+

नेपालले मौसमी सङ्कटको सामना गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौँ ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले जलवायु परिर्वतनको प्रभावका कारण चरम मौसमी सङ्कटको सामना गर्नुपरेको बताउनुभएको छ । 

नेपाल रिपब्लिक मिडियाद्वारा आज आयोजित ‘विश्वव्यापी जलवायु कार्यका लागि सगरमाथाको आह्वान’ विषयक अन्तरक्रियामा उहाँले यसबाट जनधनको क्षतिका साथै सडक, पुल, जलविद्युत् परियोजना र अन्य सार्वजनिक तथा निजी सम्पत्तिको क्षतिसमेत ब्यहोर्नु परेको उल्लेख गर्नुभयो ।

परराष्ट्रमन्त्री डा देउवाले भन्नुभयो– ‘कम विकसित र पर्वतीय राष्ट्रहरू जस्तै नेपालले जलवायु परिवर्तनको गम्भीर र असमान प्रभावहरूको सामना गरिरहेको छ तर विश्वव्यापी जलवायु एजेन्डा र जलवायु प्रक्रियाले विकासोन्मुख र पर्वतीय राष्ट्रको दुर्दशा पर्याप्त रूपमा प्रतिबिम्बित गर्न सकेका छैनन् ।’

उहाँले जलवायुसम्बन्धी सम्मेलन ९कोप २८० मा सञ्चालनमा आएको हानि र नोक्सानी कोषसहित सबै जलवायु कोष र सुविधालाई पर्याप्त रूपमा पुँजीकृत गर्नुपर्ने र विकासोन्मुख राष्ट्रले सजिलै पहुँच प्राप्त गर्नसक्ने बनाउनुपर्ने बताउनुभयो । अजरबैजानको बाकुमा हुने आगामी जलवायु सम्मेलन कोप–२९ मा जलवायु जोखिममा रहेका राष्ट्र, पर्वतीय राष्ट्रका आवश्यकता र प्राथमिकता तथा प्रभावकारी सहभागिताको तयारी भइरहेको उहाँको भनाइ छ ।

‘नेपालजस्ता राष्ट्र जुन वैश्विक हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गर्छन्, ती जलवायु विपत्तिको सिकार हुनु गम्भीर अन्यायको विषय हो’ मन्त्री डा देउवाले भन्नुभयो– ‘जलवायु सङ्कट निम्त्याउने कार्य गर्ने विकसित राष्ट्रले विकासोन्मुख राष्ट्रलाई अनुकूलन र लचिलोपन निर्माणका लागि पर्याप्त स्रोत, प्रविधि र अन्य सहयोग प्रदान गर्नुपर्छ ।’

कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले जलवायु परिवर्तनलाई गम्भीरता साथ लिएको उल्लेख गर्दै जलवायु परिवर्तनको असर कम गर्न अनुकूलन र कार्बन उत्सर्जन घटाउन न्यूनीकरणका साथै हानि र नोक्सानीलाई सम्बोधन गर्ने उपायलाई प्राथमिकता दिएको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो– जलवायु परिवर्तनको समस्या सृजना गर्नमा हाम्रो योगदान नगण्य भए पनि जलवायु सङ्कट समाधान गर्नमा नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।’ नेपालले सन् १९९२ को जलवायु परिवर्तन महासन्धि र सन् २०१५ को पेरिस सम्झौताअनुमोदन गर्नाका साथै आफ्नो प्रतिबद्धता पूरा गर्दै आएको उहाँको भनाइ छ।

‘नेपालले सन् २०२० मा प्रस्तुत गरेको दोस्रो राष्ट्रिय निर्धारित योगदान (एनडिसी) मा नवीकरणीय ऊर्जा, वन क्षेत्र संरक्षण, विद्युतीय यातायात प्रवद्र्धनलगायत क्षेत्रमा अत्यन्तै महत्वाकाङ्क्षी लक्ष्य समावेश गरेका छौँ’ मन्त्री शाहीले भन्नुभयो– ‘यस योजनामा जलवायु अनुकूलन, हरित ऊर्जा र वातावरणीय संरक्षणका क्षेत्रमा विशेष ध्यान दिइएको छ ।’

नेपालले २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार पारी कार्यान्वयन गरिरहेको बताउँदै उहाँले सन् २०४५ सम्ममा ‘नेट जिरो इमिसन’को लक्ष्य हासिल गरी नेपाल कार्बन उत्सर्जन घटाउँदै दिगो विकास र समृद्धि हासिल गर्न लक्ष्य राखेको बताउनुभयो ।

मन्त्री ठकुरीले आगामी नोभेम्बरमा अजरबैजानको बाकु सहरमा आयोजना हुन लागेको कोप–२९ सम्मेलनको मुख्य केन्द्रविन्दुमा रहेको जलवायु वित्तका बारेमा ठोस निर्णय हुन आवाश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘उसले गर्दा नेपाल जस्ता मुलुकलाई आवश्यक जलवायु वित्तमा सहज पहुँच हुन जरुरी छ । साथै यस पटक कार्बन उत्सर्जन धेरै गर्ने देशले थप योजनाहरुमा प्रतिबद्धता जनाई तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न ठोस कदम चाल्नुपर्ने आवश्यक छ ।’

कार्यक्रममा नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेन, न्युयोर्क टाइम्सका अध्यक्ष स्टेफन डनबर जोनसन, रिपब्लिक मिडियाका प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवाली, जीवाष्म इन्धन निःरस्त्रीकरण सन्धि पहलका लागि विश्वव्यापी संलग्नता निर्देशक हरजित सिंह, जलवायुविज्ञ सन्तोष नेपाल लगायतले जलवायु परिवर्तनले गरेका असरका बारेमा जानकारी गराउँदै समाधानका लागि गर्नुपर्ने पहलका सम्बन्धमा आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट