
काठमाडौँ । मुलुक सङ्घीयताको अभ्यास र कार्यान्वयनमा बढी रहँदा वन क्षेत्रमा भने स–साना विषयमा पनि केन्द्रकै हस्तक्षेप रहेको भनी गुनासो गरिएको छ ।
राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका महासङ्घका अध्यक्ष ठाकुर भण्डारीले वन क्षेत्रभित्रको सानो पोखरी पनि केन्द्रले हेर्ने हो भने स्थानीय तहको अधिकार के ? भनी प्रश्न गर्नुभयो ।
अध्यक्ष ठाकुरले प्रदेश र स्थानीय तहलाई कुहिएर खेर गइरहेको काठपात र झ्याउसमेत सङ्कलन गर्न अनुमति दिने अधिकार नहुने हो भने हामीले कस्तो खाले सङ्घीयताको अभ्यास गर्न खोजेको हो भनी जिज्ञासा राख्नुभयो । महाङ्सघका पदाधिकारीले वन क्षेत्रभित्र सेवा सञ्चालनका नाममा स्थानीय साना व्यवसायीको संरक्षणको साटो पहुँचवाला ठूला व्यवसायीलाई संरचना निर्माण गर्न दिइएको भनी आपत्ति प्रकट गर्नुभयो । अध्यक्ष भण्डारीले सरकारले ल्याएको वनसम्बन्धी नियमावली संविधान र समुदायको मर्म एवं भावना विपरीत रहेको जिकिर गर्नुभयो ।
संस्थाका कानुनी सल्लाहकार दिलराज खनालले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका नाममा क्रसर उद्योग, होटल सञ्चालन र पानी प्रशोधनसमेतलाई अनुमति दिनु कानुनको दुरुपयोग भएको टिप्पणी गर्नुभयो । उहाँहरुले संविधान, जैविक विविधता महासन्धि र आधारभूत मानवअधिकार अनुकूल नभएको, वर्षौदेखि कानुन तथा घोषणा अनुकूल हुने गरी संरक्षित क्षेत्रसम्बन्धी नयाँ कानुन तर्जुमा हुनुपर्ने माग हुँदैआएको बताउनुभयो । त्यस अवसरमा ऐनमा भएका समुदायमैत्री व्यवस्था पनि समुदायले उपयोग गर्न नपाएको पक्षबारे समितिलाई जानकारी गराइयो ।
बैठकमा बागमति प्रदेशसभा सदस्य भारती पाठकले मुलुकले सङ्घीयताको अभ्यास गरेको आठ वर्ष पुगिसक्दासमेत प्रदेशलाई राज्यले अधिकारविहीन टापुका रुपमा हेरेकाले संरक्षणको अनुभूति नभएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो– ‘घाँसदाउरा काट्न, निगुरो टिप्न, झ्याउ, सेउवा र सोत्तर सङ्कलनमा महिला नै बढी वन जङ्गल जानु परेको र त्यहाँ उनीहरुलाई वन्यजन्तुको आक्रमणदेखि वन पालेसम्मको डर त्रासको जोखिम छ ।’
समिति सदस्य सोनाम ग्याल्जेन शेर्पाले मुलुकका २२ हजार वनसम्बन्धी सङ्घ संस्था मध्ये १३ हजारभन्दा बढीको कार्यक्रम र कार्ययोजनाको समयावधि सकिएको जनाउँदै वन क्षेत्र कार्यरत सङ्घ संस्था, पदाधिकारी, जनप्रतिनिधि र जनताबीच समन्वय र सहकार्यको साटो प्रश्न, अविश्वास र आशङ्का मात्रै रहेको बताउनुभयो ।
जनताको सहभागिता बिना बनाइने कानुन र कार्यक्रम गुणस्तरीय र नतिजामुखी हुन नसक्ने जनाउँदै सदस्य शेर्पाले जारी भएको नयाँ नियमावली वन क्षेत्रको विकास, विस्तार, राष्ट्रयहित र जनताको पक्षमा नरहेकाले स्वीकार्य हुन नसकिने प्रतिक्रिया दिनुभयो । उहाँले सामुदायिक वनको निगरानी बढाउन आवश्यक रहेको बताउँदै उहाँले राज्य र जनताको हित हुने मध्यमार्गी नियमावलीको खाँचो औँल्याउनुभयो ।
सरोकारवालाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावलीमा माछा मार्न, च्याउ टिप्न नपाइनेजस्ता प्रावधानले स्थानीयलाई मर्का परेको जनाउँदै केवलकारसहितका सेवा र पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने जस्ता विभेद्कारी प्रावधान राखिएको भनी समितिको ध्यानाकर्षण गराउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- कसरी गरिरहेको छ ‘फ्री वाइफाइ’का नाममा वर्ल्डलिङ्कले गैरकानुनी धन्दा ?
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध
- काठमाडौँ महानगर प्रहरी प्रमुख पाण्डे कार्यालयमा हाजिर
- तीन दलका शीर्ष नेताको बैठक बस्दै
- इजरायल र इरान युद्धको विरोधमा काठमाडौँमा प्रदर्शन
- उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न
- नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरण : सञ्चारमन्त्री गुरुङ
- फ्रि वाईफाईको नाममा वर्ल्डलिंकको बदमासी, नियामक निकाय मौन !