदै विश्व पर्यटन क्षेत्रमा लामो समयदेखिको योगदानलाई निरन्तरता दिएको हो । एक सय ८४ देशबाट ४३ हजार सहभागी रहेको डब्लुटीएममा ३ हजार आठ सय ७५ प्रदर्शक सहभागी थिए । मेलामा ८२ वटा सम्मेलन सत्र आयोजना गरिएको थियो ।
हालै लोन्ली प्लानेटद्वारा सन् २०२४ का लागि बेस्ट इन ट्राभल गन्तव्यका रूपमा घोषित भएपछि यस वर्ष डब्लुटीएममा नेपालको उपस्थिति थप महत्वपूर्ण बनेको बोर्डले जनाएको छ । यसले विश्वभरका यात्रु र पर्यटन व्यवसायीसामू नेपालको सम्पदालाई प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनुभयो ।
वल्र्ड ट्राभल मार्केटमा नेपालको सहभागिताले नेपाललाई उच्च सम्भावनायुक्त बजारसँग प्रत्यक्ष संलग्न हुन सघाउने र यसले नेपाललाई शीर्ष अन्तर्राष्ट्रिय गन्तव्यको साथ उभ्याउने उहाँले उल्लेख गर्नुभयो । उहाँले नेपालको यो सहभागिताले नयाँ व्यावसायिक अवसर विकास गर्दै हाम्रो समृद्ध संस्कृति, अनुपम प्राकृतिक दृश्य र पर्यावरणमैत्री पर्यटनमा रुचि राख्ने वातावरणीय सजग यात्रुसँग सम्बन्ध स्थापित गर्ने अवसर प्रदान गर्ने बताउनुभयो ।
‘लोन्ली प्लानेटले नेपाललाई बेस्ट इन ट्राभल गन्तव्यका रूपमा सम्मानित गरेको छ । लोन्ली प्लानेटको यो मान्यताले नेपालको पर्यटन सेवालाई थप विश्वसनीयता प्रदान गरेको छ । यो सहभागिताले मुलुकका अनुपम परिदृश्य प्रख्यात हिमालदेखि प्राचीन सांस्कृतिक स्थललाई समेटेको छ’ जोशीले भन्नुभयो ।
नेपाल विश्वका लागि आकर्षक पर्यटकीय गन्तव्यका रूपमा रहेको सन्दर्भमा नेपाललाई साहसिक यात्रा, अध्यात्म र सम्पदाको संयोजनको गन्तव्यका रूपमा थप परिचित र बलियो बनाउने कार्यमा यो मेलाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको उहाँले बताउनुभयो । नेपालबाट डब्लुटीएमा विभिन्न क्षेत्रका पर्यटन व्यवसायी, ट्राभल कम्पनी, होटल, रिसोर्टका प्रतिनिधि सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन