
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकमा कफीको नर्सरी स्थापना गरिएको छ । बाँझो रहेका जमिनलाई उत्पादनसँग जोड्न कफीखेती गर्ने अभियानसहित कृषि सहकारी संस्थाले यहाँ कफीको नर्सरी स्थापना गरेको हो ।
शुक्लागण्डकी नगरपालिका र राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँगको सहकार्यमा दश हजार कफीको बिरुवा उत्पादन भइरहेको सहकारीका अध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो । युवापुस्तामा कफीप्रति अत्यधिक आकर्षण रहेकाले बजारको माग सम्बोधनका लागि यहाँ कफी उत्पादन गर्ने लक्ष्य राखिएको गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो– ‘युवा पुस्तामा कफीको आकर्षण बढ्दो छ । आफ्नै माटोमा जीवन देख्नुपर्छ भन्ने सोच बोकेका कृषकलाई कफीका बिरुवा वितरण गर्छौं ।’
किसानले उत्पादन गरेको कफी बिक्रीका लागि बजारीकरणको व्यवस्थासमेत सहकारीले गरिदिने उहाँको भनाइ छ । ‘हामी कफीका बिरुवा मात्रै वितरण गर्दैनौँ, कफी उत्पादन भएपछि बिक्रीको जिम्मा समेत लिन्छौँ’ उहाँले भन्नुभयो– ‘एक किलो होस् वा एक सय किलो बिक्री भएपछि बजारको चिन्ता लिनु पर्दैन ।’ गुरुङले सबैभन्दा चाँडो उत्पादन लिन सकिने र बाँदरबाट कम क्षति हुने कफीखेतीलाई प्रोत्साहन गरिएको बताउनुभयो ।
शुक्लागण्डकी नगरपालिकाभित्र बाँझो रहेका जमिनको सदुपयोग गर्न र बसाइसराइँ रोक्दै आयआर्जनमा जोड्ने उद्देश्यसहित कफीखेती अभियान थालिएको शुक्लागण्डकी नगरपालिकाका कृषि शाखा प्रमुख नवराज पण्डितले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘यहाँ उत्पादन हुने कफीले युवाको कफीप्रतिको मोहलाई सम्बोधन गर्न सक्नेछ ।’
नगरपालिकाले गत वर्ष पाँच हजार कफीका बिरुवा वितरण गरेको थियो । यस वर्ष दश हजार बिरुवा वितरण गरिनेछ । बाँझो जमिनको उपयोग गर्दै उत्पादनसँग जोड्ने उद्देश्यले शुक्लागण्डकी नगरपालिकाको चालु आर्थिक वर्षमा रहेको युवासँग उपप्रमुख कार्यक्रममार्फत शुक्लागण्डकीमा उत्पादन केन्द्रित अभियान सञ्चालन गरिएको हो ।
शुक्लागण्डकीको आठ सय मिटरदेखि एक हजार चार सय मिटर उचाइसम्मको पाखो जमिनमा कफीको व्यावसायिक खेतीको सम्भावना रहेकाले किसानलाई कफीखेतीतर्फ प्रोत्साहन गरिएको पण्डितको भनाइ छ । यस अगाडि किसानले उत्पादन गरेका कफी कास्की, स्याङ्जा लगायत जिल्लामा बिक्रीवितरण गरिएकामा आगामी वर्षदेखि कृषि बहुउद्देश्यीय सहकारी संस्थासँगको समन्वयमा किसानको उत्पादनलाई उचित मूल्यमा बजारीकरण गरिने उहाँको भनाइ छ ।
बाँदर लगायतको वन्यजन्तुबाट कम क्षति हुने र पाखो बाँझो जमिनमा कफीखेतीको राम्रो सम्भावना रहेको हुँदा आगामी वर्ष दोब्बर बिरुवा वितरण गर्नेगरी तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन