
काठमाडौँ । पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्राप्त जग्गाका विषयलाई लिएर अतिशयोक्तिपूर्ण टीकाटिप्पणी खेदजनक भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जनाएको छ ।
एमालेले यस विषयलाई लिएर भएका छलफल, बहस र टीकाटिप्पणीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ– ‘जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टीकाटिप्पणी अत्यन्त खेदजनक छन्, ७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लाञ्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भत्र्सनायोग्य छ ।’
पार्टीले एक व्यवसायी एवं लोकतन्त्रवादी व्यक्तित्व पार्टीका समर्थक, शुभचिन्तक मीनबहादुर गुरुङ र उहाँकी धर्मपत्नी सावित्री गुरुङबाट कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा निःशुल्क प्रदान गरी पार्टी केन्द्रीय कार्यालय भवन निर्माण गर्न सहयोग गर्नुभएको जनाएको छ ।
विसं २०८१ असोज २४ गतेको सचिवालयको ३८औँ बैठकले संस्थागत रुपमा स्वीकार गरी उहाँलाई सहयोगका निम्ति धन्यवाद दिई असोज २५ गते औपचारिक रुपमा पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्षस्थ नेताहरूको उपस्थितिमा केन्द्रीय कार्यालयको शिलान्याससमेत गरिसक्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
जग्गादाता गुरुङ विद्यार्थीकालदेखि धरानमा अध्ययन गर्दा अनेरास्ववियुको सक्रिय कार्यकर्ता रहेको र नोकरीको सिलसिलामा नेपाल बैङ्क लिमिटेडमा कार्यरत रहँदा बैङ्किङ क्षेत्रमा पार्टीसम्बद्ध कर्मचारीको केन्द्रीय कार्यसमिति सदस्य भई काम गरेको, अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामीप्यतामा रहेको तथ्य जगजाहेर भएको एमालेले जनाएको छ ।
‘अन्तरमनबाट पारदर्शी र खुल्ला दिलले उहाँले दान गर्नुभएको जग्गालाई हामीले स्वीकार गरेका हौँ, यसमा कुनै किसिमको पनि सौदाबाजी र लेनादेना छैन’, विज्ञप्तिमा भनिएको छ– ‘उहाँका नाममा विचाराधीन रहेका मुद्दाका बारेमा उहाँ आफैँले फेस गर्ने हो, संविधान, कानुनभन्दा माथि कोही छैन ।’
लोकतान्त्रिक मुलुकमा पनि आमरुपमा व्यवसायी व्यक्तित्वबाट सहयोग गर्ने परम्परा रहेकाले तथ्यमा आधारित भएर गरिएका आलोचना र सुझाव पार्टीका लागि ग्राह्य हुने जनाएको छ ।
‘९ वर्षदेखि अस्तव्यस्त केन्द्रीय कार्यालयको स्थायित्वका लागि घरजग्गा खोज्ने क्रममा रहेका थियौँ’ विज्ञप्तिमा भनिएको छ– ‘यसै सिलसिलामा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक (८–९ वैशाख २०८१, गोदावरी ललितपुर) बाट पार्टी केन्द्रीय कार्यालय निर्माणका लागि पार्टी सदस्य, समर्थक, शुभचिन्तकलाई सहयोगका लागि सिङ्गो बैठकबाट आह्वान गरेका थियौँ ।’
त्यसयता सम्पन्न केन्द्रीय कमिटी लगायत विभिन्न तहका बैठकद्वारा सहयोगका लागि आह्वान भएको र पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा कमिटीसमेत गठन भएको व्यहोरा सार्वजनिक भएको एमालले जनाएको छ ।
विसं २०७२ मा आएको भूकम्पबाट काठमाडौँ महानगरपालिका–१४ बल्खुमा अवस्थित पार्टी केन्द्रीय कार्यालय क्षतिग्रस्त भएपछि एमाले कार्यालयविहीन भएको र त्यसबीचमा भाडामा धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठान, थापाथली हाइट हुँदै ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयलाई केन्द्रीय कार्यालयका रुपमा प्रयोग गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन