+

गण्डकीका अधिकांश मन्त्री करोडपति, कसको सम्पत्ति कति ?

कास्की । गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक पदमा बहाल भएको ६० दिनभित्र नियमानुसार सम्बन्धित व्यक्तिले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था भए पनि गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण बल्ल सार्वजनिक भएको हो । 

सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार गण्डकीका सबैजसो मन्त्री निकै धनी देखिन्छन् । ठाउँठाउँमा घर र जग्गाका साथै प्रशस्त गरगहना मन्त्रीहरूसँग रहेको पाइएको हो ।

गण्डकी प्रदेशका सबैभन्दा धनी मन्त्रीका रूपमा सामाजिक विकासमन्त्री विन्दुकुमार थापा हुनुहुन्छ । भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर केसीको पनि उत्तिकै सम्पत्ति छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि सम्पत्तिका हिसाबले निकै धनी देखिनुभएको छ । 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नाममा विभिन्न ठाउँमा जग्गा र घर छ । उहाँको पालुङटार–१ मा घर र घरले चर्चेको ५ रोपनी १० आना जग्गा छ । यस्तै, काठमाडौँ महानगरपालिका–३ मा पनि उहाँको घर र त्यसले चर्चेको २१२ वर्गमिटर जग्गा छ । दुवै सम्पत्ति पैतृक रहेको उहाँले सम्पत्ति विवरणमा जनाएका छन् ।
मुख्यमन्त्री पाण्डेको ३६ रोपनीभन्दा बढी जग्गा पालुङटारमा छ । कपिलबस्तु नगरपालिकामा उहाँको ५ कट्ठा हाराहारी जग्गा छ । भक्तपुरको सूर्यविनायकमा पनि उहाँको करिब १० रोपनी जग्गा छ ।

मुख्यमन्त्री पाण्डेसँग ४५ तोला सुन, ७ सय तोला चाँदी, २ सेट हिरा र १ सेट मोती रहेको सम्पत्ति विवरणमा उल्लेख छ । विभिन्न बैंकमा २७ लाख ७४ हजार नगद, उहाँकी श्रीमती विना पाण्डेको नाममा ७१ लाख ८७ हजार रुपैयाँ तथा छोरा सुयोग्यराज पाण्डेको नाममा ४ लाख ७८ हजार रुपैयाँ नगद छ ।

पाण्डेसँग दियालो फुडल्याण्डमा ६१ हजार १ सय कित्ता सेयर छ भने बैंक तथा वित्तीय संस्थामा ५ हजार कित्ता सेयर छ । उहाँकी श्रीमती विना पाण्डेको नाममा बैंक तथा वित्तीय संस्थामा ५ हजार र छोरा सुयोग्यको नाममा ४ हजार कित्ता सेयर छ । विनाको नाममा मारुती बोलेरो गाडीसमेत रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

सामाजिक विकास तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको होटल, घरजग्गा, पर्यटन लगायत क्षेत्रमा लगानी गरेको देखिएको छ । 

मन्त्री थापाको पोखरा, नयाँ बजारमा भव्य घर र घरले चर्चेको ३ हजार ९ सय ११ वर्गमिटर जग्गा छ । उहाँकै नाममा अर्को घर पनि नयाँ बजारमा छ । यस्तै, श्रीमती मनलक्ष्मी थापाको नाममा २ वटा घर र जग्गा तथा अर्की श्रीमती राधा थापाको नाममा थप २ वटा घर र जग्गा विभिन्न ठाउँमा देखिन्छ ।

पोखरा–२९ मा ६ हजार ४३ वर्गमिटर जग्गा मन्त्री थापाका दुई श्रीमतीको नाममा छ । थापाले अंशुभरा स्क्युवार प्रालि, फुड एण्ड रिटेल, रोयल हिमालयन रिसोर्ट, पोखरा ट्रेड मल, सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा फाउण्डेसन, अंशुभरा फुड एण्ड वेभरेल, अंशुभरा एग्रो चलाएका छन् । थापाले लेकसाइडमा बगैंचा रिसोर्ट रहेका छन्  भने चिप्लेढुंगामा ट्रेड मल सञ्चालन गरेका छन् । थापाको नाममा पोखरा ८ र १७ मा पैतृक जग्गा रहेको सम्बक्ति विवरणमा उल्लेख छ । 

मन्त्री थापाको नाममा प्रभु बैंकमा १ लाख ८ हजार कित्ता सेयर छ । उहाँकी श्रीमती मनलक्ष्मीको नाममा लुम्बिनी विकास बैंकमा ३८ हजार ८१२ कित्ता सेयर छ भने छोरा सौगातको नाममा १० ठाउँमा र अविरलको नाममा २ ठाउँमा सेयर छ ।

एनएमबी बैंकमा ४ लाख ५७ हजार र लक्ष्मी बैंकमा १४ लाख ५३ हजार रुपैयाँ मन्त्री थापाको मौज्दात छ । लुम्बिनी विकास बैंकमा संस्थापक सेयर ५६ हजार ४७ कित्ता सेयर छ । उहाँले एनएमबी बैंक न्यूरोड शाखाबाट ६ करोड ६३ लाख ऋण लिएको देखाउनुभएको छ । 

उनीसँग २ करोडको टोयोटा जीप छ भने १ करोड १२ लाख पर्ने फोर्डको अर्को जीप छ । १ करोड १६ लाख मूल्य पर्ने कार उनकी श्रीमती मनलक्ष्मीको नाममा छ ।

मन्त्री थापाले एनएमबी बैंकबाट १२ करोड ३१ लाख ऋण लिएका छन् भने ग्रीन डेभलपमेण्ट बैंकबाट १२ करोड ५० लाख लिएका छन् । यस्तै, पोखरा फाइनान्सबाट ८५ लाख, मनोहर जंग राणाबाट ९४ लाख ९५ हजार, अनिता थापाबाट ५५ लाख, सुनिता थापाबाट ३० लाख ऋण लिएको उनले सम्पत्ति विवरणमा जनाएका छन् । सुन १६० तोला, चाँदी ५८० तोला, हिरा २० तोला उनीसँग छ ।

भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर केसी पनि धनाढ्य हुनुहुन्छ । उहाँको नाममा पोखरा–१२ मा घर र घरले चर्चेको २२६ वर्गमिटर जग्गा छ । सोही ठाउँमा अर्को घर र २०४ वर्गमिटर जग्गा छ । ललितपुरमा उहाँले घरसहित ८ आना जग्गा खरिद गर्नुभएको छ । 

यो जग्गा उहाँ र श्रीमती विन्देश्वरी केसीको नाममा छ । ललितपुर, पोखराका विभिन्न ठाउँमा उनीसँग जग्गा छ । उहाँसँग ५ सेट हिराको हार, ९५ तोला सुन, डेढ किलो चाँदी छ ।

मन्त्री केसीसँग गण्डकी हाइड्रोपावरमा १ लाख ८० कित्ता सेयर, युनिफाइड हाइड्रोमा ५६ हजार २७० कित्ता, माछापुच्छ्रे बैंकमा पनि सेयर छ भने श्रीबृद्धि सहकारीमा ४ हजार कित्ता सेयर छ ।

उहाँकी श्रीमतीको नाममा बाराही प्रसारणमा १२ प्रतिशत सेयर छ । उहाँले केशव अधिकारीलाई १ करोड ९० लाख, दुर्गा नारायण पौडेललाई ४५ लाख र अन्य विभिन्न व्यक्तिलाई ४५ लाख ऋण दिनुभएको देखाइएको छ । 

मन्त्री केसीसँग २ वटा मोटरसाइकल र एउटा कार तथा श्रीमतीको नाममा एउटा कार र छोराको नाममा एउटा मोटरसाइकल छ । उहाँहरूले केसी मेडिको फर्मा, फेवा फार्मेसी चलाउनुभएको छ ।  पोखरा–१२, हस्पिटलचोकमा सटरहरू बनाएर बहालमा लगाएको पनि मन्त्री केसीको सम्पत्ति विवरणमा उल्लेख छ ।

वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलको प्रमुख आम्दानीको स्रोत हो रिसोर्ट । उहाँले लमजुङको बेंसीसहरमा गेटवे हिमालय रिसोर्ट चलाउनुभएको छ ।  यसबाहेक उहाँको पुर्ख्यौली सम्पत्ति प्रशस्त छ ।

उहाँ र राजेश पौडेलको नाममा लमजुङको बेंसीसहरमा घर र घरले चर्चेको २५ सय वर्गमिटर जग्गा छ । सोही ठाउँमा अर्को १ हजार वर्गमिटर जग्गा र घर छ भने फूलमाया पौडेलको नाममा काठमाडौँमा घर र ६५६ वर्गमिटर जग्गा छ । उहाँहरूको ४२ रोपनी जग्गा बेंसीसहरमा छ ।

मन्त्री पौडेलसँग ८० तोला सुन, ६० तोला चाँदी, ५ सेट हिरा र २५ लाख रुपैयाँ नगद छ । यस्तै उहाँसँग ग्लोबल आइएमई बैंकमा १ लाख १० हजार कित्ता र लिवर्टी हाइड्रोमा १ लाख ६० हजार कित्ता सेयर छ । उहाँले विभिन्न बैंकबाट ऋण लिएको देखाउनुभएको छ । उहाँसँग एउटा जीप पनि छ ।


अर्थमन्त्री टकराज गुरुङले ऋण लिएर व्यवहार चलाइरहेको देखाउनुभएको छ । उहाँकी श्रीमती प्रतिमा गुरुङको नाममा काठमाडौँको बल्खुमा ९ आना जग्गा र एउटा घर छ भने लमजुङको राइनासमा ७ रोपनीभन्दा बढी जग्गा र घर छ ।

मन्त्री गुरुङको नाममा सुन्दरबजारमा ४२ आना जग्गा छ भने सोही ठाउँमा प्रतिमा गुरुङको नाममा १० आना जग्गा छ । आफूसँग १० तोला सुन र १० तोला चाँदी रहेको मन्त्री गुरुङले सम्पत्ति विवरणमा उल्लेख गनुभएको छ । 

उनहाँसँग २ वटा बैंकमा ३५ हजार रुपैयाँ मौज्दात छ । उहाँले राष्ट्रिय बाणिज्य बैंकबाट ८५ लाख रुपैयाँ ऋण लिनुभएको छ । आफू र श्रीमतीसँग गरी जम्मा २ वटा गाडी रहेको उहाँले सम्पत्ति विवरणमा खुलाउनुभएको छ । 

स्वास्थ्यमन्त्री कृष्ण पाठकको बागलुङ नगरपालिका–१२ मा ६ रोपनी १४ आना जग्गा र घर छ । सोही ठाउँमा थप करिब ६ रोपनी जग्गा छ । यसबाहेक काठमाडौँको चन्द्रागिरि नगरपालिकामा ५ आनामा बनेको १ तले घर पनि छ । उक्त सम्पत्ति कृष्णकुमारी पाठक र कविता कार्कीको नाममा छ । छोराबुहारीले वैदेशिक कमाइबाट पठाएर उक्त सम्पत्ति खरिद गरेको उहाँले जनाउनुभएको छ । 

मन्त्री पाठकसँग सुन ८ तोला, चाँदी २० तोला छ । सबैजसो सम्पत्ति पैतृक रहेको उहाँले जनाउनुभएको छ । उहाँको करिब २ लाख रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा छ । 

कृषिमन्त्री पद्मा जिसीसँग पनि विभिन्न ठाउँमा घर र जग्गा छ । उहाँका पति जीवन श्रेष्ठको नाममा काठमाडौँको टोखामा घर र ११८ वर्गमिटर जग्गा छ ।

मन्त्री पद्माकै नाममा कावासोतीमा ४ आना र २ आना छुट्टाछुट्टै जग्गा छ । उहाँ र उहाँका पतिको नाममा कावासोतीमा विभिन्न कित्ता गरी करिब ३ रोपनी हाराहारी जग्गा छ । ३१ तोला सुन र २८५ तोला चाँदी उहाँसँग छ ।

कृषि विकास बैंकमा उनको १ लाख ११ हजार नगद छ । एनएमबी बैंकमा ३९ लाख बराबरको सेयर रहेको र कालिगण्डकी सहकारीबाट १० लाख ९१ हजार रुपैयाँ ऋण लिएको उहाँले सम्पत्ति विवरणमा खुलाउनुभएको छ । 

मन्त्री पद्माका श्रीमानको नाममा एउटा कार छ । बैंकबाट ऋण लिएर कार खरिद गरेको उहाँले जानकारी गराउनुभएको छ ।  यसबाहेक पिपुल्स हाइड्रोमा १० लाखमा सेयर खरिद गरेको, कामना सेवा विकास बैंकमा २ हजार ८ सय कित्ता र कालिगण्डकी सहकारीमा १ लाख रुपैयाँको सेयर रहेको उहाँले खुलाउनुभएको छ । 


ऊर्जामन्त्री फणीन्द्र देवकोटासँग काठमाडौँको कीर्तिपुरमा ६ आना जग्गाभित्र बनेको घर छ । उक्त सम्पत्ति रुक्मणी शर्माको नाममा छ । उहाँले पैतृक सम्पत्तिको ९ आना जग्गा बेचेर घर बनाएको सम्पत्ति विवरणमा उल्लेख गनुभएको छ । 

मन्त्री देवकोटाको बाबुको नाममा गोरखाको पालुङटारमा बण्डा नभएको २ वटा घर छ । सोही ठाउँमा विभिन्न कित्तामा जग्गा छ । मन्त्री देवकोटासँग १२ तोला सुन छ भने ४ लाख हाराहारी रकम बैंकमा छ ।

मन्त्री देवकोटाको श्रीमतीको नाममा स्कुटर छ भने अन्य घरायसी सामग्री पनि सम्पत्ति विवरणमा उनले उल्लेख गर्नुभएको छ । 

उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालसँग पर्वतको पैंयुमा २ रोपनी १५ आना जग्गा र घर छ । सोही ठाउँमा करिब २१ रोपनी अर्को जग्गा पनि छ । दुवै सम्पत्ति पैतृक भएको उहाँले जनाउनुभएको छ । 

मन्त्री बस्यालसँग ८ तोला सुन छ । कृषि विकास बैंकमा उहाँको १ लाख रुपैयाँ बचत छ । मुक्तिनाथ विकास बैंकबाट उहाँले १ करोड ऋण लिएको देखाएका छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट