+

‘जान्नेलाई छान्ने’ले पुतला किन जलाउनु पर्‍यो ? : प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा संलग्नहरुलाई कारबाही प्रक्रिया थाल्दा आफ्नो पुतला जलाइएकोमा आश्चर्य व्यक्त गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले मंगलबार आफूलाई भेट्न आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुसँग आश्चर्य व्यक्त गर्नुभएको हो  । सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछाने पक्राउ गरेपछि त्यसको विरोध गर्दै रास्वपाले केही दिनअघि प्रधानमन्त्री ओलीको पुतला दहन गरेको थियो । 

प्रधानमन्त्री ओलीले आफूलाई भेट्न बालुवाटारमा भेट्न आएका रास्वपा उपसभापति डीपी अर्याल र सांसद सन्तोष परियारसँग पुतला दहन गर्नुपर्ने कारण सोध्नु भएको हो । 

 बालुवाटार स्रोतका अनुसार रास्वपा उपसभापति अर्याल र सांसद परियारले प्रधानमन्त्री ओलीसँगको भेटमा ‘सहकारी ठगी प्रकरण निकै बृहत् विषय भए आफ्नो पार्टीका सभापति लामिछानेलाई मात्रै मुख्य दोषी जस्तो देखाइएको’ भन्दै गुनासो गर्नुभएको थियो ।  स्रोतका अनुसार अर्याल र परियारले मंगलबारको प्रदर्शनबारे समेत प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो । 

प्रधानमन्त्री ओलीले उहाँहरुसँग चितवनमा आफ्नो पुतला जलेको विषयमा कटाक्ष र व्यंग्य गर्नुभएको हो । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले उहाँहरुसँग  ‘३० वर्षअघि पुतला जलाउने मुर्दावाद भन्ने जस्तो पारा थियो, अहिले जान्नेलाई छान्ने भन्ने साथीभाइको पनि किन त्यही पारा आयो ? यसमा केही नयाँ तरिकाले विरोध गर्न मिल्दैन ? बरु म पनि अलिअलि आइडिया दिन्छु ।’ भन्नुभएको थियो । 

स्रोतका अनुसार भेटघाटमा उहाँहरुसँग प्रधानमन्त्री ओलीले ‘ सहकारी ठगी प्रकरणमा आफू त शुरुमा संसदीय समिति नबनाउँ भन्ने सोचाइमा रहेको समेत सुनाउनु भएको थियो । प्रधानमन्त्री ओलीले उहाँहरसँग भन्नुभयो ‘मैले त शुरुमा नबनाउँ भनेको समिति पनि बन्यो, त्यहाँ तपाईंकै सांसद पनि थिए । कि त आफ्नै सांसद पनि रविजीप्रति पूर्वाग्रही भए भन्नुपर्‍यो, होइन भने सरकार त प्रतिवेदन कार्यान्वयन गर्न बाध्य छ त ? किन प्रतिशोध भन्नुपर्‍यो ?’ 

 सहकारी ठगी प्रकरण छानविन संसदीय समितिमा रास्वपाबाट सांसद शिशिर खनाल सदस्य रहनुभएको थियो । समितिमा छँदा आफैले हस्ताक्षर गरेको प्रतिवेदन अनुसार कारबाही थाल्दा रास्वपा अहिले भने सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको छ । 

भेटघाटमा प्रधानमन्त्री ओलीले अर्याल र परिवारलाई प्रतिशोध र पूर्वाग्रह राखेर सरकारी व्यवहार हुन नसक्ने भन्दै आश्वस्त गराउनुभएको बतालुवाटार स्रोतको भनाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट