
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपद् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै उहाँले आफूले पहिलोपटक प्रधानमन्त्री भएदेखि व्यवस्थित बस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिँदै आएको बताउनुभयो ।
पहाडी क्षेत्रमा पहिरो र तराई तथा शहरी क्षेत्रमा बाढी र डुबानको सबैभन्दा बढी जोखिम अव्यवस्थित बस्ती र पूर्वाधारकै कारण देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले बाढीपहिरो, डुबान, भूकम्पलगायत विपद्बाट बच्न भौगर्भिक अध्ययनका आधारमा मात्र बस्ती विकास र पूर्वाधार निर्माण गर्न उपयुक्त हुने बताउनुभयो । त्यसका लागि पार्टीको विपद् व्यवस्थापन विभागको पहलमा विज्ञहरूले तयार पारेको प्रतिवेदन महत्त्वपूर्ण भएको उल्लेख गर्दै उहाँले यसका आधारमा सरकारसमक्ष ज्ञापनपत्र पेस गरिने बताउनुभयो ।
वैज्ञानिक बस्ती विकास र पूर्वाधार निर्माणसँगै विपद् व्यवस्थापनका लागि पनि गतिलो समीक्षा गरेर प्रतिकार्यका योजना बनाउनुपर्ने उहाँले बताउनुभयो । मौसमको पूर्वानुमान हुँदाहुँदै पनि राज्यसंयन्त्रको केन्द्र राजधानीमा समेत तत्काल उद्धार गर्न नसक्नुको कारण खोजी गरेर आगामी दिनमा यस्तो अवस्था आउन नदिन सरकार योजनावद्ध रूपमा अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष दाहालले उद्धारमात्र होइन, राहत र पुनःस्थापनामा पनि अपेक्षित काम हुन नसकेको उल्लेख गर्दै सबै संयन्त्र कसरी प्रभावकारी रूपमा परिचालन गर्ने भनेर सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
माओवादी केन्द्रका विपद् व्यवस्थापन विभाग प्रमुख सूर्य सुवेदीले बाढीपहिरा प्रभावित क्षेत्रमा विज्ञहरूसहितको टोलीले गरेको अध्ययन, समस्याको पहिचान र समाधानका उपाय प्रतिवेदनमा समेटिएको जानकारी दिनुभयो । विभागका प्रमुख सुवेदी, प्रचार विभाग सचिव गोविन्द आचार्यसहितको टोलीले अध्यक्ष दाहाललाई प्रतिवेदन हस्तान्तरण गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति